🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

‘डिसहोम अफर’मा चार महिना फ्री भन्दै २९ लाख ठगी गर्ने गिरेाह पक्राउ

काठमाडौं । आफूलाई डिसहोम (Dish Home) का कर्मचारी बताउँदै ग्राहकलाई फोन गरी आकर्षक अफर देखाएर ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मिति २०८२ चैत २२ गते उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई हाल टोखा–३ बस्ने २२ वर्षीया आरती सिंखडा, दोलखा भीमेश्वर नगरपालिका–८ घर भई हाल टोखा–३ बस्ने २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–२ घर भई हाल टोखा–९ बस्ने ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्।

ठगीको तरिका यस्तो थियो

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको अनुसार मुख्य अभियुक्त आरती सिंखडाले विगत करिब ४ वर्षदेखि डिस मिडिया नेटवर्कअन्तर्गत सब–डिलर र इन्टरनेट सेवामा काम गरेको अनुभव प्रयोग गर्दै ग्राहकहरूको विश्वास जित्ने गरेको पाइयो। उनले नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी “एक वर्षको रिचार्ज गर्दा चार महिना निःशुल्क” अफर आएको भन्दै प्रलोभन दिने गर्थिन्।

त्यसपछि ग्राहकहरूबाट आफ्नो तथा श्रीमानको ई–सेवा, खल्ती र बैंक खातामा रकम जम्मा गराउने गरिएको थियो। रकम लिइसकेपछि नक्कली रसिद र छाप प्रयोग गरी ग्राहकलाई विश्वास दिलाउने गरिएको प्रहरीले जनाएको छ।

नक्कली रसिद र छाप प्रयोग

प्रहरीले बरामद गरेको सामग्रीमा Dishhome Internet Service सम्बन्धी रसिद प्याड ५ थान, Prabidee Impex Pvt. Ltd को छाप १ थान, आरती सिंखडाको नाममा बनेको Dishhome Fiber Net को आईडी कार्ड १ थान तथा विभिन्न व्यक्तिको नाम, फोन नम्बर र हिसाब विवरण भएको कापी २ थान रहेका छन्।

अनुसन्धानमा नक्कली रसिद र छाप गोंगबुस्थित एक प्रिन्टिङ प्रेसबाट बनाइएको समेत खुलेको छ।

३६४ जना पीडित, २९ लाखभन्दा बढी ठगी

प्रहरीका अनुसार अहिलेसम्म ३६४ जना ग्राहक यस ठगीबाट प्रभावित भएको प्रारम्भिक तथ्यांक छ। उनीहरूबाट करिब २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको अनुमान गरिएको छ।

हालसम्म ७ जना पीडितले औपचारिक रूपमा निवेदन दिएको प्रहरीले जनाएको छ भने थप पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेको छ।

अनुसन्धान जारी

प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सर्वसाधारणलाई यस्ता आकर्षक अफरमा विश्वास नगर्न, आधिकारिक स्रोतबाट मात्र सेवा लिन र कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीमा जानकारी दिन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *