बुटवल । रुपन्देही प्रहरीले ध्वनि प्रदूषण र जोखिमपूर्ण स्टण्ट नियन्त्रण गर्न लक्षित गर्दै सञ्चालन गरेको विशेष अभियान ‘साइलेंट स्ट्रिट्स’ अन्तर्गत २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरी टोलीले मिति २०८२ चैत २२ गते बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथ क्षेत्रमा विशेष निगरानीसहित अपरेसन सञ्चालन गर्दा Bullet लगायत विभिन्न ब्रान्डका मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ती मोटरसाइकलहरूमा स्वरुप परिवर्तन (मोडिफिकेसन) गरी अत्यधिक ठूलो आवाज निकाल्ने, सार्वजनिक सडकमा स्टण्ट गर्ने, स्पार्किङ गर्ने जस्ता गतिविधि भइरहेको पाइएपछि कारबाही गरिएको हो। यस्ता गतिविधिले सर्वसाधारणलाई हैरानी हुनुका साथै दुर्घटनाको जोखिम बढाउने गरेको प्रहरीले जनाएको छ।
अभियानका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कागजात जाँच, प्राविधिक परीक्षण तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। साथै, सम्बन्धित सवारीधनीलाई यातायात ऐनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
रुपन्देही प्रहरीका प्रवक्ता अनुसार पछिल्लो समय बुटवल क्षेत्रमा युवाहरूबीच स्टण्ट र ध्वनि प्रदूषण गर्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न यस्तो अभियान सञ्चालन गरिएको हो। “सार्वजनिक शान्ति भंग गर्ने तथा जोखिमपूर्ण गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइनेछ,” प्रहरीले जनाएको छ।
प्रहरीले अभिभावक र सवारीधनीलाई समेत आफ्ना सवारीसाधन कानुनी मापदण्डअनुसार प्रयोग गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।




