• आइतबार-असोज-२७-२०८१

१४ वर्षीया किशोरीको ह त्या आरोपमा भण्डारी प क्राउ

 

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् ।

 

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

 

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन् । घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ । पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीले बताएको छ । स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन् । 

 

डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए । 'जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,' जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने । 

 

१४ वर्षीया किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन् । प्रहरीका अनुसार भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि थियो, पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन् ।

 

हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस