• आइतबार-असोज-२७-२०८१

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या



डुम्रे (तनहुँ), २७ असोज : तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो । 

    
स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

    
“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताउनुभयो । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ ।

 

जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् । 
–––

प्रतिकृया दिनुहोस