• शनिबार-पौष-६-२०८१

लामिछाने–लामिछाने ! हङकङ आईडी–सिफारिस

 

युनाइटेड किङ्डम (बेलायत)ले १५६ वर्ष पछि हङकङ चीनलाई सन् १९९७ को मध्यरातदेखि सुम्पने तर ५० वर्षलाई हङकङ स्पेशल एडमिनिस्ट्रेटिभ जोन भई आफ्नै अर्थतन्त्र र प्रशासन रहने सम्झौता कार्यान्वित भयो । कम्युनिष्ट देश चीनका नेताले ‘वन कन्ट्री टु सिस्टम’ भनि स्वागत पनि गरे । त्यस सम्झौता अन्तर्गत हङकङमा रहेर ब्रिटिश सेना वा सेवामा काम गरेका नेपालीहरुको परिवार सदस्यलाई हङकङ नागरिकता (हङकङ आईडी) दिने कुरा पनि सहमतिमा थियो । 


 त्यससमय पासपोर्ट पाउन नेपाल सरकारको शाखा अधिकृत कर्मचारी वा प्रतिनिधिसभा(संसद)को सदस्यको सिफारिस हुनुपर्दथ्यो । जसमा लेखेको हुनु पर्दथ्यो–‘म निजलाई राम्ररी चिन्दछु ।’ त्यस समय म वि.सं. २०५१ कात्तिक २९ गतेको मध्यावधि निर्वाचनमा म मोरङ (विराटनगर) क्षेत्र नं. ५ को निर्वाचित सांसद रहेको थिएँ । एकपटक पासपोर्ट पाउनलाई रकम चेमजोङको निर्वाचन क्षेत्र धनकुटाको एकजना मकहाँ आउनु भयो र भन्नुभयो, ‘मलाई पासपोर्टका लागि सिफारिस गरिदिनु प¥यो किनभने रकम चेमजुङ विदेश गएको हुनुहुन्छ ।’ म उहाँलाई चिन्दिन थिएँ, ती साथी सांसदको मतदाता रहेकाले मैले पासपोर्टका लागि सिफारिस नगर्नु राम्रो हुने छैन सोची मैले सिफारिसमा लेखेँ, ‘म निजलाई राम्ररी चिन्दछु ।’ चारप्रति सांसद सचिवालयले मेरो सही मुनि कार्यालयको छाप लगाइदिन्थ्यो मेरो सही हो भनि प्रमाणित गर्न । 


 कोही धरानतिरकाले पनि त्यस्तै सिफारिस माग्न थाल्नुभयो । मैले बडो सरलता र सहजताको साथ नागरिकता हेरेर सिफारिस गर्न थालें । अब हल्ला भयो कि कमल कोइराला जसलाई पनि पासपोर्टका लागि सिफारिस गर्छ । लमजुङकी एकजना लामिछाने मगर महिला र उहाँको साथ लामिछाने थर भएको बाहुन युवक पनि आएर भने, ‘हामी दुबै जनाको हङकङ जानका लागि पासपोर्ट लिन सिफारिस गरिदिनुप¥यो । मैले हाँसेर सोधेँ, ‘उहाँ त ब्रिटिश सेना रहेको लाहुरेको पत्नी–श्रीमती हुनुहुन्छ तपाईं चाहिं कसरी हङकङ आईडी पाउन सक्नुहुन्छ ?  ‘अब त्यो चौबिस वर्षको बाहुन लामिछानेको साटो ३२ वर्षकी मगर लामिछाने युवतीले भन्नुभयो, ‘मेरो पतिका रुपमा उहाँले पनि हङकङ आईडी पाउनुहुन्छ ।’


अनि त्यो अड्डा अदालतमा वारेस बस्ने तारिख लिने युवकले भने, ‘ब्रिटिश कानूनले पति नरहेपछि अर्काे विवाह गरे त्यसलाई पनि उहाँको परिवारको सदस्य मान्दछ ।’


मैले सोधें, ‘विवाह दर्ता गराउनु भएको छ ? अब मगर युवतीले कोर्ट म्यारिज कागज देखाउँदै भन्नुभयो, ‘यो हेर्नुहोस् ।’ मैले दुबैको लागि चार चार फारममा ‘म निजलाई राम्ररी चिन्दछु भनि सही गरेँ ।’ कोही खुसी हुन्छ भने मैले सजिलै त्यो वैधानिक काम गर्न सक्छु भने म गर्छु । मेरो पिता मातृका प्रसाद कोइराला कहाँ बिहारतिरका कयौं जना भारतीय स्वतन्त्रताको संग्राममा भाग लिएको हो’ भनि सिफारिस माग्न आउँदा सहजताका साथ सही गरिदिनुहुन्थ्यो आफ्नो लेटरप्याडमा । 


सेप्टेम्बर ( २०८१ भदौ २६) को ‘द काठमाण्डु पोष्ट’मा पढें मानव सेवा गर्दै, बन्दी बाबुआमाका बालबच्चाहरुकी कर्मआमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नु भएकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि उहाँले चार पाँच जनाको लागि भिसा पाउन दिनुपर्ने इन्टरभ्यू छिटो गरिदिन सिफारिस गर्नुभएकोमा पदीय मर्यादा विपरीत कार्य गरेको भनि महाभियोग लगाई उपसभामुखबाट हटाउने प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेतामाझ सल्लाह भएको भन्ने चर्चा चलेको छ ।


कसैलाई भिसा दिने, नदिने निर्णय अमेरिकी दूतावासले गर्छ । अमेरिकी दूतावासले उपसभामुखलाई भिसा दियो तर उहाँले सिफारिस गरे पनि अरुलाई तुरुन्तै भिसाका लागि इन्टरभ्यू गरेन । 
 यस्तो सिफारिस नेपालको कुनै कानून, नियम, संविधान र आचार संहिताले गलत मान्दैन । त्यसैले पुराना दलहरुका दलपतिले जाल फरेबपूर्ण शब्द समूह रचना गरेछन्, ‘पदीय मर्यादा विपरीत काम गरेकोले’ महाभियोग लगाउने ।

 

एउटा मात्रै अखबारमा होइन कयौं अखबारहरुमा केही समय अघि यो समाचार आयो । पत्रपत्रिकाहरुमा इन्दिरा राना मगरलाई उपसभामुखबाट हटाउने कुनियतको कारण पनि प्रकाशित भएका थिए कि संवैधानिक परिषद्मा कांग्रेसको पनि पहुँच प्रवेश गराउन त्यस्तो गर्न लागिएको षडयन्त्र थियो ? यसरी फलानो फलाना अरु दलको संख्या पनि मिलाई दुई तिहाई पु¥याउने खेल हुनेछ भन्ने कुरा पनि पत्रपत्रिकामा गन्ती पनि आइ राखे । 


तर, पछि के सोचे के सोचे ! अब हामीहरु सुन्दछौं कि हाल उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने उपक्रम छाडिदिएका छन् । केही न केही षड्यन्त्र केही न केही तिकडमबाजी, गुटबाजी दल तोड, दल फोड गठजोड गठतोडका खेलहरु सत्ताका लागि ३२÷३३ वर्षदेखि अविरल गर्दै आएका अभ्यस्तहरुको नयाँ चालबाजी कुन रुपमा आउने हो ? (साँघु साप्ताहिक, २०८१ असोज १५–२१)
 

प्रतिकृया दिनुहोस