• बुधबार-मङ्सिर-१९-२०८१

राजनीतिका ‘कालोपोके’हरूद्वारा प्रणाली बद्नाम !

 

समाज बनाउने कुनै दृष्टिकोण नभएका, फौजदारी अपराधकर्ममा संलग्न भएका र राज्यस्रोत लुटने सोच–नियत भएकाहरू राजनीतिमा ‘झ्याल’बाट छिरे । फल नलाग्ने ‘कालोपोके’हरूका कारण लोकतान्त्रिक गणतन्त्र बद्नाम बन्दैछ । लोकतन्त्र ल्याउन संघर्ष गरेका एमाले–काङ्ग्रेसलाई सराप्ने, लोकतान्त्रिक गणतन्त्रको बद्नाम गराउने ‘एकसूत्रीय कर्म’ भएकाहरू ‘जनताका नाममा’ ‘ठूला कुरा’ गर्दैछन् । तिनलाई पुरै नाङ्गेझार पार्नु पर्दछ ।


निर्माण नगर्नेलाई अपनत्व हुँदैन
कुनै पनि क्षेत्रमा जसको निर्माण र बनाउने कुरामा भूमिका र योगदान हुँदैन त्यसलाई त्यसप्रति कुनै माया, अपनत्व र दायित्व हुँदैन भन्ने कुरा नेपाली राजनीतिमा देखिएका घटनाक्रमहरूबाट पनि पटकपटक प्रष्ट हुँदै आएको छ । लोकतन्त्र ल्याउन भूमिका नभएकाहरू लोकतान्त्रिक गणतन्त्रमा सार्वजनिक पद लिएर प्रणालीको विरोध गर्दैछन् । प्रणालीबाट अनेकौँ फाइदा लिएर प्रणाली बद्नाम हुने खालका अनेकौँ हर्कत गर्दैछन् । राजनीतिमा कुनै योगदान नभएका, गालीको भरमा ‘झ्यालबाट फुत्त’ छिरेका रवि लामिछाने र उसका साँसदका अनेकौँ हर्कत र कार्यबाट त्यस्तो देखिन्छ । उपसभामुख भएकी रानाले अनेकौँ असम्बन्धित व्यक्तिहरूलाई अमेरिकी भिसाका लागि सिफारिस गरेर आफ्नो र नेपालको बद्नाम गराइन । 


 देशको सार्र्वजनिक पदमा बसेर देश, प्रणाली र अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा तथा अभ्यासबिरुद्ध गम्भीर अक्षम्य कार्य गरिन । रवि आफैँ सहकारी ठगीमा प्रत्यक्ष जोडिएका छन् । उता सरकारबाट मात्र होइन नेपाली राजनीति र राज्यसत्ताका सबै क्षेत्रबाट बढारिएपछि प्रचण्ड शिकार चोरिएको ‘हुँडार’जस्तो अवस्थामा छन् । ‘ढोडको टेको लगाएको गोठ गर्लाम्म ढलेजस्तो’ गरी बढारिएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड अहिले फेरि ‘चर्का’ कुरा गर्दैछन् । ‘सिँहदरबार कब्जा’ गरी रातो झन्डा गाड्ने उद्घोषका साथ सशस्त्र युद्ध गरेका प्रचण्डले त्यस्ता धम्की पटक—पटक दिँदै आए । सत्तारुपी चिनीको ‘चास्नीको पोखरी’बाट ‘पाहा पछारिए जस्तो’ गरी ‘बालुवामा फ्याँकिएपछि’ उनका धम्कीका पारा फेरि तातिएका हुन् । कुराले च्यूरा भिज्दैन भन्ने जननेता मदन भण्डारीको उक्ति थियो । त्यही जस्तो प्रचण्डले अब सिँहदरबार होइन भद्रकाली मन्दिरको दरबार पनि तीस मिनेट घेर्न सक्ने छैनन् । 


भाँड्ने कि बनाउने ?
लोकतान्त्रिक प्रणालीलाई कमजोरी हटाउँदै विकसित र समृद्ध गर्दै जाने कि भएका असल प्रणाली र अभ्यास भत्काउँदै जाने ? राजनीतिमा आएका दल र संगठन देश र जनताप्रति उत्तरदायी बन्नुपर्दैन ? सत्ताबाट हटने वित्तिकै सुन्नेलाई समेत हाँस उठ्ने ‘बुकुल्टा चर्का गीत’ किन गाउँदछन् प्रचण्ड ? कसलाई देखाउन र तर्साउन उनी त्यस्ता चर्का कुरा गर्दछन् ? कुन शक्तिको आडमा उनी त्यस्तो फूर्ति गर्दछन् ? किन प्रचण्ड ‘चार हात उफ्रेर नक्कली आक्रामक र क्रान्तिकारी’ कुरा गर्दछन् ?  तथापि उनको आफ्नै पार्टीका हरिबोल गजुरेल लगायत पहिलो तहका विभिन्न नेताहरूले प्रचण्डको नेतृत्व पूर्णतः असफल भइसकेको भन्दै पूरै नेतृत्वको राजीनामा मागेका छन् । प्रणालीमा बसेर प्रणालीको विकासमा रचनात्मक भूमिका खेल्ने कि प्रणाली नै भाँड्ने भन्ने प्रश्न अडा भएको छ ।


नातेदार–भजनमण्डली पार्टी हो ?
आफ्ना नातेदार र विभिन्न प्रपञ्चमा जोडिएका आफ्ना ‘भजनमण्डली’को ‘झुन्ड’ निर्माण गरेर राजनीतिक ‘पार्टी’को नाम दिने गलत अभ्यास गरियो । प्रचण्डले अपनाएको ‘तरिका’मा रवि लामिछानेलगायतका समूह जोडिएका छन् । माधव नेपालले पनि एउटा झुन्डलाई ‘पार्टी’ भन्ने गरेका छन् । अहिले हेर्ने हो भने पनि प्रचण्डसँग सत्तामा हुँदा उनीसँगै रहेका उनका निजी आफन्त, नातेदार, भाइभतिजा र केही थान ‘आसेपासे’, सत्ताको ‘तर’ खाइसेका र फेरि पाउने आशमा रहेका केही दर्जन ‘सत्ता ढुकुवा’ बाहेक कोही देखिन्न ।

 

२०७९ को चुनावमा काँङ्ग्रेसको ‘निगाहा’मा ३२ सिट बल्लतल्ल जितेका प्रचण्डले चौरासीको निर्वाचनमा अन्य कसैसँग पनि नमिलीकन एक सिट पनि जित्न सक्दैनन् । प्रचण्ड स्वयम्ले पनि गोरखामा जित्दैनन् । यो कुरा सय प्रतिशत सत्य हो । डा. बाबुरामको ‘कुर्वानी’ गोरखामा नभएको भए उनी विजयी हुने अवस्था थिएन । खासमा यही कारण जिल्लामा गएको बेला झन्डा समाउने कार्यकर्तालाई फेरि पनि झुक्याउन र अल्मल्याउन मात्र प्रचण्डले फेरि ‘डेटएक्सपायर्ड नारा’ उराल्दै अब ‘शक्तिमा फर्कने’ भन्दैछन् । कसैका नातेदार र भजनमण्डलीलाई ‘पार्टी’ भन्नु पर्दा लोकतन्त्र बदनाम हुने खतरा हुन्छ ।


रुवाउने प्रचण्ड, हँसाउने ओली
२०६७ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा प्रचण्डले एक हप्ता लामो काठमाडौँ घेर्ने कार्यक्रम गरे । गाउँबाट अनिवार्य काठमाडौँ जानुपर्ने भन्दै लौरी र उर्दि लगाएर काठमाडौँ ल्याएर गाउँका सोझालाई सडकमा सुत्न लगाएको भएपनि हप्ता दिन पछि तिनलाई ‘रुँवाउँदै’ लखतरान बनाएर फिर्ता गरे । त्यो बेला धर्नामा बसालिएका सबैका लागि ‘वाक्कलाग्दो’ अवस्था आएपछि प्रचण्डको योजना तुहियो । अति गरेपछि काठमाडौँका जनताले लखेटे । जबकि त्यो चक्रपथ घेराउ वा उनको भषामा ‘सिँहदरबार घेराउ’बाट त्यो बेला ‘हातलाग्यो शुन्ना’ भयो । जबकि त्यो बेला माओवादी नेपाली राजनीतिको ‘बुम’मा थियो । 


सुन्निएर मोटाएको जस्तो अवस्था भए पनि बलियो मानिन्थ्यो, सोचिन्थ्यो र भनिन्थ्यो । तर आज त्यो शक्ति पुरै क्षीण भएका बेला उनका यस्ता धम्कीबाट कोही पनि तर्सनेवाला छैनन् । प्रचण्ड आफैँलाई पनि कुनै विश्वास र भर नभएको उराठ लाग्दो गीत प्रचण्ड किन गाउँदैछन् ? यसको सार खोज्दा उनी आफू अनेकौँ दोषबाट बच्न चाहन्छन् । 


 पछिल्लो पटक सत्ताबाट हटनु पर्दा संविधानको धारा ७६ को उपधारा २ बाट सरकार बन्न सक्दैन भन्ने घोषणा गरे । राष्ट्रपतिले उपधारा (३) अनुसार सरकार बनाउने भन्दै हिँडे र फेरि पनि सर्वाेच्चको संवैधानिक इजलासबाट पनि ‘हिस्स’ परे । सत्ताको तर मार्न नपाएपछि जहिल्यै ‘सत्ता कब्जा, सिँहदरबार कब्जा, राजधानी कब्जा, सदरमुकाम कब्जा र कहिले काँही नेपाल नै कब्जा’ गर्ने भन्दै राजनीतिको सुख्खा ‘गीत’ गाउने प्रचण्डले धेरैलाई रुवाए । यस्ता ‘बुकुल्टा गीत’को कुनै अर्थ छैन । शक्तिमा हुँदा कहिले बाघ र चील भन्दै अरुलाई ‘स्याल’ र ‘कुखुरा’ भन्ने प्रचण्ड अब सन्न्यासी बन्ने अवस्थामा पुगिसकेका छन् । 


 सत्ता राजनीतिमा आफुलाई ‘चलाख’ ठान्ने प्रचण्ड सबैलाई ‘छक्याउँदा—छक्याउँदै’ जनता ‘रुवाउने’ पात्र भएका छन् । जनमत, संवैधानिक, वैधानिक र राजनीतिक आधार सबै दृष्टिले खरानी भएका प्रचण्डले फेरि लोकतान्त्रिक प्रणाली विरूद्ध अराजकता फैल्याउन ‘हिँस्रक अभिव्यक्ति’ दिँदैछन् । कार्यकर्तामा टुटेको मनोबल फर्काउन खोजेको मात्र देखिन्छ । मुलुकको राजनीतिक इतिहासमा अनेकौँ क्रान्ति, संघर्ष र वैधानिक बाटोबाट सत्ता सञ्चालन गर्दै आएका काँङ्ग्रेस—एमालेको सरकार रहेको छ । त्यसमा पनि मुुलुकको लोकतान्त्रिक आन्दोलनमा आफैँ चौध वर्ष जेल बसेका एमालेका शक्तिशाली अध्यक्ष ओली नै प्रधानमन्त्री हुनुभएको छ । 


प्रधानमन्त्री ओलीले जनता र नागरिकको टुटेको मनस्थिति र मनोबल उकास्ने कार्य निरन्तर गर्दै आउनुभएको छ । जनता हँसाउने मात्र होइन ‘सुखी र समृद्ध’ बनाउने उहाँको प्रष्ट इच्छाशक्ति र लक्ष्य रहेको देखिन्छ । उता प्रणालीमा बसेर सत्ताको ‘तरमार्दै’ प्रणालीलाई अनेकौँ क्षेत्रबाट बद्नाम गर्ने, साख गिराउने, अनैतिक र गैरकानूनी कार्य गर्ने प्रतिगामी, आफूलाई स्वतन्त्र पार्टी भन्ने ‘हुर्दुङ्गा’ र अराजकतावादीहरू लोकतन्त्ररुपी मकै बारीमा हुर्केका ‘कालोपोके’हरू जस्ता भएका छन् । ‘कालोपोके’हरूबाट प्रणाली बद्नाम हुनबाट जोगाउनु अर्काे चुनौती भएको छ । प्रणाली बद्नाम हुनबाट बचाउन सहकारी र अनेकौँ अपराध वा ठगीमा मुछिएका जो कोहीलाई कानूनी कारबाही गर्नु पर्दछ । अपराधकर्ममा प्रत्यक्ष जोडिने र कानूनी कारबाहीबाट बच्न छोडपत्र गर्ने र मलाई थाहाछैन भन्ने प्रवृत्ति बढेका छन् । 


तिनलाई जसरी पनि कानूनी कारबाही गर्नुपर्दछ । उता मानव तस्करमा सिधै जोडिएर देशको बद्नाम गरेका उपसभामुख र त्यस्तै प्रवृत्तिकाहरू अहिले पनि ‘ठूला कुरा’ गर्दै सार्वजनिक पदमा बसेका छन् । तिनलाई अब पदमा बस्ने कुनै नैतिक र कानूनी अधिकार छैन । त्यस्ता अपराधी र ‘कालोपोके’हरूलाई उखेल्दै फ्याँक्नु पर्दछ । नाङ्गेझार पार्नु पर्दछ । लोकतान्त्रिक प्रणाली समृद्ध बनाउन लोकतन्त्रमा पलाएका ‘कालोपोके’ र ‘साँमा’ उखेल्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस