• शनिबार-असार-२८-२०८२

माधवको महत्वकाँक्षामाथि कालो बादल

 

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा प¥यो । ‘समाजवादी’को अध्यक्ष रहेका नेपाललाई पार्टीभित्रैबाट अब उनी ‘सिनो भइसकेको’ आरोप लाग्यो । एमालेबाट छुट्टिएपछि ‘सत्ता राजनीतिमा उधुम मच्चाउने’ भन्दै ठूलो महत्वकाँक्षा राखेका नेपालको छवि मात्र होइन पार्टी नै नरहने संकेत देखिन थालिसकेको छ । त्यस्तो ‘सिनो संगठन’मा पनि नेपाललाई हटाएर आफू बस्न किन ‘गाँड–कोराकोर’ सुरु गरियो ? एउटै कारण पछि एमालेमा जाँदा ‘ठूलो पदको बार्गेनिङ’ गर्ने सोच प्रष्ट झल्किन्छ ।


गर्विलो इतिहासमा बादल 
२०४९ सालदेखि २०६४ सालसम्म एमालेका महासचिव र २०६५ सालदेखि २०६७ सालसम्म देशको ३४ औँ प्रधानमन्त्री भइसकेका नेता नेपालको नेपालको राजनीतिमा गर्विलो इतिहास थियो । उनी एमालेबाट अलग भएपछि चाहिँ उनले ‘खडा’ गरेको पार्टी राष्ट्रिय दल पनि बन्न सकेन । डा. सि.के. राउतको दलले ल्याएको भन्दा कम मत कलममा खस्यो । इतिहास गर्विलो भए पनि राष्ट्रिय राजनीतिमा अहिले अन्य दलले नेता नेपाललाई खासै भाउ दिएका छैनन् । तथापि संसदको अंकगणितको कारण केही समय सत्तामा चाहिँ ‘एस’ दल पुग्यो ।

 

अब भने राष्ट्रिय राजनीति र दललाई जोगाउने कुरा उनको लागि चुनौती भयो । नेता नेपाललाई अख्तियारले मुद्दा लगाएसँगै पार्टी अझबढी ढाँडमा फसेको प्रतीत हुन्छ । आफू समेत रहेका दस साँसद जोगाउन उनलाई मुस्किल पर्दै गएको छ । सांसद र नेता नेपालविरुद्धमा खुलेआम बोल्न थालेका छन् । उनको समूह र पार्टीको राष्ट्रिय राजनीति र कार्यकर्ताहरूमा कुनै उत्साह देखिन्न । एसका सबैजसोमा पहिलेभन्दा ठूलो पदमा पुग्ने र ‘ठूलो पदको देखिने’ भन्ने संकुचित सोच मात्र ‘नेता’मा देखिन्छ । एमालेसँग एकीकरण भयो भने ‘ठूलो भाग खान’ र ‘पद पाउन’ एसमा ‘ठूलो देखिने’ होड चलेको हो ।


टीके पद काउसो ! 
एमालेमा एकीकरण गर्न पनि माधवले बाँडेका टिके केन्द्रीय सदस्यको पद नै ‘काउसो’ भएको छ । उता एमालेका अध्यक्ष ओलीसँग पौँठेजोडी खेल्दा एमालेका तत्कालीन उपाध्यक्षहरू वामदेव गौतम र भीम रावल, घनश्याम भुषालहरू राष्ट्रिय राजनीतिको परिदृष्यबाटै ओझेल परे । २०५४ सालमा गृहमन्त्री भएका गौतम एमालेका मात्र होइन नेपाली राजनीतिका घगडान खेलाडी मानिन्थे । पार्टीमा रावलको पनि ठूलै प्रभाव थियो । अहिले उनीहरू दुवै ओझेल परे । 


समाजवादी पार्टीको महाधिवेशन भए पनि माधव नेपाल आफैँलाई पार्टीलाई चौरासी सालसम्म लैजान सकिने–नसकिनेमा अन्यौल रहेको देखिन्छ । यही कारण माधवका अनेक दुःख घट्दो क्रममा होइन बढ्दो क्रममा रहेको प्रष्ट देखिन्छ । पार्टीमा केन्द्रीय कमिटीको मिटिङ गराउनेदेखि बाहेक माधवको दलको सत्ता र सार्वजनिक–सामाजिक राजनीतिमा कुनै भूमिका खेल्न सकेन । तत्कालीन एमालेमा रहेका र समाजवादीमा आएका भएभरका तल्ला कमिटीका मान्छेहरूलाई केन्द्रमा भरेर कार्यकर्ताहरूको महŒवकाँक्षा यति बढाइयो कि त्यही कुरा नेपाललाई समस्या हुने देखिन्छ । अब फेरि ‘एमालेमा नै फर्किने’ हो भन्ने मनोविज्ञान अगुवा कार्यकर्ताहमा भएको चाहिँ देखिन्छ । 


झलनाथको के हुने ?
नेता नेपाललाई अख्तियार लागेपनि उनले अध्यक्ष पद छोडेका छैनन् । उता नेता झलनाथ खनाल चाहिँ अध्यक्ष हुने महŒवकाँक्षा बोकेर सार्वजनिक मञ्चमार्फत अन्य नेताको मुखबाट नेता नेपालविरूद्ध ‘आगो ओकल्न’ थालिसकेका छन् । चौतर्फी संकटबाट घेरिएको माधवको एस ‘गोठबाट हराएर जंगलमा भौँतारिएको बाच्छो’ जस्तो भएर ढाँडमा पसेको छ । २०७९ सालको चुनावको बेला काँग्रेस–माओवादीलाई झुक्याएर एमाले जस्तै ठूलो शक्ति भएको भनिएको भए पनि त्यो कर्कलाको पातको सीत जस्तै सावित भयो ।

 

गत वर्ष भएको इलाम–बझाङ्गको निर्वाचनले त माधवको पार्टी केवल सीत मात्र हो भन्ने प्रस्ट ग¥यो । सीतको आयु घाँम नलाग्दासम्म मात्र हुन्छ । अख्तियारको मुद्दा खेपेको भए पनि पदमा नै टाँसिने सुरमा नेता नेपाल पुगेपछि  पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप सशंकित बनाएको देखियो । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि प्रमुख दलहरू मिल्नुपर्ने, राजनीतिक र कार्यक्रमिक विषयमा एक भएर अघि बढ्नु पर्नेमा उल्टो कम्युनिष्ट पार्टी विभाजन हुने र आफू सत्ता तथा शक्तिमा कसरी पुग्ने भन्ने मात्र चिन्तन नेता नेपाल र खनाल दुवैमा देखियो । 


 प्रश्न चाहिँ माधवको पार्टी नै चौसारीको चुनावसम्म टिक्ने कि नटिक्ने भन्ने भइसक्यो । २०३९ सालदेखि २०४२ सम्म तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ सालमा एमालेको अध्यक्ष रहे । दार्शनिक चिन्तनमा रुची भएका बौद्धिक, अध्ययनशील र तुलनात्मक दृष्टिमा स्वच्छ छवि भएका नेता हुन् खनाल । यद्यपि पार्टी राजनीतिमा चुनाव जित्नको लागि त्यतिमात्र काफी भएन । नेता खनाललाई पनि सार्वजनिक तथा आन्तरिक रूपमा अनेकौँ आरोप लागे पनि कतै पनि दोषी पुष्टि भने भएको छैन । खनाललाई सर्प पाल्ने भन्दै राज्यको ढुकुटी अपचलन गरेको आरोप लाग्ने गरेको छ । 


अब कता ?
कार्यकर्तामा एमालेमा सानो पदमा बस्दा पनि ठूलो ‘सोसल स्टाटस’ हुन्छ भन्ने मनोविज्ञान भएको कारण पनि माधवको एसमा संकट चुलियो । यही कारण धेरै नेता पुनः एमालेमा आउन तयार भएर बसेका देखिन्छन् । ‘मोलमोलाइ’का लागि ‘एमाले र ओलीको गुणगान’ पनि थालिएको छ । यद्यपि एमालेबाट त्यसरी ‘भाउ दिने’ सम्भावना चाहिँ पटक्कै देखिन्न । अख्तियार लागेपछि नेपालका अनेकथरि दुःख र कठिनाइ प्रस्ट देखिएका छन् । यही बेला सम्मानीत नेता खनालले आफू अध्यक्ष हुने कुरा ‘भित्रभित्रै’ सल्काउन थालेको देखिन्छ ।

 

पदमा पुग्ने सोचदेखि बाहेक त्यो पार्टीमा नीतिगत, सैद्धान्तिक र वैचारिक विमर्श भएको देखिन्न । तलदेखि माथिसम्मका सबै ठूला पदमा कसरी पुग्ने भन्ने सोचमा मात्र रहेका कारण अध्यक्ष नेपालका दुःख यसअघिदेखि नै बढेका थिए । यसअघि एमाले पार्टीलाई टुक्र्याउने समयमा सक्रिय रहेका ‘दश भाइ’ भनिएका प्रभावकारी नेताहरू एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने क्रममा पुनः एमालेमा नै बसेपछि नेता माधव कुमार नेपालको दुःख त्यहीबेलादेखि नै चुलिएको थियो । 


२०७९ सालको निर्वाचन पूर्वको अवस्था पनि अहिले समाजवादी पार्टीमा रहेन । दर्जन बढी प्रत्यक्षतर्फ जित्ने र राष्ट्रिय पार्टी चाहिँ बन्ने भन्ने नेता नेपाल सहित उनको दलको पूर्व अनुमान निर्वाचन परिणामले ‘घाँममा सुकाइदियो’ । त्यतिमात्र होइन २०८१ साल वैशाख १५ गते सम्पन्न भएको इलाम र बझाङको निर्वाचनमा त समाजवादीले शर्मनाक हार व्यहो¥यो । उसले एमालेलाई हराउन समेत सकेन । यसले पनि पार्टीको खास ‘हैसियत’ देखाइदियो । स्वयम् नेता झलनाथ खनालको जिल्ला इलाममा कलममा आएको भोट केवल चार सय आठ मात्र थियो ।

 

यही कारण पनि नेता खनालको राजनीतिक, सांगठानिक र वैचारिक क्षमतामाथि राष्ट्रिय रूपमा नै प्रश्न खडा भइदियो । यस्तो अवस्थाको कारण नेता खनालको पक्षमा लाग्नेहरू धमाधम एमालेमा छिर्दैछन् । एमालेले ‘उचित मूल्य दिए’ नेता खनाल आफैँ पनि एमालेमा जाने सुर धेरै पहिलेदेखि नै बनाएको भए पनि एमालेका अध्यक्षले भेटन पनि समय दिनुभएको छैन । पूर्वप्रधानमन्त्री खनालको नेपाली राजनीतिमा ठूलै मान, सान र इज्ययत थियो । अब त्यो अवस्था रहेन । खनाललाई नाम मात्रको ‘सम्मानीत’ नेता बनाइएको छ । पार्टीको आन्तरिक निर्णय नेता नेपाल र उनको कोर टिमले गर्दै आएको देखिन्छ । निर्णय भएपछि मात्र नेता खनालले थाहा पाउने गरेका छन् । 


एमालेमा आकर्षण
राजनीतिक भविश्य खोज्नेको रोजाइ एमाले नै हुने संकेत देखिन्छ । एमालेमा अहिले पनि युवा, विद्यार्थी, महिलालगायतका संगठनहरूमा तीव्र आकर्षण रहेको कुरा तिनका हालैका अधिवेशनहरूमा संगठनको नेतृत्वमा आउन भएका भोटिङ तथा ठूलो आकर्षणले समेत प्रष्ट गरेको छ । हारेकाहरू सबैले आफूहरू एमालेको जुनसुकै जिम्मेवारीमा बस्न तयार भएको भन्ने जिम्मेवार अभिव्यक्ति दिएर पार्टीको पक्षमा एकढिक्का भएकाले पनि अब अलमल भएका सबै मूल घर फर्किनु सबैको हितमा रहेको कुरा घटनाक्रमले पुष्टि गर्दैछ । यसले एमालेमा आकर्षण भएको देखिन्छ । (साँघु साप्ताहिक, २०८२ असार २३)
 

प्रतिकृया दिनुहोस