• बिहीबार-असोज-३-२०८१

‘स्वतन्त्र’नामधारी अराजकतालाई कसले उक्साउँदैछ ? 

 

अराजकतावादी ‘भूत’हरू ‘स्वतन्त्र नागरिक’का नाममा हिँसा चाहन्छन् । दार्शनिकहरू भन्दछन्–‘कुनै खास विषय, अवस्था र समयमा कुनै व्यक्ति ‘मौन’ बस्नु पनि कुनै पक्ष, विचारलाई समर्थन गर्नु वा नगर्नु हो ।’ यसरी कोही ‘स्वतन्त्र’ छैनन् । कतैबाट निर्देशित ‘भँडुवा’ छन् । अराजक समूहको उपस्थिति हुने ‘सडक’का कार्यक्रमहरूमा प्रधानमन्त्री–प्रमुख नेतृत्व जानु आवश्यक छैन । आफ्नै मञ्चबाट बोल्नु पर्दछ ।


समाजिक सञ्जालमार्फत अराजकतालाई बढावा दिइएको देख्दा अब एमालेले आफ्ना सबै भातृ संगठनहरूलाई सिधै सडक र आन्तरिक दुवैतर्फबाट परिचालन गर्नु आवश्यक देखियो । बालेन जस्ता अराजक र गैरकानूनी हर्कतलाई बढावा दिने पात्र र प्रवृत्ति बढ्दै गएको छ । यिनलाई राजनीतिक, वैधानिक, सामाजिक र नागरिकस्तरबाट बहिस्कार गर्नु आवश्यक छ । 


‘स्वतन्त्र’का नाममा अहिले सुन्दै ‘वाइहात’ लाग्ने तर्क पनि सुन्न पाइन्छ । हुँदाहुँदा नेपालमा ‘बङ्गलादेशको हालत बनाउने’ पनि भनिँदैछ । नेपाल गरीब बनाउने, हिँस्राग्रस्त बनाउने, अराजक बनाउने र सबै दृष्टिले पछि फर्काउने भनेको हो ? अराजक र अस्थिर राज्य बनाउने भनेको हो ? अर्थात, नेपाली भावना भडकाउन खोजिएको देखिन्छ । त्यसबाट कसैले लोकतन्त्रवादी नेपालीको ‘कानको रौँ पनि हल्लाउन’ चाहिँ सक्दैनन् । लामो राजनीतिक संघर्षको आधारबाट आफ्नै गति, अवस्था र स्थितिबाट अघि बढिरहेको नेपाली समाज र विकासलाई पछि फर्काउने तर्क हो यो । यस्ता कुतर्कमा सचेत नागरिक कसैको विस्वास छैन ।


‘स्वतन्त्र नागरिक’, ‘युवा’ र ‘जनता’का नाममा त्यस्ता अराजक नारा दिने आपराधिक सोचका प्रतिगामी र अराजकतावादी ‘कुमान्छे’ हुन् । जसरी रविले पहिले नागरिकको भावना भड्काएका थिए । अहिले आफैँ ‘नाङ्गो’ भए । सबै अराजक नाङ्गिन्छन् । नङ्ग्याउनु पर्दछ । गलत कार्य र प्रवृत्तिलाई नाङ्गो पार्न एमालेका युवा, विद्यार्थी, महिला र मजदुर सबै सडकमा ओलर्नु पर्ने नै देखियो । ‘स्वतन्त्र’का नाममा अति अराजक कार्य हुनथाल्यो ।


स्वतन्त्र नागरिक ! 
सहकारी ठगीमा प्रत्यक्ष रूपले नाम जोडिएका रवि लामिछानेले ‘स्वतन्त्र’ नामको पार्टी नै ‘आयोगमा गठन गरे’का छन् । रविको त्यो नाम मान्छे उल्लु बनाउने ‘फटाहा काइदा’ मात्र हो । राजनीतिक पार्टी ‘स्वतन्त्र’ भन्नु ‘गोरु तर्क’ हो । मान्छेको ‘दिमाग भुट्ने संकीर्ण प्रयास’ हो । त्यसपछिका अवधिमा अनेकौँ सन्दर्भमा ‘स्वतन्त्र’ राजनीतिक दल, ‘स्वतन्त्र व्यक्ति’, ‘स्वतन्त्र आयोग’, ‘स्वतन्त्र पत्रकार’, ‘स्वतन्त्र लेखक’, ‘स्वतन्त्र पत्रिका’, ‘स्वतन्त्र बुद्धिजीवी’, ‘स्वतन्त्र विचार’, ‘स्वतन्त्र विश्लेषक’, ‘स्वतन्त्र मत’, ‘स्वतन्त्र विश्लेषक’ र ‘स्वतन्त्र नागरिक’ जस्ता अनेकौँ भाष्यको प्रयोग भएको छ, हुँदै आएको देखिन्छ । गम्भीर सवाल उठदछ–कुनै राजनीतिक दल र व्यक्ति कुन हदसम्म स्वतन्त्र हुन सक्छ ? कुन हदको अवस्थालाई ‘स्वतन्त्र’ भन्ने ? त्यो कुराको पहिचान गर्न कठिन हुन्छ । 


यो विषय बौद्धिक छलफल र चिन्तनको कुरा हो । कुनै विचार र दलको पक्षधरता हुँदैमा कोही व्यक्ति र नागरिक खराब र गलत हुने हो ? कस्तो राजनीतिक विचार, विश्लेषण, तर्क, धारणा, सोच, चिन्तन राखेको व्यक्ति स्वतन्त्र हुने हो ? यसलाई छुट्टाउन निकै कठिन हुन्छ । आफूलाई लागेको विचार दिएको मानिस स्वतन्त्र हुने हो वा कसैको विरुद्ध विचार र धारणा राखेको कारण कुनै व्यक्ति गैरस्वतन्त्र हुने हो ? दलीय प्रजातन्त्र र आवधिक निर्वाचन भएको मुलुकमा कुनै न कुनै दललाई निर्वाचनमा भोट हाल्नै पर्ने हुन्छ । आफूलाई ‘नयाँ’ भन्दै आएका समूह लगायतका संसदमा प्रतिनिधित्व भएका–नभएका राजनीतिक दल, समूह नागरिक र जनताका नाममा अराजक तथा भँडुवा तर्क गर्दै हिँसा मच्चाउन खोज्दैछन् । 


अधिकारको प्रयोगका नाममा अराजकता मच्चाउने छुट दिन सकिन्न । यसलाई नियन्त्रण गर्नु पर्दछ । विश्व इतिहासमा ग्रिक दार्शनिक सुकरात पनि प्लेटोबाट प्रभावित थिए । जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) को विचार पनि हेगेलको आदर्शवादी दर्शनको विपरीत वस्तुवादी दर्शन थियो । रुसका नेता लेलिनले–‘माक्र्सले हेगेल पचाएर भौतिकवादी दर्शनको जन्म दिएका थिए’ भनेका थिए । अर्थात्, दार्शनिक विचार र दृष्टिकोण त खासमा पूर्ण स्वतन्त्र (पिओर) छैन भने यहाँ आफूलाई ‘स्वतन्त्र’ र ‘नागरिक’को नाममा अराजकता मच्चाउन चाहने ‘भुइँफुट्टाहरू’‘होलोमोलो होलसेल गाली’का भरमा जनता झुक्याउन खोज्दैछन् । 


स्वतन्त्रको अभ्यास
विगतको संविधानसभामा निर्वाचित पाँच सय पचहत्तर सदस्य बाहेक छब्बिस जना मानिस ‘स्वतन्त्र बुद्धिजीवी’ मध्येबाट ल्याउने भनियो र ल्याउने काम गरियो । त्यहाँ को–को कस्ता मानिस मनोनयन गरियो ? निश्चित हो दल, विचार समूहको निकटताको स्वतन्त्र नै हामीले ल्याएका थियौँ । निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता निकायमा संविधान बमोजिम नियुक्त गरेका व्यक्ति पनि कुन हदका ‘स्वतन्त्र’ थिए र छन् ?

 

वास्तवमा भन्ने हो भने दल, विचार, आस्था, समूहगत निकटता, दलगत धारणाको पक्षपाती भएकैले त्यस्ता संवैधानिक निकायमा नियुक्त गरिएका थिए, गरियो, गरिदैँछ । सञ्चार माध्यममा विचार वा लेख वा धारणा दिने ‘स्वतन्त्र व्यक्ति’ वा बुद्धिजीवीलाई चिनेका छैनौँ ? सत्ताको विरोधमा बोलेको खण्डमा प्रतिपक्षी कित्ताको लागि ऊ स्वतन्त्र बुद्धिजीवी र विद्वान् ठहरिने ! सत्ताको समर्थनमा सिधा वा घुमाउरो तरिकाले विचार वा विश्लेषण गरेको खण्डमा उनीहरूको लागि ठूलो विद्वान्, स्वतन्त्र विश्लेषक दरिने रहेछ भन्ने सोच पालेर हामी बसेका छौँ ।


विचार कसैलाई ‘स्वाद’ लाग्ने वा नलाग्ने हुन्छ । यस हिसावले मानिस र विचारलाई स्वतन्त्र विश्लेषण भएन भनेर आलोचना पनि गर्नु आवश्यक छैन् । कुनै विचार, दर्शन, धारणा, दलीय निकटता, दलीय दृष्टिकोणको आधारमा सरकारी र सार्वजनिक पदमा निर्वाचित वा नियुक्त भई बसेको व्यक्ति, मानिस वा कर्तव्य भएको व्यक्तिले सो निश्चित दलीय विचारको आँखा वा चश्माको आधारमा आफ्नो कर्तव्य, कानूनी र संवैधानिक दायित्व र जिम्मेवारी पूरा नगर्ने वा विचारको आधारमा भेदभाव गर्ने अवस्था आयो भने त्यो गम्भीर कमजोरी बन्न पुग्दछ ।

 

मानिसको प्राकृतिक आवश्यकता समान हुन्छन् । बाँच्नको लागि चाहिने आधारभूत कुराभन्दा टाढा मानिस रहनै सक्दैन । त्यस अर्थमा जुनसुकै पदमा बसेको मानिस पनि प्राकृतिक व्यक्ति भएकोले उसको मनमा कुनै विचार, धारणा, दृष्टिकोण वा दलीय निकटता हुनुलाई अन्यथा भन्न सकिन्न । धारणाको कारण फरक पर्ने नभई धारणा बोकेर सो बाहेकको मानिस वा विचारलाई नकारात्मक व्यवहार वा फरक गरेको खण्डमा वा संवैधानिक र कानुनी दायित्व पूरा नगरेको खण्डमा मात्र त्यो प्रश्नयोग्य बन्न पुग्ने हो । पेशागत र ट्रेड युनियन अधिकार चाहिँ कुनै पनि सरकार, मन्त्रि वा कसैले खोस्न सक्दैन । त्यो खोस्न खोज्नु लोकतान्त्रिक संविधानको अक्षर र भावना नबुझ्नु हो ।

 

‘स्वतन्त्र पार्टी’की निवर्तमान शिक्षा मन्त्रीले त्यस्तै ‘केटाकेटी हर्कत’ गर्ने प्रयास गरेकी थिइन । ‘इमेच्यौर’ सोचको परिणाम थियो त्यो । शिक्षक संगठनमाथि नै नियन्त्रण गर्नु सम्भवै थिएन । त्यो संविधानतः पाइँदैन । आफूलाई लागेको विचार, धारणा, निकटता राख्न सक्ने राजनीतिक अधिकार भनेको मानव अधिकारको विषय हो । दल वा समूहको ‘रातो’ वा ‘हरियो कार्ड’ लिएको वा नलिएको आधारमा मात्र कोही ‘स्वतन्त्र’ हुने वा ‘स्वतन्त्र’ नहुने हुन्न । चुरो कुरो जिम्मेवारी र व्यवहारको संतुलन नै हो । 


अराजकतावादी हर्कत
सारमा अहिले जतिले आफूलाई ‘स्वतन्त्र व्यक्ति’ वा ‘पार्टी स्वतन्त्र’ भन्ने गरेका छन् ती सबै ‘गोरु तर्क’ मात्र हुन् । ‘जोकर कुरा’ हुन् । रवि र रविजस्ता नयाँ भनिएकाहरूले भट्टाउने गरेको ‘स्वतन्त्र’को तर्क  डम्फू त झनबढी ‘वाहियात कुतर्क’ मात्र हो । खास समय, सन्दर्भ र अवस्थामा मौन बस्नु पनि कुनै समूह, दल वा विचारप्रतिको पक्षधरता हुन्छ भनेपछि कसलाई कसरी स्वतन्त्र भन्ने–मान्ने ? त्यो पर्दैन । मानिसले कुनै न कुनै स्तरको विचारको पक्षधरता लिनु हुन्छ, लिन्छ । मूल प्रश्न चाहिँ अहिले देशको राजधानी लगायतका शहरमा ‘स्वतन्त्र’ र नागरिक वा ‘युवा’का नाममा अराजकता मच्चाउन खोजिँदैछ । त्यो नियन्त्रण गर्नु पर्दछ । 


स्वतन्त्रताको नाममा अराजकता, गैरकानूनी हर्कत र ‘उभद्रो’ गर्न पाउने छुट छैन । मौलिक संस्कृति मनाउन प्रधानमन्त्री र दलका नेता आमन्त्रण गरेर त्यहीँ अराजकता र उत्ताउलो नाराबाजी गरिन्छ भने त्यस्ता कार्य अराजकतावादी कार्य हुन् । त्यस्ता क्रियालाई नेपालको सामाजिक र सार्वजनिक नैतिकताले समेत छुट दिन सक्दैन । हुलहुज्जत गर्ने, अराजक नाराबाजी गर्ने र शान्ति भडकाउन खोज्नेलाई कडा रूपमा पेश हुनु आवश्यक देखियो । (साँघु साप्ताहिक, २०८१ भदौ २४) 
 

प्रतिकृया दिनुहोस