• मंगलबार-असोज-१-२०८१

तानाशाही शासन सञ्चालकको यो दुर्दशा !

 

चीनसँग सहायता, सहयोग र ऋण लिँदै नलिनु भन्ने भारतीय ठूलो गुप्त दवाव कति बलियो छ काठमाडौंका दासकर्म नेताहरुलाई थाहा छ । उनीहरु त्यो भारतीय चाहना पालन गरिरहेको पनि देखिन्छन् । चीनको सहयोगमा बनिरहेका सडकहरुसमेत निर्माण ठप्प छन् । यस्तो स्थितिमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद चीन गएर २० विलियन अमेरिकी डलर सहयोग र सहायता आफ्नो देशको आर्थिक विकास गर्न लिने कुराले भारतीय संस्थापन उनीसँग कति क्रुद्ध भयो होला अन्दाज गर्न सकिन्छ । 

 

अर्काेतिर पाँच वर्षपछि बल्ल हसिना वाजेद चीन जाने कार्यक्रम बनेपछि बंगलादेशमा सरकारी नोकरी, शिक्षा, अरु सुविधाहरुमा कोटा र आरक्षणविरुद्ध आन्दोलन प्रारम्भ भयो । तर, देशमा आन्दोलन उग्र हुँदै गर्दा पनि शेख हसिना वाजेद ८ देखि ११ जुलाई २०२४ को लागि चीन भ्रमणमा गइन । चीन बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार भइसकेको छ । १०.३० विलियन अमेरिकन डलरको व्यापारिक अन्दाज प्रदान छ । र, यो बढ्दैछ । 

 

चीनका राष्ट्रपति र आफ्ना समकक्षी प्रधानमन्त्रीसँग भेटवार्ता गरिन । २१ वटा सम्झौताहरु भए भन्ने समाचार पनि विदेशी समाचार पत्रहरुमा प्रकाशित छन् । अर्काेतिर बंगलादेशमा आरक्षण र कोटा विरोधी आन्दोलन झन् उग्र भयो । अचानक उनकी छोरी विरामी परिन भनि चीन भ्रमण छोटो पार्दै २०२४, ११ जुलाईको साटो १० जुलाइमै ढाका फर्किन । शेख हसिना वाजेदलाई बंगलादेशका विरोधी दलहरुले सँधै भारत संरक्षित भनि मानेर निरन्तर प्रचार गरिरहे । उनले नांगो धाँधलीहरु खुलेआम गरेर निर्वाचनहरु गर्दै पटक पटक सत्तारुढ भइन । आफ्ना विरोधी नेताहरुलाई थरीथरी आरोप लगाउँदै थुनिन मात्रै होइन ५२÷५३ वर्ष अघि स्वतन्त्रता संग्रामका बेला गद्दारी गरेको भन्ने आरोप लगाएर मृत्युदण्ड समेत दिइन । कसैलाई ४९ वर्ष पहिले सन् १९७५ मा उनका पिता शेख मजिबा रहमानको हत्यामा संलग्न भन्ने आरोप लगाएर पनि मृत्युदण्ड दिइन । 

 

जमाते इस्लामीका कयौं नेता र कार्यकर्तालाई पाकिस्तानी एजेन्ट देशद्रोही भन्दै मृत्युदण्ड दिइन । न्यायालयहरु पनि उनको मनसाय बमोजिम फैसला गर्थे । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष र पूर्व प्रधानमन्त्री खलिदा जियालाई भ्रष्टाचारको आरोप लगाई थुनिन् । निर्वाचनहरु एकतर्फी र धाँधलीपूर्ण गर्दै लामो समय शासन कब्जा गरेर बसिरहिन । अनि अन्यायका विरुद्ध जनता जागेपछि सत्ता मात्रै होइन देशै छाडेर भागिन् ।

 

यो कुरा पनि संसारसँग लुकेर रहेको थिएन कि शेख हसिनालाई सँधै भारतीय संस्थापनको साथ रहँदै आएको थियो । निर्वाचनहरु उनको पार्टीका कयौं उम्मेद्वार खसेको मतको ९५ प्रतिशत पाई विजयी घोषित हुन्थे । बंगलादेशमा तानाशाही शासन सञ्चालन गर्ने शेख हसिनालाई तीव्र घृणा गर्ने ठूलो संख्यामा शत्रुहरु जन्मिदै थिए । अमेरिका, बेलायत र युरोपियन देशहरुले हसिनालाई स्वच्छ, स्वतन्त्र र लोकतान्त्रिक निर्वाचन गर भन्दा उनले कहिले टेरपुच्छर लगाइनन् भने भारत सँधै उनलाई पहिलेदेखि साथ दिँदै आयो ।

 

सबैभन्दा पछिल्लो आरक्षण र कोटा विरोधी आन्दोलनमै तीनसयभन्दा बढी आन्दोलनकारी मारिएको विवरण आइरहेको छ । अमेरिकाले हसिनाको भिसा रद्द गरेको छ । \ब्रिटेनले राजनीतिक शरण दिन्न भनेको छ । के के भित्री र बाहिरी कारणहरुले हसिना वाजेदको सत्ता पतन भयो । विस्तृत भित्री विवरणहरु आउँदै जालान् । भारतीय संचार माध्यमहरु हसिना वाजेद सत्ताच्यूत हुनुमा अमेरिका र पाकिस्तानको भित्री भूमिका भनि भन्दैछन् । 

 

बंगलादेशको सेनाले हसिना वाजेदलाई ४५ मिनेटभित्र देश छाडेर जान अल्टिमेटम दिएपछि उनलाई एउटा हेलिकप्टरमा भारतको त्रिपुरा पु¥याइयो । त्यहाँबाट उनी गाजियावाद नजिक हिन्डन भन्ने भारतीय सेनाको खण्डामा रहेको एयरपोर्टमा पु¥याइयो । भारत नेशनल सेक्युरिटी एडभाइजर अजित डोभालले उनीसँग वार्ता गरेको समाचार पनि प्रकाशित भएका छन् । 

 


 एकजना भारतीय पत्रकार मित्र र विश्लेषकले भनेको सुनें, ‘अरु सबै छिमेकी देशहरु बंगलादेश, श्रीलंका, पाकिस्तान, नेपाल इत्यादिमा यस प्रकृतिका घटनाहरु पहिले पनि भएका छन् र पछि पनि हुन सक्लान् । तर, भारतमा पहिले पनि कहिले भएन र पछि पनि हुँदैन । किनभने विगत ७३ वर्षदेखि नबिराइकन जनताद्वारा प्रत्यक्ष निर्वाचित लोकसभा सदस्यहरुले मात्र सरकार निर्माण गर्दै आएका छन् । 

 


‘आवधिक निर्वाचनहरु स्वतन्त्र, स्वच्छ र निष्पक्ष भएर सरकारहरु बन्ने गरेका छन् । जबकि छिमेकी देशहरुमा विगत ७३ वर्षमा भारतमा झैं लोकतान्त्रिक जीवन पद्धतिले ती देशहरुमा कहिले जरा गाड्नै पाएन ।’

 


इमान्दारी साथ हेर्दा हामीहरुले देख्दैछौं आज पनि नेपालमा लोकतान्त्रिक निर्वाचन प्रणाली नै छैन । जुन देशमा प्रतिनिधिसभा जस्ता सरकार बनाउने हटाउने ठाउँमा समेत साहुहरुले नेताहरुबाट किनेर कुनै प्रकारको जनतामाझ प्रतिस्पर्धात्मक निर्वाचन नै नलडी संसदमा पुग्न पाइन्छ । यस्तो करोडौंको थैली भेट गरेर सांसद पद किन्न पाइने प्रणालीलाई पनि के लोकतान्त्रिक निर्वाचन प्रणाली भन्न मिल्छ ? 

 


त्यति मात्र होइन नेपालको हरेक राजनीतिक परिवर्तनमा, सशस्त्र विद्रोहहरुमा सबैथरी अँदोलनमा सरकार हेरफेरमा विदेशी हस्तक्षेप चलेको र चल्ने गरेको स्पष्ट ज्ञान र बोध पनि काठमाडौंसँग छ । नेपालमा हाल धुरा भागबण्डे लुटतन्त्र चलिरहेको देशको यस्तो स्थितिमा कहिले पनि कुनै बेला पनि के हुन्छ सारै अनिश्चित हुन्छ । (साँघु साप्ताहिक, २०८१ साउन २८)
 

प्रतिकृया दिनुहोस