• शनिबार-असोज-१९-२०८१

पहिलो टी- २० मा भारतमाथि जिम्बाबेको सानदार जित

 

काठमाडौँ । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो । जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।

 

भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए । त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्बाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।

 

त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्बाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
                  

प्रतिकृया दिनुहोस