• शनिबार-असोज-१९-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास : व्यावसायिक, धार्मिक, सांस्कृतिक पक्षः केही विवेचना–(६)

 

पाल्पामा नेवारहरु बोलचालमा नेवारी भाषा वा नेवा  भायःमा कुरा  गरे पनि लिखितमा धरै कम मात्र लेखिएको इतिहास छ । तत्कालीन अवस्थामा नेवारी जो काठमाडौं उपत्यकाको भन्न्दा भिन्न थियो । भनिन्छ प्रत्येक तीन किलो मिटर वा माईलमा भाषा फरक हुन्छ ।  तानसेनको सन्दर्भमा गैरनेवारसंगको संगत र पर्वते भाषा समेत बढी बोलिने र मगरको बाहुल्यता रहेको हुँदा समेत नेवारी भाषामा केही फरक पर्न  आएको देखिन्छ ।


वर्तमान समयमा पनि तानसेनमा  शाक्य, बज्राचार्य, बौद्धाचार्य, कर्माचार्य, श्रेष्ठ, प्रधान, सिंह, राजभण्डारी, मल्ल, गोंगल, मुननकमी, महर्जन, डंगोल, लिगल, शाही, सुवाल, जोशी, वैश्यत, कक्षपति, कोलाक्षपति, राजलवट, सैंजू, वैंजू, मास्के, नापित, रजक, जालन्धर, खड्की, अमात्य, उदय, धौभडेल, वैध, कसजुलगायतका थर भएका नेवारहरू बसोबास रहँदै आएको छ । 
नेवारीमा भाषा, कला , संस्कृति, साहित्य, संगीत र परम्पराका धनी नेवारहरु सेनकालीन समयदेखि नै पाल्पा आउँदा आ–आफ्नो भाषा, कला, संस्कृति , साहित्य, परम्परा र रीतिरिवाजहरु लिएर आएका थिए । यी सबै कुराहरु पाल्पा तानसेनको नेवार समुदायमा अद्यावधि रहेका पाइन्छन् । गुठी, संस्कार, जात्रा, पर्व, दाफा भजन, गीत, संगीत, नृत्य, हाँस्य, नाटक आदि नेवार संस्कृति र समुदायबाटनै हुँदै आएका चलन, परम्परा हुुन् । म्ह पूजा, बारा, इही (बेल विवाह) गुनीपुनी (जनैपूर्णिमा), सापारु (गाइजात्रा), कतिपुनी (कार्तिक पूर्णिमा) मिलापुनी (पौष पूर्णिमा ) सिपुनी (माघ पूर्णिमा)  हवली पुनी (फागु पूर्णिमा ) स्वाया पुनि (बुद्ध पूर्णिमा) आदि पाल्पा तानसेनका नेवारहरुको मौलिक संस्कृतिहरु हुन् । 

 

पाल्पा तानसेनका नेवार समुदायको आफ्नै परिस्कृत भाषा छ , जसलाई नेवाः भाय अर्थात् नेपाल भाषा भनिन्छ । नेपाल भाषालाई बोलीचालीमा नेवारी भाषा भनिन्छ । अधिकांश नेवारहरुले नेवारी र नेपाली दुवै भाषा बोल्दछन् । नेवारी भाषा साहित्यको दृष्टिकोणले पनि महत्वपूर्ण देखिएको छ । पाल्पाको तानसेनबाट नेपाल (नेवारी) भाषा साहित्यको पहिचान, संरक्षण, सबद्र्धन  र प्रवद्धर्नका लागि समय सापेक्ष महत्वपूर्ण प्रयास र प्रकाशनहरु हुँदै आएका  छन् । 


तानसेनस्थित भगवती मन्दिरको कुरा गर्दा पाल्पा गौडाका तात्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले अंग्रेजमाथि विजय हासिल गरेपश्चात् भाकल गरे अनुरूप महिषासुर मर्दिनी देवी भगवतीको सम्मानमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर स्थापना र नियमित खटयात्रा व्यवस्थापनसँगै भगवती भजन खल (वि.स.१८७६÷ने.संं.९३९) स्थापना गरेका थिए ।  दशैंको अवसरमा दस दिनसम्म अटुट भजन र अन्य धार्मिक अवसरमा समेत भजन गरिन्छ । 


इतिहासको सरसरी समीक्षा गर्दा , भगवती मन्दिरका प्रथम पुजारी चन्द्रमुनि बज्राचार्य र भगवती जात्राका प्रथम व्यवस्थापक शुक्तमान बौद्धाचार्य  रहेक देखिन्छ । साथै, भजनहरू संगृहित कृति समेत प्रकाशित छ  । करिब दुई सय वर्ष भन्दा पनि अगाडि स्थापित भजन खलले नेपाल भाषामा भजन र गीति साहित्यको विकासमा योगदान पु¥याउदै आएको  उल्लेखनीय  र स्तुत्य छ । 


आनन्द विहार 
वि.स. १८६३ ( नेपाल सम्बत . ९२७)  मा ललितपुरबाट पाल्पा तानसेन आएका सुन्दर शाक्यले भीमसेन टोलमा ढुङ्गाको चैत्य बनाई स्थापना गरेसँगै पछि वि.स. १९४१ ( ने.सं.१००४)  सालमा चैत्यको माथि तल चारैतिर पित्तलको पाताले मोडी पश्चिम नेपालकै पहिलो चैत्य आनन्द विहार स्थापना भयो । स्थापनाकालदेखि नै विहारले नेपाल भाषाको माध्यमद्वारा बौद्ध दर्शन, बौद्ध धर्म, बौद्ध संस्कृति सहित बौद्ध वाङ्मयको विकासमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । 


महाचैत्य विहार ज्ञानमाला सभा 
काठमाण्डौं उपत्यकाबाट पाल्पा तानसेन आएका बौद्ध धर्मालम्बीहरूले वि.स. १९८६–१९८७ मा टक्सार टोलमा महाचैत्य विहारको निर्माण गरेका थिए  । यतिबेलादेखि नै नेपाल भाषामा धर्मदेशना शुरू भयो । भिक्षु शाक्यानन्द महास्थवीरले यसै विहारबाट धर्मदेशनाको शुभारम्भ गरे । नेवारी भाषामा विभिन्न गतिविधि संचालन हुँदै गयो ।

    
तानसेन गुठी 
तानसेनबाट काठमाण्डौं गई बसेका नेवार समुदायद्वारा सामाजिक कार्य गर्ने हेतुले तानसेन गुठी काठमाण्डौं (वि.संं २०५० अर्थात्  ने.संं १११३) स्थापना भएको हो । गुठीले पाल्पा तानसेनको शिक्षा, स्वास्थ्य, पर्यटन, भाषा, कला, संस्कृति, साहित्य सम्पदा र परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा उल्लेखनीय कार्य गर्दै आएको छ । गुठीले यस वर्ष ३२ बर्ष मनाउदैछ ।  प्रत्येक वर्ष भगवती पूजाको अर्को शनिबार भगवती कै प्रतिमूर्ति राखी काठमाडौँमा पूजा गरिन्छ, सुरुमा मन्दिरमा पूजा गरिने गरिएकोमा पाल्पा भगवतिकै भावना जागृत होस् भन्ने अभिप्रायले २५आंै वर्ष प्रवेशदेखि तानसेन भगवती टोल मा अवस्थित भगवती माताकै प्रतिमूर्तिको पूजा गरिन्छ । 


अन्य कार्यहरुमा तानसेन गुठीले नेपाल भाषाको लिपि संरक्षण, नेपाल भाषामा प्रशिक्षण, नेपाल भाषा कार्यक्रम, नेपाल भाषा साहित्य सम्बन्धी लेख तथा प्रकाशनमा जोड दिनुका साथै विविध संगालोको रूपमा नियमित प्रकाशन गर्दै आएको वार्षिक संगालो “चिनारीमा” विविध विषय खासगरि तानसेन र पाल्पा बारेको लेख, रचना, समीक्षा, इतिहास तथा जानकारीहरू प्रकाशित गर्दै आएको छ । एसको अलावा , नेपाल भाषा साहित्य, कला, संस्कृति, सम्पदा र परम्परागत मूल्य र मान्यतालाई एकीकृत गरि बिस्तृतिकरण गर्ने कार्यका लागि नेवाः गुठी पाल्पाको  २०७९ विक्रम सम्वतमा  समेत स्थापना भएको छ ।


पूर्वमा बसाई सरेर जानेलाई “बाई बाई” र बसाई सरेर आउनेलाई “दुहुनो गाई” भन्ने नारा सहित विभिन्न कार्यक्रम समेत ल्याएको सन्दर्भमा तानसेनले पनि केही गर्नुपर्नेमा कुनै शंका छैन । त्यसो भएमा अप्ठ्यारोमा परेका र आफ्नो जन्मथलो फर्किनेका लागि आर्थिक  अवसरले आकर्षण गर्नु पर्दछ ।(समाप्त)  (साँघु साप्ताहिक, २०८१ असोज १५–२१)

प्रतिकृया दिनुहोस