• शनिबार-असोज-१९-२०८१

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध


बैतडी, २२ असार । अविरल वर्षापछि खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९  आलुगैरामा आज बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । 

 

पहिरोसँगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रूपमा रोकिएको र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ । 

 
यस्तै करेन्ट लागेर जिल्लाको शिवनाथ गाउँपालिका–६ का हरिसिंह धनाडीको एक बाख्रा मरेको छ । घर नजिकै रहेको विद्युत्को खम्बामा करेन्ट लागेर बाख्रा मरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

 
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।
---

 

 

प्रतिकृया दिनुहोस