• आइतबार-भदौ-२३-२०८१

किन हुँदैछ नागरिकको ‘मोरल डाउन’ ?

 

नेपालको राजनीतिक, आर्थिक र समग्र विकासमा मनोवल खस्किन पुग्दा सर्वत्र निराशा र अविश्वास बढ्दै गएको छ । खस्केको मनोवल उच्च (हाई) गर्नु सर्वाधिक चुनौतीपूर्ण देखिएको छ । खस्केको मनोवल (डाउन मोरल) उच्च गर्न सक्ने हो भने नेपालको सामाजिक–आर्थिक क्षेत्रमा प्रगतिको सम्भावना देखिन्छ ।


सार्वजनिक सञ्चार माध्यमबाट चर्का गाली गर्ने, चटके फन्डा गर्नेहरू आफूलाई राजनीतिक र सामाजिक अगुवा भन्ने देखाउन नाटक गर्दैछन् । भ्रम,  हल्लाखल्ला र परिवर्तनमा माखो मार्न नसक्ने व्यक्ति–समूहले आफूलाई स्वघोषित अगुवा घोषित गर्ने गरेका छन् । आर्थिक क्षेत्रमा मनोवल गिर्नुमा पनि राजनीतिक अस्थीरता, अन्यौलता र विकृति प्रमुख कारक भएको देखिन्छ । उता समानुपातिक प्रणाली सहितको खर्चिलो, भड्किलो र विकृतपूर्ण चुनावी संस्कृतिका कारण लोकतन्त्र बदनाम हुँदैछ ।

 

आर्थिक क्षेत्रमा अनुशासनहिनता, विकृति र अपचलन बढेकोले सामान्य बचतकर्तामा निराशा र चिन्ता बढेको हो । साना बचतकर्ताको मनोवल गिर्न पुग्दा व्यवसायबाट हात झिक्ने प्रवृत्ति बढ्दै गएको छ । मुलुकका ठूला र उत्कृष्ट भनिएका सहकारी धमाधम भाग्ने, बन्द हुने र संकटग्रस्त बन्न पुग्दै गएकोले त्यसको असर अर्थतन्त्रमा पर्न थालेको छ । सहकारी ठगी र बैँकिङ क्षेत्रमा आर्थिक अपचलनमा राजनीतिक दलका नेता र उच्च पदस्थ अधिकारीहरू सहितको नाम जोडिनु र मुछिनुले समग्र आर्थिक क्षेत्रमा अविश्वास बढेको हो । 


भ्रमको खेती 
तथ्यहीन, भ्रामक र झुट्टा हल्ला फैल्याउने अनलाइन मिडिया, युट्युबर, विभिन्न निजी स्वार्थ जोडिएका व्यक्तिहरूका कारण समाज प्रदुषित बन्दैछ । राजनीतिक अभीष्ट पूर्ति गर्न लागेका ठग समूहले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र तहसनहस पार्दैछन् । जसले गर्दा साना लगानीकर्ता, बचतकर्ता र आम नागरिकको मनोवल दिनदिनै गिर्दै गएको हो । आर्थिक, सामाजिक र नैतिक संकट बढेको कारण सामान्य नागरिकले सहकारीलाई मात्र होइन बैँकलाई समेत विस्वास गर्न नसक्ने अवस्था आयो । यसर्थ लगानी गर्न नागरिक हच्केका हुन् ।

 

लगानी गर्न मनोवल निरन्तर गिर्दै गएकोले नेपालमा केही पनि हुँदैन, सबै नेता र दल उस्तै हुन्, सबै सहकारी ठग र चोर हुन्, सबै बैँकले ऋण लगानी गर्दा तोक्ने व्याजमा पछि वृद्धि गर्दै ठग्दछन्, नेपालमा रोजगारी छैन, व्यापार छैन, उद्योग, व्यापार संकटग्रस्त भइसक्यो भन्नेजस्ता भाष्य व्यापक भएको पाइन्छ । यही कारण बैँकमा लगानीयोग्य नगद मौज्याद बढेको बढ्यैछ । नेपालमा अब केही पनि हुँदैन भन्ने जस्ता ‘मोरल डाउन’ गर्ने खालका भ्रामक हल्ला, भ्रम र भाष्यले बजार लिएको छ । कुनै पनि व्यक्ति र संस्थालाई विश्वास नगर्ने प्रवृत्ति बढेकोले नेपालबाट विदेश जानेहरूको लर्काे दिनदिनै बढ्दै गएको हो । अध्ययन र रोजागारीका लागि भन्दै दैनिक दुई हजार छ सयको हाराहारीमा मानिस विदेशिएका छन् ।


विदेशको मोह
आफ्नै गाउँको बारीमा अदुवा रोपेर वर्षमा चार लाख कमाउन सक्ने मानिस पनि वर्षमा बढीमा तीन लाख कमाउन अरब र मलेसिया जान लाइनमा देखिन्छन् । सबै पार्टी र नेता उस्तै होइनन, सबै सहकारी भाग्दैनन, देशको विकास र लगानीमा बैँकले भूमिका खेल्दै आएका छन् भन्नेमा नागरिकमा विश्वास हुन छाड्दै गएकोले समस्या थपिएका हुन् । वास्तवमा नेपालमा इमान्दारीपूर्वक परिश्रम गर्दा धेरै क्षेत्रमा प्रगति र उन्नत्ति गर्न सकिन्छ । मूल कुरा भनेको नागरिकको विश्वास र ‘मोरल हाइ’ गर्नु हो । नेपालमा पनि धेरै क्षेत्रमा हजारौँ मानिसहरूले प्रगति र उन्नत्ति गरेका छन् । उच्च मनोवल सहित व्यापक अर्थको इमानदारी सहित कार्य गरेको खण्डमा धेरै प्रगति गर्न सकिन्छ । 


 केवल विश्वास र हाई मोरलको खाँचो छ । नेपाली नागरिक र मूलतः युवामा ‘डाउन’ हुँदै गएको ‘मोरल’लाई ‘हाई’ गर्न सकेको खण्डमा नेपालमा प्रसस्त सुधार, प्रगति र उन्नत्तिको सम्भावना छ । मनोवल गिरेको कारण नेपाल छाड्ने बढेका हुन् । उच्च शिक्षा आर्जनदेखि रोजगारीका अवसरको खोजीमा विदेशिने युवाको संख्या बढिरहेको छ । ४० लाख भन्दा बढी नेपाली विभिन्न उद्देश्यले देश बाहिर पुगिसकेका छन् । नेपालमा केही पनि हुन्न भन्ने मनोविज्ञान बढी भएको कारण विदेशिनेक्रम बढेको हो । यसैले वैदेशिक रोजगारीबाट आउने रेमिटेन्स समेत बढीरहेको छ । त्यो व्यापारमा लगानी चाहिँ हुन नसक्दा बैँकमा लगानीयोग्य पैसा थुप्रिएको हो ।

 

अस्थिरता र अन्यौलताका कारण पुँजीलाई उद्योग, व्यापार र रोजागारी वृृद्धिमा लगानी गर्ने वातारण भने बढ्न सकेको छैन । लगानीकर्ता, उद्योगी र व्यवसायीको मनोवल खस्केको कारण ऋण लगानी बढ्न सकेन । औपचारिक शिक्षा आर्जन गरेका, शहरबजारमा घर भएका र नेपालमा नै आय जार्जन गर्न सक्ने व्यक्ति पनि वैदेशिक रोजगारीमा तानिएका–हानिएका छन् । उच्च शिक्षा आर्जन गरी रोजगारी प्राप्त भएकाहरू पनि विदेशिने उपाय र प्रक्रियामा लाग्दै गरेका देखिन्छन् । नेपालमा रोजगारी गरेर पैसा बचत गरी धनी हुन सकिन्न भन्ने मनोविज्ञान ह्वात्तै बढेको छ । जुन गम्भीर विषय हो ।


लगानी डम्प
ठूला उद्योग–व्यापारमा लगानी बढाउने होइन भएको लगानी संकुचन र फिर्ता गरी घरजग्गा वा अनुत्पादक क्षेत्रमा ‘डम्प’ गर्ने प्रवृत्ति बढेको छ । शहरबजारमा चालु हालतमा रहेका साना लगानीमा सञ्चालन हुदै आएका पेशा, व्यापार र सेवा विस्तार गर्ने होइन बन्द गर्ने तथा लगानी संकुचन गर्ने सोच बढ्दै गएकाले ‘भाडामा’ र ‘बिक्रीमा’ भन्ने बोर्ड यत्रतत्र देखिन थालेका हुन् ।

 

अर्कोतर्फ काठमाडौँमा हेर्ने हो भने बालेन शाहको गैरकानूनी हर्कत र दादागिरीपूर्ण शैलीले सबैजसो पेशाकर्मी र व्यवसायी पीडित बनेका छन् । साना लगानीकर्ता र व्यवसायीको मनोवल यति धेरै खस्केको छ कि शहरका सबैजसो पसल–व्यवसाय ‘बेच्न पाए हुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेका देखिन्छन् । साना लगानीकर्ताहरूमध्ये सबैजसोले सहकारीहरूमा बचत गरेका र सहकारीले ठग्ने र भाग्नेक्रम बढेको कारण पेशा व्यवसायी पूरै मर्कामा परेका हुन् । अर्काे कम्पनी र निजी क्षेत्रमा ‘स्टाफ’ कटौती गर्ने तथा खर्च घटाउने प्रवृत्ति बढ्न थालेको छ । आर्थिक क्षेत्रमा विश्वव्यापी मन्दी आएको र त्यो दर झनै चर्काे हुने भन्ने अफवाह (हल्ला) भूसको आगो जस्तो गरी फैलिँदै गएकोले व्यवसायीको मनोवल नराम्रोसँग खस्कन पुगेको हो । जसले नयाँ लगानी गर्न उर्जा मा¥यो ।

 

बैँकहरू सरल, सस्तो र सुलभ तरिकाले ऋण लगानी गर्न तयार भएका विभिन्न विज्ञापन जारी गर्दै आएको भए पनि लगानीकर्ताले भर तथा विस्वास गर्न सक्ने वातावरण निर्माण हुनै सकेको छैन । कसरी यस्तो अवस्था आयो ? हल्ला भएजस्तो नेपालको अवस्था त्यस्तै भइसकेको हो ? आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आएका यस्ता मनोवल कमजोर पार्ने भ्रमलाई कसरी चिर्न सकिन्छ ? यस्ता अनगिन्ती सवाल अहिले जटिल बन्दैछन् । नयाँ बजेटले यसतर्फ ध्यान दिनै सकेन ।


राजनीतिमा अन्योलता
राजनीतिमा भएको अन्यौल र अस्थिरताको कूप्रभाव सर्वत्र फैलिएका छन्  । सरकार पविर्तन हुने, नीति र कार्यक्रम अस्थिर बन्ने, ठूला विकास र आयोजना नबन्ने र भएका कामको पनि भुक्तानी नहुँदा अन्यौलता ह्वात्तै वृद्धि भएको हो । खासमा सरकारले विकाससम्बन्धी पुँजीको खर्च गर्न नसक्दा बजारमा मन्दीको अवस्था आएको छ । राजनीतिक–सामाजिक क्षेत्रमा अन्यौलता, विकृति, विसंगती र अविस्वास बढेको कारण त्यसको दुश्प्रभाव सर्वत्र फैलिएको छ । वास्तवमा राजनीति नीतिहरूको मूल नीति भएकोले यसको प्रभाव सबै क्षेत्र र पक्षमा पर्दछ ।

 

राजनीतिक क्षेत्रबाट गिरेको मनोवल क्रमशः सामाजिक र आर्थिक क्षेत्रमा सर्दै गएको देखिन्छ । राजनीतिक क्षेत्रका नेतृत्व, नेता, सरकार, सत्ता र लोकतान्त्रिक गणतन्त्रमा अनेकौँ हल्ला र भ्रम फैलिएका छन्, फैल्याइएका छन् । ओली बाहेक कोही पनि नेता आदर्श (आइडल) बन्न सकेको देखिन्न । चुनावमा ओलीको दललाई बहुमत नदिएको कारण सर्वत्र अन्यौलता देखिएको हो । फटाहा र च्याँखेलाई मत दिएको कारण ‘सबै एउटै ड्याँङ्का मूला हुन’ भन्ने भाष्य समाजमा फैलिएको छ । गृहमन्त्री रविको चाला देखियो । गफ दिने बाहेक सिन्को भाँचेको देखिन्न । यस्तो अवस्थाको कारण नागरिकको मोरल डाउन भएको देखिन्छ । मोरल हाइ नगरी नेपालको सामाजिक–आर्थिक प्रगति हुने स्थिति देखिन्न । (साँघु साप्ताहिक, २०८१ असार ३)
 

प्रतिकृया दिनुहोस