काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहतको राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागमा डीआईजी पद रिक्त भएको छ । प्रशासन महाशाखामा कार्यरत अनुसन्धान निर्देशक डीआईजी भीमबहादुर बुढाथोकी पाँच वर्षे पदावधि पूरा गरेर २०८१ जेठ अन्तिम साता अवकासमा गएका हुन् । उनको स्थानमा बढुवा हुन राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रमुख सहअनुसन्धान निर्देशक विकास पाण्डेले बढी चलखेल गरिरहेको बुझिएको छ ।
विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले काठमाडौं डिल्लीबजार निवासी सहअनुसन्धान निर्देशक पाण्डेलाई अनुसन्धान निर्देशकमा बढुवा गरी काठमाडौं उपत्यका हेर्ने कन्ट्रोल प्रमुखको जिम्मेवारी दिने चर्चा विभाग भित्र चल्ने गरेको गुप्तचर स्रोत बताउछ । हाल कन्ट्रोल प्रमुख रहेका अनुसन्धान निर्देशक प्रजेश सिंह हमाल भने प्रशासन महाशाखामा सरूवा हुन चर्चा चलेको छ । उनी अनुसन्धान निर्देशकमा बढुवा भएपछि सुरूमा मधेस प्रदेशको प्रमुखमा पदस्थापन भएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको आठ महिनापछि उनको सरुवा काठमाडौंको कन्ट्रोल प्रमुखमा भएको थियो । उनले डेढ वर्ष जति सो प्रदेशमा सेवा गरेको स्रोतले बताएको छ । यसकारण उनी कन्ट्रोलबाट सरूवा भएर प्रशासन महाशाखामा जान चाहेको स्रोत बताउँछ । विभागको प्रशासन महाशाखा र कन्ट्रोलमा आउन अनुसन्धान निर्देशकहरू रामप्रसाद दास, कृष्ण खनाल, माधव प्रसाद तिमिल्सिना, ईन्द्रसिंह लामा, किशोर श्रेष्ठ, पप्पु शर्मा, सञ्जय यादवलगायतले जोडबल गरिरहेको गुप्तचर विभाग स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ असार ३)
प्रतिकृया दिनुहोस