नेपाली सेना राष्ट्रको सुरक्षा संयन्त्रको मेरुदण्ड हो । केवल भौगोलिक सीमाको रक्षा मात्र होइन, संकटको समयमा जनताको मनोबल र राज्यको स्थायित्व कायम राख्न यस संस्थाको भूमिकालाई अवमूल्यन गर्न सकिँदैन । तर, पछिल्ला केही वर्षयता सेनाको भित्री संरचना, विशेषगरी अधिकृत तहमा देखिएको नातावाद, कृपावाद र व्यक्तिगत प्रतिशोधको प्रवृत्तिले संस्था गम्भीर नैतिक संकटतर्फ अग्रसर भइरहेको स्पष्ट सङ्केत दिन थालेको छ ।
प्रख्यात भनाइ छ, “There are no bad regiments, only bad officers’’ यो कथन नेपाली सेनाको वर्तमान अवस्थामा अधिकृतको भूमिका, नैतिकता र क्षमताको महत्वलाई स्पष्ट पार्छ । अधिकृत तहमा बढ्दो नातावाद र कृपावादको असर संस्थाको एउटा महत्वपूर्ण समस्याको रुपमा देखा परेको छ । पदोन्नति, जिम्मेवारी वितरण, तालिम र सहुलियतहरूमा सम्बन्ध, पहुँच र राजनीतिक संरक्षणको प्राथमिकता दिइँदा पेशा, निष्ठा र क्षमता गौण बन्न पुगेका छन् ।
यो मात्र नभई कसैप्रति व्यक्तिगत रिसइवीका आधारमा जिम्मेवारी रोक्ने, वञ्चित गर्ने वा अव्यवहारिक निर्णय गर्ने प्रवृत्ति पनि संस्थाभित्र मौलाएको छ । यी घटनाले योग्य अधिकृतहरूलाई निरुत्साहित गर्ने मात्र होइन, सैन्य मनोबलमै नकारात्मक असर पारिरहेको छ । नेपाली सेनामा नातावाद, कृपावाद र व्यक्तिगत प्रतिशोध जस्ता विकृतिहरू व्यापक छन्, जसका कारण कार्यक्षमता र अनुशासनमा गम्भीर समस्या उत्पन्न भएका छन् ।
यस किसिमको एउटा विकृतिहरूको उदाहरण स्वरूप, केही समय अगाडिबाट सैनिक सचिव विभागमा कार्यरत कर्नेल मनोज भण्डारीलाई लिन सकिन्छ, यो प्रतिशोध लक्षित आरोप होईन केबल उनको निकृष्ट चरित्रको यथार्थ पटाक्षेप मात्र हो । उनी केबल एक प्रतिनिधि पात्र हुन् यस्ता प्रवृत्तिका अधिकृतहरू अझै धेरै छन् जसले पारदर्शिता र निष्पक्षतालाई प्रभावित पारेका छन् । यसले अनुशासित संस्थाभित्र अनौपचारिक र गलत निर्णयहरू बढाउने मात्र नभई, समर्पित र योग्य अधिकृतहरूको मनोबललाई समेत धक्का पु¥याउँछ । कम्तीमा पनि यस्ता प्रवृत्तिलाई निरुत्साहित गरि संवेदनशील विभागमा नियुक्त हुने अधिकृत ज्यादै नैतिकवान हुन जरुरी छ । यसबारेमा नेतृत्व गम्भीर नबने अनुशासित संस्थामा विकृतिले पँखेटा फैलाउन थाल्छ ।
विगतदेखि नै यस्ता गम्भीर विकृतिप्रति सार्वजनिक सतर्कता अभिव्यक्त हुँदै आएको छ, कम्तीमा साँघु साप्ताहिक, जन आस्थालगायतका अनुसन्धानात्मक पत्रपत्रिकाहरूले तथ्य, स्रोत र विवरणसहित निरन्तर रूपमा प्रकाशित गरेका रिपोर्टहरू यस्ता विकृतिका संकेत अवश्य हुन् । मूलधारका मिडियामा यस्ता विषयले सामान्यतया स्थान पाउँदैन् तर पनि यो समस्यालाई समयमै विचार गरिएन भने कुनै दिन अनपेक्षित नतिजाको खतरा रहिरहन्छ ।
अझ चिन्ताजनक कुरा के छ भने विभिन्न तहका नेतृत्व यस समस्यामाथि चुप रहनुमा मात्र सीमित छैन ! त्यही विकृत संरचना जोगाउन सचेत देखिन्छ । नेपाली सेनाको मूल नेतृत्वले त केवल नीतिमा ध्यान दिएको हुन्छ तर सहायक नेतृत्वले सही र निष्पक्ष सुझाव वा अनुसन्धानमा केन्द्रित हुन नसक्नु पनि एउटा कमजोरी हो सेना जस्तो संवेदनशील संस्थामा । सुधारको साटो, असन्तुष्ट आवाजलाई दवाउने, प्रश्न गर्ने अधिकृतहरूलाई असहयोग गर्ने वा बहिस्कार गर्ने प्रवृत्तिले स्थिति झनै बिग्रने अवस्थामा छ । यसले नेपाली सेनाभित्र नीति, नेतृत्व र अनुशासनको त्रिकोणात्मक पक्षलाई कमजोर पारेको छ ।
सैनिक भर्नादेखि पदोन्नतिसम्मको प्रक्रिया पारदर्शी बनाउन, अनुशासन उल्लङ्घनमा एकरूप कारबाही गर्न र प्रतिशोधमूलक सरुवाको अन्त्य गर्न नसके नेपाली सेनाले जनविश्वास गुमाउने मात्र होइन, फलामे अनुशासनमा रहनु पर्ने संस्थामा आन्तरिक स्खलनको खतरा बढ्दो छ ।
यसले स्पष्ट गर्छ कि नेपाली सेनाको आन्तरिक संरचना, निर्णय प्रणाली र नैतिक अनुशासन आज गम्भीर पुनरावलोकनको चरणमा छ । नेतृत्वको आत्ममूल्यांकन, स्वतन्त्र अनुसन्धान, र पारदर्शी सुधार प्रक्रिया संवेदनशील रुपमा अगाडि बढाउनु पर्छ । संस्था अझै जनताको विश्वास, संविधानको रक्षक र राष्ट्रिय गर्वको प्रतीक रहेको छ । तर, संस्थाभित्र पन्पिरहेको नातावाद, कृपावाद र अनुशासनहीनताले यसलाई निरन्तर कमजोर पारेको छ ।
यसबाहेक, अर्को गम्भीर पक्ष हो–सेनाभित्र यस्ता विकृतिहरूको विरोध जनाउन गोप्य र सार्वजनिक दुबै माध्यम उपलब्ध हुँदाहुँदै पनि अधिकृतहरूले सामाजिक सञ्जाल, छद्म नाम र अनौपचारिक माध्यमहरू रोज्नु । यस्तो प्रवृत्तिले नेपाली सेनाको सूचना सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । कतिपय संवेदनशील निर्णयहरू, सरुवा सूची वा रणनीतिक प्रसारणहरू औपचारिक रूपमा सार्वजनिक हुनु अघि नै खुला माध्यममा आउने गरेका छन्, जुन आन्तरिक संयन्त्रको सूचना चुहावट र सुरक्षा प्रणालीको कमजोरीलाई प्रतिविम्बित गर्छ ।
यस्तो संवेदनशील वातावरणमा संस्थाभित्रको गोपनीयता र निर्णय–प्रक्रियामा विश्वास घट्दै जानु मात्र होइन, बाह्य सुराकीकरण (espionage–जासुसी) र दुरुपयोगको जोखिमसमेत बढ्न सक्छ । जब नेतृत्वले आन्तरिक असन्तोषको उपचार पारदर्शी र जिम्मेवार ढंगले गर्न सक्दैन, तब कर्मचारीहरू विधिविपरीत माध्यममा जान बाध्य हुन्छन् र यही अवस्थाले सेनालाई दीर्घकालीन रूपमा अस्थिर, असुरक्षित र अविश्वसनीय बनाउने खतरा बोकेको हुन्छ ।
नेपाली सेना जस्तो पवित्र संस्थाभित्रको यस्तो परिवेशमा जब पदोन्नति र जिम्मेवारी प्राप्तिको आधार योग्यता, व्यवसायिक र निष्ठा नभई पहुँच, सम्बन्ध र चाकडी (so–called shoe polishing) बन्छ, तब सैनिक संस्था स्वयं एक प्रकारको “भित्री राजनीति“ को अखडा बन्न पुग्नेछ । खासगरी उच्च पदस्थ अधिकृतहरूलाई खुसी पार्न आलोचना नगर्ने प्रवृत्तिको प्रोत्साहनले आत्मालोचना, सुधारको सुझाव वा व्यावसायिक समीक्षा गर्ने संस्कृतिलाई मृतप्रायः बनाएको छ । विचार र विचारधाराको बहसभन्दा तानाशाही मनोवृत्ति र चुपचाप तालमेल गर्ने प्रवृत्ति संस्थामा हावी हुँदै गएको देखिन्छ । यसले अनुशासनलाई एकात्मकता होइन, आडम्बरी र व्यक्तिगत लाभमा आधारित बनाउँछ । यो प्रवृत्ति निष्कपट, योग्य र समर्पित अधिकृतहरूका लागि अपमानजनक अनुभव बन्ने जोखिम रहन्छ, जसले गर्दा उनीहरू निराश, निष्क्रिय वा पलायनमुखी बन्न बाध्य हुन्छन् ।
नेपाली सेनामा वर्तमान अवस्थामा अनुशासन, पारदर्शिता र नेतृत्वमा देखिएका चुनौतीहरू गम्भीर र गहिरा छन्, तथापि राष्ट्रियस्तरमा यसको समर्पण र नैतिकताको महत्वपूर्ण योगदानलाई बेवास्ता गर्न सकिन्न । नेपाली सेना राष्ट्रको सुरक्षा र राष्ट्रिय एकताका लागि सदैव एक विश्वसनीय र बलियो खम्बाको रूपमा उभिएको छ । यस संस्थाले निरन्तर देखाएको समर्पण र बलिदानलाई सम्मान गर्दै, नेपाल सरकार, रक्षा मन्त्रालय र संस्थाको मूल नेतृत्वले आवश्यक सुधार र पारदर्शिताको पहलले मात्र भविष्यमा अझ सुदृढ र उत्तरदायी नेपाली सेना निर्माण गर्न सकिनेछ ।
नेतृत्वले समयमै यी विकृतिहरूलाई चिन्दै सुधारका दिशामा ठोस कदम चाल्नु पर्नेछ, ताकि नेपाली सेना आफ्नो ऐतिहासिक गौरव र जनविश्वास कायम राख्न सकोस् । –शुभ चिन्तक अधिकृत, नेपाली सेना (साँघु साप्ताहिक, २०८२ असार ९)
प्रतिकृया दिनुहोस