काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदका बढुवाहरू दुई महिनादेखि रोकिएको अवस्था छ । स्रोतका अनुसार ३३ जना प्रतिस्पर्धी एसपीबाट ११ जना एसएसपीमा बढुवा सिफारिस गर्न गठित समितिका अध्यक्ष गृह सचिव गोकर्णमणि दुवाडी नै यस ढिलाइका जिम्मेवार व्यक्ति हुन् । यो बढुवा रोकिंदा नेपाल प्रहरीका दर्जनौ अधिकृतहरुको बढुवा रोकिन गएको अवस्था छ ।
प्रहरीको बढुवा किन रोकिएको हो र अहिलेसम्म किन अगाडि नबढाइएको भन्नेबारे प्रधानमन्त्री निवास बालुवाटारले गम्भीर चासो व्यक्त गरेको बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकार र निकट अधिकारीहरूले गृह सचिव दुवाडीले जानबुझेर बढुवालाई अवरोध गरिरहेको आशंका व्यक्त गरेको स्रोत बताउँछ । स्रोतका अनुसार, यो बढुवामा सुदूरपश्चिमका प्रहरी अधिकृतहरुको दवाव र चलखेलले गृह सचिवलाई प्रभावमा पारेको छ ।
शक्तिशाली नेतृ तथा मन्त्रिपरिषद्का सदस्य आरजु राणाका निकट मानिने गोकर्णमणि दुवाडी गृह सचिव भएपछि गृह मन्त्रालयमा नीतिगत अवरोध मात्र होइन, व्यावस्थापकीय अराजकता समेत बढेको भन्ने आरोपहरू उठिरहेका छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्देशनसम्म नमान्ने “हठी सचिव’’का रूपमा चिनिंदै आएका छन् ।
दुवाडीको भूमिकाले गर्दा सिडिओहरूको सरुवा समयमै हुन नसकेर ठुलो विवादमा परे । बरु वरिष्ठ सहसचिवहरूलाई ‘बरण्डा’मा थन्क्याएर उपसचिवहरूलाई कार्यबाहक(का.मु.) सिडिओमा खटाइएको घटनाले प्रशासनिक सेवा तहसनहस भएको देखिन्छ ।
त्यस्तै, भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको भूमिका असंवेदनशील र अपारदर्शी रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला गृह सचिवकै चरम लापरवाही र पक्षपातपूर्ण रवैयाले सरकार र गृह मन्त्रालयको साख खस्किएको देखिन्छ । स्रोतका अनुसार, भारतीय राजदूतावासको ‘एनओसी लेटर’ नलिई कालो सूचीमा रहेका, सुन तस्कर(गुजरात ९८ केजी सुन तस्करी प्रकरण), आतंककारीहरु, पाकिस्तानीहरु र बंगलादेशीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाइएका घटनाले भारतीय दूतावास समेत आक्रोसित भएको स्रोतको दावी छ । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘एनओसी लेटर’ बिना कुनै पनि भारतीयहरुलाई नउडाउन पत्र लेख्दालेख्दै पनि अटेर गरेर ‘घुस’को प्रभावमा परेर भारतीयलगायतलाई गैरकानूनी रुपमा उडाइएको स्रोत बताउछ ।
सचिव दुवाडीका कारण गृह मन्त्रालय अन्तर्गतका कुनै पनि निकाय—चाहे नेपाल प्रहरी होस् वा सशस्त्र प्रहरी,–फाइलहरू समयमा अघि बढ्न सकेका छैनन् । फाइलहरू लामो समयदेखि सचिवकै घर्रामा थन्किने गरेका छन्, जसले प्रहरी र प्रशासनिक निर्णय प्रक्रिया नै अस्तव्यस्त भएको छ ।
प्रधानमन्त्री कार्यालयको औपचारिक निर्देशनभन्दा पनि नेतृ आरजु राणा, भानु देउवा, जनक भट्टजस्ता व्यक्तिहरूको निर्देशनमा गृहसचिव चल्ने गरेको बुझिन्छ । डा. शेखर कोइरालाका निकट एक स्रोतका अनुसार, सचिव दुवाडीको यस्ता कार्यशैलीका कारण सरकार मात्र होइन, सिंगो नेपाली कांग्रेसको छविमा समेत आँच पुगिरहेको छ । गृह प्रशासनको जिम्मेवारी वहन गर्ने संवेदनशील पदमा बसेका सचिव दुवाडीको यस्तो अकर्मण्यता, शक्ति घेराभित्रको झुकाव र असंवेदनशील निर्णयले न केवल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षातन्त्रमा अविश्वास पैदा भएको छ, संसद र सरकारभित्रको समन्वय संकट पनि झन् गहिरिंदै गएको छ ।
सचिवको परिवर्तन सम्भव छ ?
हाल गोकर्णमणि दुवाडीको नेतृत्वमा गृह मन्त्रालय विवादास्पद रूपमा चर्चामा आएको छ ।
एसपी–एसएसपी बढुवा रोकिएको विषय,
सिडिओ सरुवा प्रक्रियामा अनियमितता,
भिजिट भिसा प्रकरण र सुरक्षातन्त्रको असहजता,
भारतीय दूतावास असन्तुष्टि
यस्ता विषयहरूले प्रशासनिक असन्तुलन सिर्जना गरिरहेका छन् । यस्तो अवस्थामा, प्रधानमन्त्री कार्यालयबाट असन्तुष्टि बढ्दै गएमा गृह सचिव परिवर्तन हुनु असम्भव छैन । (साँघु साप्ताहिक, २०८२ असार ९)
प्रतिकृया दिनुहोस