• बुधबार-मङ्सिर-१९-२०८१

ढाँडमा पसेको माधवको ‘समाजवादी’ !


‘गोठबाट हराएर जंगलमा भौँतारिएको बाच्छो’ जस्तो माधव नेपालको पार्टी ढाँडमा पसेको छ । २०७९ सालको चुनावको बेला काँग्रेस–माओवादीलाई झुक्याएर एमाले ताछ्ने करौँती भएको सोचियो । परिणामले माधवको पार्टी कर्कलोको पातको पानी मात्र रहेछ भन्ने कुरा छर्लङ्गै भइसक्यो । 


इलाम–बझाङ्गको निर्वाचनले माधवको पार्टी केवल शीत मात्र हो जसको आयु घाँम नलाग्दासम्म मात्र हुन्छ भन्ने प्रष्ट ग¥यो । इलाम र बझाङमा घाँम लाग्दा त्यो दल शीत जस्तै विलायो । साउनमा ढलेको मुँडो केही हप्ता हरियो देखिने र साना पालुवा आउने जस्तो मात्र हो माधवको पार्टी । गरामा पानी सुक्नेव्रmमसँगै मुँढो मुर्दा हुन्छ । त्यही हो समाजवादीको हालत ।


देउवालाई तेल
शेरबहादुर देउवालाई कम्मरमुनी र घुँडामाथि तेल लगाउन माधव नेपाल देउवा दरवारमा पटक–पटक हानिएको भए पनि त्यसबाट कुनै घ्यू लाग्न सकेन । बरु त्यसले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप सशंकित पा¥यो । नीति, कार्यव्रmम, विचार, दर्शन र कार्यशैलीमा एमाले भन्दा फरक केही छैन । एमालेबाट बाहिर भाग्नुपर्ने कारण खुल्नै सकेको छैैन । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि प्रमुख दलहरू मिल्नुपर्ने, राजनीतिक र कार्यव्रmमिक विषयमा एक भएर अघि बढ्नु पर्नेमा उल्टो कम्युनिष्ट पार्टीलाई चिरा पार्ने कोसिस भयो ।

 

नेपाली राजनीतिमा यो अक्षम्य कदम बन्यो । के पार्टी फुटाउनुको मूल काम एमाले कमजोर पार्नु मात्र हो ? प्रतिगामी र पुनर्रउत्थानवादी शक्तिलाई बलियो पार्नु मात्र हो ? एमालेले बहुमत ल्याउन नसक्नु मात्र समाजवादीको सफलता हो ? कम्युनिष्ट सत्तालाई धोका दिएर पुँजीवादी र दलाल काँग्रेससँग मिल्नु मूल उद्देश्य हो ? काँग्रेसको पुच्छर लागेर केही भाग दिन्छ र खाउँला भन्ने मात्र राजनीतिक लक्ष्य हो ? यस्ता अनेक प्रश्न माधव नेपालमाथि उठेको छ । राजनीतिक, वैचारिक, नीतिगत, सैद्धान्तिक धरातल र आधार केही पनि नभएको पिँध नभएको लोटा जस्तो समूहलाई बोकेर पार्टी भन्दै देउवाको पुच्छर लागेर हिंडेका छन्–नेता नेपाल । देउवालाई जति नै तेल, धुप गरेपनि केही हुनेवाला छैन ।


चौरासी नदेख्ने
 माधवको पार्टीले चौसारीको चुनाव नदेख्ने पक्कापक्की भएको छ । पहिला जस्तो भ्रम अब रहेन । माधवको पार्टी पनि जनतामा आधार भएको पार्टी वा समूह होला भन्ने भ्रम पूरै पखालियो । २०७९ सालमा भएको चुनाव मात्र होइन उपचुनावको नतिजाले त्यो प्रष्ट गरिदियो । अब काँग्रेसले उसँग गठबन्धन गर्दैन । कुनै भाउ दिंदैन । गठबन्धन गर्नुपर्ने औचित्य पनि देख्दैन । पहिला जस्तो भ्यालु दिनु आवश्यक देख्दैन । गठबन्धन गर्दा पनि अब चार सीट पनि दिँदैन । यही कारण माधवको पार्टीसँग कसैले गठबन्धन नै गर्दैन । शक्ति नभएकोसँग कसले किन गठबन्धन गर्ने ? गर्दैन । त्यो भएपछि चुनावमा केही भोट ल्याउने सम्भावना भएका मान्छे  पनि माधवको पार्टीमा बस्ने कुरा भएन । 


राजनीति मूल कुरा 
राजनीतिक पार्टीको भविश्य देख्नेहरू एमालेमा आइसके । राजनीति र सत्ताको शक्ति बुझेकाहरू धमाधम एमालेमा आउँदैछन् । बाँकी पनि आफ्नो पद एमालेमा के हुने हो भन्ने संकुचित धारणा बनाएर बसेका भए पनि सानो र सबैले हेप्ने पार्टीको नाम मात्रको ठूलो पदमा बस्नु भन्दा बरु ठूलो र पोलिटिक स्टाटस उच्च भएको एमालेमा गएर बरु सानो सदस्य भएर मात्र बस्ने भन्ने कुरा साँचो र विचारणीय छ । 


एमालेमा सानो पदमा बस्दा पनि ठूलो सोसल स्टाटस हुन्छ । यही कारण धेरै नेता पुनः एमालेमा आउन तयार भएर बसेका देखिन्छन् । फेरि पनि अड्केको प्रश्न चाहिँ उही पद मात्र समस्या भइदियो । त्यो पद मूल कुरा होइन । नाम मात्रको ठूला पद खोज्ने हो भने त अनेक नामका दर्जनौँ पार्टी छन् । त्यहीँ जान पनि सकिन्छ । आफैँले र आफूहरू मिलेर नयाँ दल पनि खोल्न सकिन्छ । त्यो वाहियात तरिका हो । जसको अर्थ छैन । विस्तारै मुलुक दुई दल वा तीन धारमा जाने प्रष्टै छ ।


झलनाथको दुःख
एसमा झलनाथलाई अध्यक्ष दिने कल्पना पनि गर्न सकिन्न । पूर्वप्रधानमन्त्री झलनाथ खनाल बौद्धिक, विचार भएको, अध्ययनशील र तुलनात्मक दृष्टिमा स्वच्छ छवि भएका नेता हुन् । तापनि नेता नेपालको पेलानमा छन् । खनाललाई अहिले होइन कहिले पनि पार्टी अध्यक्ष नेपालले दिँदैनन् । नेता खनालको पक्षमा टाउका पनि बढी छ्रैनन् । एमालेमा हुँदा कत्रो सान, मान, इज्जत, हैसियत थियो । अब त्यो कहाँ ? यस्तो अवस्था भएकोले खनालका दुःख थप बढ्ने पक्कापक्की देखिन्छ । खनालको दाल गल्नेवाला छैन ।

 

खनाललाई नाम मात्रको सम्मानीत नेता भनेका छन् । त्यस्तो हेपिएर नेता नेपालको कार्यकर्ताले बनाएको तमसुकमा ल्याप्चे हान्नुभन्दा एमालेमा आएर केन्द्रको कुनै पनि पदमा बस्दा त्यो इज्यतिलो हुने पक्का छ । के काम समाजवादीमा बसेर ? कुनै अर्थ छैन । रामकुमारी जस्ता अझैँ उर्जा बाँकी भएका मान्छे बस्ने ठाउँ नै होइन त्यो पार्टी । त्यसकारण ढिलो नगरी आत्माआलोलना गर्दै भटाभट एमालेमा समाहित भएर बस्दा नै उत्तम हुने प्रस्टै छ ।


ढाँडमा नेपाल
नेता नेपाल नराम्रोसँग ढाँडमा फसेको प्रतित हुन्छ । आफू समेत रहेका दस साँसद जोगाउन उनलाई मुस्किल पर्दै गएको छ । मान्छेले आफ्नो राजनीतिक भविश्य दाउमा राखेर माधवको पछि किन लाग्ने ? अहिले नै एमालेमा आए पछिको भविश्य प्रस्ट हुने हुन्छ । खिसीटिउरी गर्ने र बुझपचाएर माधवको पछि लाग्नेहरू सकिन्छन् । उदारण हेर्न टाढा जानु पर्दैन । वामदेव गौतमलाई हेरे पुग्छ । भीम रावललाई चिने पुग्छ । कुनै समय बाघ भनिएका वामदेव अहिले कान समाएर ओलीसँग माफी माग्दैछन् । यस्तो अवस्था हुन्छ ।

 

माधव आफैँलाई दललाई चौरासीसम्म लैजान फलामको च्यूरा चपाए जस्तो हुने प्रस्टै देखिन्छ । पहिले एमालेमा जिल्ला सदस्य हुन सकिएन भन्दै रुँनेहरूलाई केन्द्रमा पु¥याएर काठमाडौँमा दिसा हालेको काउली फुलाए जस्तो फुलाउनु–फुल्नु मात्र हो । त्यही कारण तिनै ग्याँङ्गलाई बटुलेर केन्द्रीय कमिटीको मिटिङ गराउनेदेखि बाहेक माधवले केही गर्न सक्ने होइन । मान्छे जोगाउन उसले थाम्ने भन्दा ठूलो भारीको पद थमाएर बसेका छन् । 


तिनको महत्वकाँक्षा यति बढ्यो कि तिनले टीका लगाएर केन्द्रीय सदस्य भएका आधा भन्दा बढीलाई अहिले त्यहाँ सचिव, पदाधिकारी चाहिएको छ । देशभर राजनीतिक गतिविधि शून्य छ । एक जना सदस्य पनि आफू समाजवादीको फलानो पदमा रहेको भन्ने कुरा समाजमा ढुक्कसँग भन्न सक्ने अवस्था छैन । भोली फेरि एमालेमा नै फर्किने हो भन्ने मनोविज्ञान चाहिँ बढीनै देखिन्छ । यही कारण पुराना एमालेका नेता, कार्यकर्तासँग माधवका नेता, कार्यकर्ताले सहज वातावरण बनाउन सम्बन्ध सुधार गर्दैछन् । 


सारमा दुई कुरा
यी सबै गतिविधि, व्रिmया, तरिका, अनुभव आदि हेर्ने हो भने माधव नेपालको पार्टीले चौरासी देख्दैन । त्यसअघि नै पार्टी पूरै विघटन नै हुन्छ । अर्काे कुरा अध्ययनशील र विचारक नेता झलनाथ खनाललाई अहिले त के कहिले पनि अध्यक्ष दिँदैनन् । आखिर ढिलोचाँढो नेता खनाल, झाँव्रmी लगायतका राजनीति बुझेका र भविश्य भएका मानिस एमालेमा आउनुको उत्तम विकल्प पनि त देखिन्न । नाम मात्रको राजनीतिक भविश्य नभएको पार्टीको अर्थहीन ठूलो पदमा बस्नु भन्दा एमाले जस्तो स्थापित पार्टीको सानो पदमा बसेर पनि सामाजिक, राजनीतिक हैसियत बढी हुन्छ भने त्यो दुःख किन गर्ने ? जबकी चौरासीसम्म त्यो पार्टी नै रहँदैन भने त्यहाँ किन बस्ने ? मूल सवाल यो हो । त्यस्ताले गरेको अधिवेशन एउटा श्राद्धे मात्र हो । अर्थ छैन । (साँघु साप्ताहिक, २०८१ जेठ २८) 
 

प्रतिकृया दिनुहोस