• शुक्रबार-कार्तिक-२-२०८१

महाभ्रष्टका बिचमा छवि जोगाउने प्रश्न 

 

प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवासँग बुढानीलकण्ठ पुगेर केही गुप्त सौदाबाजी गर्नासाथ केही महिनादेखि प्रतिनिधिसभा नाम राखिएको अर्धनिर्वाचित र अर्ध नेताहरुको तजबिजले मनोनित सदनमा चलिरहेको होहल्ला र तमाशा हामी नेपाली जनताले हेरिरहेको कुराको एकाएक अन्त भयो । 


सिर्फ एकजना रवि लामिछानेको नाम मात्र किटेर अरु सबै सहकारीका सर्वसाधारण सोझा गरिब र निम्न आय भएकाहरुको रगत पसिना बगाएको बचत लुट्ने ठग लुटेराहरुमध्ये कयौं आफ्नै पार्टीका केन्द्रीय, प्रान्तीय, जिल्लास्तरीय नेताहरु समेतको नाम लिन वर्जित गर्दै लुकाउँदै जोगाउँदै केवल रविको नाम लिँदै संसददेखि सडक प्रदर्शनहरु पनि हाललाई थन्को मन्को लगाई स्थगित छन् । 


संसदका हलमा सबैभन्दा पहिले अगाडि उफ्रिँदै दौडिँदै जाने भद्र महिला सदस्य हुनपुग्नु भएकाहरुको जोशिलो प्रहसन गर्ने जाँगर पनि देउवा दरबारमा प्रधानमन्त्री प्रचण्ड गई गुप्त मन्त्रणा गरेपछि त्यो संसदको साथै प्रत्यक्ष टेलिभिजन प्रदर्शन भइरहेको तमाशा क्लाइमेक्सतिर नगई एन्टीक्लाइमेक्समा पुगेर अन्त भएको छ । 


कांग्रेसका महामन्त्रीद्वयका गर्जनतर्जन पनि सबैका सबै गर्जिने बादल बर्सिंदैनन् भन्ने उखान चरितार्थ गर्दै कुनै कुनैलाई हावाले उडाएर पनि लगिदिएको झैं बुढानीलकण्ठ दरबारमा भएको दुईको फु–मन्तरले उडाइदिएको दृश्य देखिन्छ ।

 
 अर्काेतिर पहिले कार्पेटको सानो कारखाना र कयौं खुद्रे व्यापार कारोबार गर्दै पछि नेपालको सबैभन्दा ठूलो संचार व्यवसायी कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, रेडियो प्रसारण सबै भन्दा ठूलो विज्ञापन व्यापार चलाउने केएमजी ग्रुपका मालिक सञ्चालक स्वामी कैलाश सिरोहिया पनि प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेको क्रोधवश उनलाई नियन्त्रण गर्ने सौदाबाजी गर्न नागरिकता प्रमाणपत्रको कैफियत देखाई काठमाडौंबाट पक्राउ गरी जनकपुर पु¥याइएपछि त्यहाँको सुविधा, सुविस्थापूर्ण अस्पतालको बासपछि झन बढी आरामदायक काठमाडौं उपत्यकाको मेडिसिटी अस्पतालको हेलिप्याडमा रातो रंगिन हेलिकप्टर अवतरण गराउँदै आई आफ्नै हाजिर जमानीमा उन्मुक्त भइसकेका छन् । 


उनको संचार व्यापारले कयौं संचारकर्मीलाई सर्भिसको कुनै पनि ग्यारेन्टी नभएको आशय बमोजिम अस्थायी रोजगार पनि दिइराखेको छ । कयौं योग्य पत्रकारहरु पनि काम गरिरहनु भएको छ । विगतमा कयौं स्वतन्त्रतापूर्वक कलम चलाउने सम्पादकहरु र पत्रकारहरु हटाइनुभएको सत्यतथ्य पनि हामीहरु समक्ष छ । कुनै कुनैलाई विदेशी मन्त्रणामा हटाएको चर्चा पनि छ । 


  कसैले चाहेर होस् या नचाहेर पनि नेपालको समाज पनि आज प्लुरलिस्ट वा बहुलवादी छ । जहाँ केवल सरकार कार्यपालिकाको मात्र चल्दैन । अनेकौं खालका राजनीतिक दलहरु, अनेकौं खालका मिडिया माध्यमहरु, सामाजिक सञ्जालहरु, अनलाइन पत्रिका, फेसबुक, ट्वीटर, युट्युब, टिकटक इत्यादि प्रकाशन र प्रसारणहरुले पनि प्रभाव पार्दछ । 


सरल सोझो सबैले बुझ्ने भाषामा भन्दा आजको समयमा शासन सत्तालाई न्यायालयले, संचार र सूचनाले जनता माझको साना ठूला आन्दोलनहरु पनि, जनमत, राजनीतिक चेतनास्तरलगायत कयौं कुराले प्रभावित पारिराखेको हुन्छ । 


त्यसमा पनि आज सर्वाेच्च शासन शक्ति कार्यपालिका विभिन्न राजनीतिक पार्टीहरुको भागवण्डाको अस्थायी समीकरण जोड घटाउ गरिरहनु पर्ने संविधानको निर्वाचन प्रणाली छ । विदेशी अदृश्य राखिएको तर बेला बेला लुक्न र लुकाउन नसकेका खेलहरु पनि चलिरहेकै अनुभव हुन्छ र छ । 


टेलिभिजन सञ्चारकर्मी रहँदा रुझारु इमान्दार भ्रष्टाचार र अपराधका कुकर्महरुको भण्डाफोर गर्ने छवि जनतामा रवि लामिछानेद्वारा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना राजनीतिक दलहरुका नेताहरुको नसुध्रिने चरित्रले वितृष्णा भएका सापेक्षरुपले जान्ने बुझ्ने प्रबुद्ध इमान्दार युवा युवतीहरुको आशा विश्वास प्राप्त गरेको पनि देखियो । स्थापनाका साथै समयमै देशको चौथो सबैभन्दा ठूलो संसदीय दल पनि भयो । 


तर, के कयौं युगौंदेखि राजनीतिलाई शासन शक्ति प्राप्त साधन बनाई जनताको राजस्व लुट गरी पारिवारिक व्यक्तिगत सम्पत्तिमा परिणत गर्दै विदेशी अफसोर बैंकहरुमा क्यासको साथै देशभित्र पनि चलअचल सम्पत्ति महल कम्पाउण्ड दामी दामी जग्गा आफ्नो बनाएका छन् । यसरी अर्बपति हुँदै बसेका महाभ्रष्टको मातहतमा बसी मन्त्री भई इमानको छवि नयाँ दलका सभापति रवि लामिछानेले के कसो गरी कति र कहिलेसम्म जोगाई राख्न सक्ने हुन् ? आफ्नो छवि घटाउन वा बढाउन सक्नेहुन् ? हेरौं के हुँदै जाला । (साँघु साप्ताहिक, २०८१ जेठ २१)
 

प्रतिकृया दिनुहोस