• शनिबार-श्रावण-१२-२०८१

संवैधानिक रिभोल्भिङ डोरले निम्त्याएको दुर्दशा ! 

 

‘ध्वस्त हुन्छ यो संविधान भदौ २७ गते २०८१ भित्र’ आफूलाई देवतासँग साक्षात् भेट हुने दावी गर्ने, भविष्यवक्ता माता देवमायाँले टेलिभिजनमा एंकर जीवराम भण्डारीसँग भनेको हेरें सुनें । 


भारतका मूर्ति पूजा विरोधी आर्यसमाजका संस्थापक स्वामी दयानन्द सरस्वतीले सय वर्ष अगाडि नै लेखेका हुन्थे, ‘फलित ज्योतिषी भनेको मूर्खहरुलाई झन् मूर्ख बनाउने विद्या हो ।’ अर्थात् हात हेरेर, चिना हेरेर, जोखाना गरेर कसैको जीवनमा यस्तो उस्तो भविष्यमा हुन्छ भन्ने भविष्यवाचन गर्ने फलित ज्योतिष मूर्खहरुलाई झन् मूर्ख बनाउने विद्या हो ।


म नास्तिक हुँ । मन नन–रिलिजियस हुँ । म प्याशनलिस्ट हुँ । मेरो निम्ति स्वर्ग पनि छैन, नर्क पनि छैन । हामीहरु सबैले देखेका छौं हाम्रो जीवन छ । संसर्ग छ । जन्म हुन्छ । मृत्यु पनि हुन्छ । कोही बढ्ता कोही कम बाँच्ला तर अजरअमर कुनै मान्छे देखेका छैनौं हामीहरुले संसारमा ।


राजनीतिक व्यवस्थाहरु पनि समय र सामाजिक आवश्यकता अनुसार आएका र गएका छन् । परिवर्तित भएका छन् । अहिले हाल यो लेख लेख्दा के ध्वस्त छैन हाम्रो देशमा ? संसदीय प्रणाली, पार्लियामेन्टरी डेमोक्रेसी ध्वस्त छ । ६०÷४० प्रतिशतवाला एउटा वर्णसंकर मिस्कट छ । हिजोसम्म सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मानेर मन्त्री खाने र भ्रष्टाचार गर्ने आफ्ना शीर्ष ठूला कुनै नेताहरुलाई नेपाली नागरिकलाई पैसा लिई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने ठगी कारोबारको आरोप लागेर पक्राउ गरेपछि सरकार छाडेर हाल प्रमुख प्रतिपक्षी दल बनेको छ । संसद चल्न नदिने, कुनै कानून तबसम्म बन्न नदिने जबसम्म रवि लामिछाने गृहमन्त्री रहन्छन् भनि उद्घोष गर्दैछ । हिजो पनि नारायणकाजीले त्यसो गर्दा जसपा फुट्यो । गृह मन्त्रालयबाट हटाएर पोर्टफोलियो फेरिएको थियो । 


अमेरिका भ्रमणमा पुग्नासाथ पार्टी फुटेको समाचार सुनेर हान्निँदै काठमाडौं फर्केका उपेन्द्र यादवले हत्तपत्त भने कि प्रधानमन्त्रीलाई भ्रममा पारिएको र आफ्नो दल वर्तमान सरकारमै रहेनछ । तर, स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालले नै मन्त्री पदबाट उपेन्द्र यादवको राजीनामा मागेको घटना पनि भएको छ । विगतमा एउटा प्रान्तमा मेरा व्यक्तिगत हितैषी मित्र दुई पटक मन्त्री ह्ुनुभयो । तर, एक पटक १९ दिन अर्काे पटक २९ दिन मात्र हुनुभयो । फेरि तेस्रो पटक यस वर्ष २०८१ मा फेरि जेठको पहिलो साता मन्त्री हुनुभएको छ । काम गर्न समय पाउनुहोस् भन्ने हार्दिक शुभकामना छ । 


केन्द्र र प्रान्तहरु सबै ठाउँको राजनीति बेठेगान छ । अब मधेश प्रदेशको प्रान्तीय सरकार परिवर्तन हुँदैछ । दक्षिण कोरिया ५÷६ महिना हिउँले धर्ती ढाक्ने देशमा नामी धेरै महंगा एयरकण्डिशन होटलहरुमा रिभोल्भिङ डोर अर्थात् बाहिरको चिसो भित्र छिर्न नपाओस् भनि कुनै ग्राहक पस्नासाथ वा कुनै अर्काे निस्कनासाथ घुमेर आफै बन्द हुने ढोका देख्दथें । 


तर, हामी नेपाली जनताको राजनीतिक अस्थिरताको अधोगतितिर दुर्भाग्य हामीहरु फुत्त पसेर लुत्त निस्किने मन्त्रीहरु, मुख्यमन्त्री, प्रान्तीय सरकारहरु र केन्द्रीय मन्त्री सरकारहरु पाइरहेका छौं । एउटा विदेशी पत्रकारले लेखका थिए, रिभोल्भिङ डोर–गभर्नेन्स अफ नेपाल । माटो जोडिएको छिमेकी देशहरुमा कार्यपालिका प्रमुख वा सर्वाेच्च शासक प्रधानमन्त्री कोही लगातार १७ वर्ष कोही लगातार ११ वर्ष, दुई प्रधानमन्त्री १० वर्ष रहेको स्थिर सरकारहरु रहेको कारण के हो ? के त्यसको मुख्य कारण हाम्रो निर्वाचन प्रणाली मिस्कट प्रतिनिधिसभा हो ? आफ्नै आँखाले देखेका छौं त हामीहरुले । त्यहाँ छिमेकमा आर्थि उन्नति पनि देखेका छौं । 


अर्काे माटो जोडिएको छिमेकी देश चीनको राजनीतिक स्थिरताको त कुरै नगरौं । जो आज गरिबी र दरिद्रताबाट संसारकै ठूलो आर्थिक महाशक्ति भइसकेको छ । तर, किन हाम्रो देश नेपालमा सँधै अस्थिरता, अन्योल, संवैधानिक संकटग्रस्तता, राजनीतिक अराजकता, आदर्शविहीनता, सर्वत्र भ्रष्टाचार, दण्डहीनता, कानूनको शून्यता, सत्ता लोलुपता, सिद्धान्तविहीन अवसरवादिता छ ? 


२०८० फागुन २१ गते (४ मार्च २०२४) मा प्रधानमन्त्री प्रचण्डले केन्द्रमा कांग्रेसको ठाउँ एमालेसँग समीकरण बनाए । केन्द्रका कांग्रेसी मन्त्रीहरु र प्रान्तका कांग्रेसी मुख्यमन्त्रीहरु पनि अल्पमतमा परे र हटे । के ध्वस्त छैन जब शासन व्यवस्था गर्ने राजनीति नै ध्वस्त छ र विदेशी गुप्त व्यवस्थापनमा चलेको प्रोक्सी वार अन्तर्गत गर्भाधान भएको संविधान छ । जन्मिँदै अपांग, अपाहिज, खोरन्डो संविधान छ । जो घिस्रेर पनि हिड्न चल्न सकिरहेको छैन । यसले देश र जनतालाई के उन्नति, के विकास, के सुशासन दिन सक्ला ? 


यो २०७२ को संविधान देशी विदेशी खेलले ध्वस्त पारिएको २०४७ को संसदीय प्रगतिको कामै नलाग्ने भन्दा नोक्सान गर्ने एकातिर देशभर ठगी, अपराध, भ्रष्टाचार र अधोगति छ भने अर्काेतिर आज हरेक दिन हजारौं बेरोजगार युवायुवती स्वदेश छोडेर विदेशी देशहरुतर्फ पलायन भइरहेका छन् । जगै हाल्न नसकेको आधुनिक आर्थिक विकासको अधोगति छ । सँधै अधोगति दिइरहेको राजनीतिक अवस्था छ । क्रान्तिको नाममा समेत जहाँ विदेशी रचित प्रतिक्रान्ति भएको छ । यसको कारण खोज्ने बेला अबेर भइसकेको छ । मान्छे बस्न लायक नै नभएको खण्डहर पहिले नै ध्वस्त छ । रेट्रोफिटिङसम्म हुन नसक्ने गरी खण्डहर यथावत राख्ने होइन पुनर्निमाण वा नवनिर्माणमा छिट्टै लाग्नु जरुरी छ । (साँघु साप्ताहिक, २०८१ जेठ ७) 
 

प्रतिकृया दिनुहोस