• बुधबार-कार्तिक-२१-२०८१

चुनावको नतिजासँगै राजनीतिमा घन्टी !

 

लोकतन्त्रमा आवधिक, स्वतन्त्र, स्वच्छ र जनसहभागितापूर्ण निर्वाचनले प्रजातान्त्रिक प्रणालीलाई ‘फिल्टर’ गर्ने काम गर्दछ । शरीरमा मुटुले रगत सफा गरेजस्तै निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई छान्ने काम गरिरहेको हुन्छ । निर्वाचन आवश्यक र नियमित विषय भए पनि इलामको उपनिर्वाचनको नतिजाको चर्चाले नेपाली राजनीति तातेको छ । 

 इलाम र बजाङमा भएको चुनावको नतिजा आउँदै गर्दा नेपाली राजनीतिमा कस्तो खालको ‘तानाबाना’ बुनिने हो भन्ने कुराले खतराको घन्टी बज्न थालेको छ । विभिन्न ‘कोटरी’ र गुटमा पाक्ने ‘खिचडी’ ले कस्तो षडयन्त्र र खतराका घन्टी बजाउने हो त्यो चाहिँ स्पष्ट भइसकेको छैन । तथापि सत्ताको ‘डुङ्गा’ फेरि एकपटक हल्लिने पक्कापक्की देखिन्छ ।


विगत केही समय अघिदेखि नेपालमा ‘जान्नेलाई छान्ने’ भन्ने भाष्य बढी चर्चामा आयो, ल्याइयो । कस्तो व्यक्तिलाई ‘जान्ने’ ठान्ने हो भन्ने कुरा आफैँमा विवादित र जटिल कुरा पनि हो । औपचारिक शिक्षा, संस्कार, संस्कृति, योग्यता, क्षमता, दक्षता, ज्ञान, विश्वको अनुभव, विवेक, वुद्धि, लगन, योजना, लक्ष्य, धैर्यता, दृढता, प्रतिबद्धता, सोच, लगाव तथा सार्वजनिक प्रतिबद्धता र जनताप्रतिको समर्पण भएका चम्किला उम्मेदवारको छनोट गर्नुपर्ने अवस्था छ । संसदको प्रमुुख कार्य भनेको कानूनको निर्माण गर्नु, कानूनको सुधार तथा संशोधन गर्नु रहेकोले संसदमा आउने व्यक्तिमा कानून निर्माण र कानूनको चरित्रको ज्ञान हुनु आवश्यक भएको हो ।


सांसद र कानून 


शक्तिपृथकीकरणको विश्वव्यापी मूल्य र मान्यता अनुसार हेर्ने भने राज्यमा तीनवटा निकाय हुन्छन् । संसद, सरकार र अदालत । बेलायती दार्शनिक मन्टेस्क्युले तीन निकायले स्वतन्त्रतापूर्वक काम गर्नु पर्दछ भने ।  विगत केही वर्षदेखि संसदमा विज्ञता, ज्ञान, दक्षता भएका युवा आउनु पर्ने आवाज सर्वत्र उठेको देखिन्छ । त्यसको अर्थ उमेर कान्छो भन्ने होइन, हुँदैन । सक्षम, योग्य र उपयुक्त व्यक्ति आवश्यक छ भन्ने हो । 


संसदले मूलतः कानूनको निर्माण गर्ने, आवश्यकता अनुसार, कानूनको परिमार्जन गर्ने र जनताका मुद्दा तथा मागलाई सशक्तसँग उठाउने, उजागर गरिदिने हो । अर्थात् सारमा संसदमा साँसद भएर जानुको प्रमुख कार्य भनेको विषयगत समितिमा रहेर कानून निर्माणमा सक्रिय र सिर्जनात्मक भूमिका निर्वाह गर्नु नै हो । यसो भएर बढी उपयुक्त पात्र वा उम्मेदवारको छनोट गर्नु आवश्यक छ । यस कारण पनि नेपाली संसदीय राजनीतिमा इलामको चुनावी नतिजाको प्रतीक्षा गरिएको हो । 


असल संस्कृति 


 कुनै पनि चुनाव जे जसरी पनि जित्नुपर्दछ भन्ने भ्रष्ट र संकुचित मान्यता र संस्कृतिबाट नेपाली समाज अहिले पनि ग्रस्त बनेको छ । यस्तो भ्रष्ट, संकुचित र साँघुरो सोच, शैली र व्यवहारलाई पुरै बदल्नु पर्ने खाँचो देखिन्छ । चुनाव जित्नको लागि गरिने भ्रष्ट व्यवहार, गलत अनैतिक हर्कत र संस्कृति तथा कार्य, पद एवम् पैसाको दुरुपयोग, बदमासी, गुन्डागर्दी, जालझेल र खराब संस्कृतिदेखि टाढा हुनु आवश्यक छ । निर्वाचन पाँच वर्षमा आउने एउटा भ्रष्ट र गलत संस्कृति होइन । निर्वाचन जसरी पनि चुनाव जित्ने अपराधीको खेल पनि होइन ।

 

निर्वाचन प्रजातन्त्रको सुन्दर गहना, आवश्यक विधि र आभूषण हो । लोकतन्त्ररुपी शरीरमा रक्तसञ्चार गर्ने माध्यम स्वतन्त्र, स्वच्छ र निश्पक्ष निर्वाचन हो । एउटा चुनावदेखि अर्काे चुनाव मात्र लोकतन्त्र होइन । यही लामो असल संस्कृति र मर्यादा उचो गर्न प्रमुख राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र नागरिकले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्नु आवश्यक छ । प्रतिनिधिसभामा खाली रहेको इलामको एक सीटको उपनिर्वाचनको नतिजाले देशको ध्यान पुरै खिचेको छ । चुनावलाई पैसाको खेती र भ्रमको ढ्वाङ ठान्ने र फट्याइँ तथा स्टन्टबाजी हर्कत गर्न पल्केका एवम् भ्रम छर्न आएका व्यक्तिहरूको कारण लोकतन्त्र बलियो होइन कमजोर बन्न पुगेको अनुभूति गरिँदै आएको छ । पाँच वर्ष अनेकौँ भ्रष्ट कार्य, लुट र तस्करीका गतिविधि गर्ने र चुनावमा मासुभात खुवाएर निर्वाचन जित्ने संस्कृति र संस्कार बदल्न आवश्यक छ । 


 भ्रष्ट संस्कृति र व्यवहारले लोकतन्त्रलाई पुरै ‘विहारी’ लोकतन्त्र बनाउने खतरा छ । विगतमा गरिएका र भएका यस्ता हर्कतले लोकतन्त्र केवल भ्रष्ट चुनावी संस्कार र संस्कृति मात्र हो जस्तो बन्न पुग्यो । लोकतन्त्र नागरिकको आफ्नो प्रणाली हो । नागरिकले अपनाएको असल संस्कृति हो । देश, समाज र जनताको प्रगति र समृद्धिको लागि आवश्यक भएको विधि हो तथा प्रणाली हो भन्ने कुरा सबै दल र उम्मेदवारले अनुभूति गर्नु पर्दछ ।

 

असल संस्कार, सस्कृति, व्यवहार, चरित्र, शिक्षा, ज्ञान, विवेक, वुद्धि र नियत भएका जनप्रतिनिधि वा उम्मेदवारको छनोट अहिलेको आवश्यकता हो । कसैलाई उमेरका हिसाबले मात्र ‘युवा’ भएकोले भोट हाल्ने नभई समग्रताको मूल्याँकनबाट छनोट गर्नु आवश्यक हुन्छ । केवल उमेरमा कान्छो भएर मात्र मुलुक, देश र समाजको लागि योगदान दिन सकिने होइन, हुन्न । उमेर एउटा ‘फ्याक्टर’ मात्र हो । उमेरसँगै उम्मेदवारको असल संस्कार, संस्कृति, शिक्षा, ज्ञान र सोच विचार गर्नु पर्दछ ।


नतिजापछिको घन्टी


२०७९ मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति तरल र अनिश्चितताको भूँमरीबाट अघि बढेको छ । संसदमा कुनै एउटा दलको मात्र होइन कुनै पनि गठबन्धन समूहको बहुमत नभएकोले सत्ता, सरकार र दलीय राजनीति टुकुचाको खसी जस्तो ‘मोलमोलाइ’बाट गुज्रेको देखिन्छ । संसदमा रहेका साना दलहरूको भाउ ‘लगनको सुन’ जस्तै ह्वात्तै बढेको छ । कुन दल, समूह र नेताले कतिबेला कुन समूह वा स्वार्थ समूहमा समर्थन गर्ने वा समर्थन फिर्ता लिने भन्ने कुनै टुङ्गो भएन ।

 

संसदको तेस्रो ठूलो दलले पहिलो र दोस्रो दललाई ‘¥याङ्ग¥याङ्ती’ रिग्याँइरहेको अवस्था छ । चौथो ठूलो दल सत्ताको खेलोफड्कोबाट ‘चार आना लगानीबाट सोह्र आना नाफा’ गर्न सफल भएको छ । लोकप्रिय मतमा पहिलो भएको र संख्यात्मकमा दोस्रो भएको दलभन्दा बढी भाग रविले पाएका छन् । तर, पनि सत्ता र सरकार ढुक्क बन्न सकेको छैन । सत्ता राजनीतिमा खतराका अनेकाँै घन्टी बज्दैछन् ।

 


गृह सम्हालेका रवि स्वयम् सहकारी ठगी सम्बन्धी मुद्दामा यति धेरै प्रत्यक्ष जोडिएका, गाँजिएका र फसेका छन् कि जताबाट जसरी छानबिन गरे पनि रवि चोखिन र उम्किन मुस्किल देखिन्छ । जनताको रगत पसिनाबाट बचत गरेको पैसा शक्ति, पद र राजनीतिक आड एवम् सस्तो लोकप्रियताको फाइदा उठाएर ‘तिमी हामी मिली झ्वाम’ पारौँ भन्ने लुटाहा सोचका कारण नेपालको सहकारी क्षेत्र र आन्दोलन पुरै बद्नाम भयो ।

 

ठग र अपराधीका सहकारी ध्वस्त हुने खतराका घन्टी बज्दैछन् । रवि प्रकरणमा नेपाली काँग्रेसले मुद्दा बनाउनु, माधव कुमार नेपालको समाजवादी नामको पार्टीले गठबन्धन समूहमा ‘पाइलैपिच्छे’ ‘छिर्के’ हान्नु र नेपाल काँग्रेससँग मिलेर सरकारको नेतृत्वमा पुग्ने ध्यानमा मात्र केन्द्रित बन्न खोज्दा नेपाली राजनीति फेरि पनि अनिश्चितताको भूँमरीमा रुमलिएको छ । 


 इलाम र बजाङमा भएको चुनावको नतिजा आउँदै गर्दा नेपाली राजनीतिमा कस्तो खालको ‘तानाबाना’ बुनिने हो भन्ने कुराले खतराको घन्टी बज्न थालेको छ । विभिन्न ‘कोटरी’ र गुटमा पाक्ने ‘खिचडी’ ले कस्तो षडयन्त्र र खतराका घन्टी बजाउने हो त्यो चाहिँ स्पष्ट भइसकेको छैन । तथापि सत्ताको ‘डुङ्गा’ फेरि एकपटक हल्लिने पक्कापक्की देखिन्छ । यस्तो अस्थिरता र अन्योलको वातावरणमा मुुलुक जकडिने भएपछि आर्थिक संकटकै यो घडीमा मुलुक फेरि पनि ‘मध्यावधि निर्वाचन’तर्फ नजाला भन्न सकिन्न ।

 

अर्थात् राजनीतिक अन्योलता, अस्थिरता र सत्ताको लागि भएका मोलमोलाईबाट मुलुक र नेपाली राजनीतिलाई मुक्त गर्ने ‘औषधि’ देश भयंकर आर्थिक संकटमा रहेकै अवस्थामा मध्यावधि निर्वाचन चर्चा चलेको छ । त्यसतर्फ मुलुक जाने खतराका घन्टी टिनटिन गर्दै बज्न थाल्दैछन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस