• सोमबार-बैशाख-२४-२०८१

इलामबाट सुहाङ किन उदाउने ?

 

लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता गाडीको मोबिल जस्तै हो । जसले इन्जिन बिग्रिन दिँदैन । गणतन्त्रको उत्तम विकल्प बढी लोकतन्त्र हो । नागरिकको अपनत्व बढी भएको प्रजातन्त्र हो । पूर्व सभामुख नेम्बाङ जसले इलामको नाम, मान र शीर मात्र उचो राखेनन् लोकतान्त्रिक गणतान्त्रिक नेपालको इतिहासको नक्सा संसदबाट कोरिदिए । इतिहासको त्यो विरासत उनका पुत्र सुहाङले कायम राख्ने देखिन्छ ।


सुहाङ नै किन त ?
 सूर्य ध्वजावाहक सुहाङ नेम्वाङ नयाँ वर्षमा इलामबाट उदाउँदै गरेका चम्किला तारा हुन् । बाबु सुवासको गर्विलो राजनीतिक, सामाजिक र सार्वजनिक जीवनले पूर्ति गर्न बाँकी रहेका खाडल पुर्ने काम सुहाङबाट पूरा हुने अपेक्षा गर्न सकिन्छ । सुहाङ युवा हुन् । उनी केवल उमेरले युवा मात्र होइनन् । सुहाङ औपचारिक शिक्षा, संस्कार, संस्कृति, योग्यता, क्षमता, दक्षता, ज्ञान, विश्वको अनुभव, विवेक, बुद्धि, लगन, योजना, लक्ष्य, धैर्यता, दृढता, प्रतिबद्धता, सोच, लगाव तथा सार्वजनिक प्रतिबद्धता र बुबाको निर्वाचनको क्रममा इलामको घरआँगन पुगेर स्थानीयसँग घुलमिल भएका एवम् पार्टी र जनताप्रतिको समर्पण भएका चम्किला नक्षत्र हुन् ।

 

इलामका स्थानीय एक मतदाताले सार्वजनिक सञ्जालमा दिएको अभिव्यक्ति जस्तै ‘हावाहुरी, हल्लाखल्ला र भ्रम आइरहन्छन्, तर इलामेली जनताले सुहाङलाई जिताउनै पर्ने अवस्था छ ।’ सही हो वास्तवमा इलामेली जनतालाई झुक्याउन, भ्रम छर्न र छिर्के हान्न अनेक प्रकारका छद्मभेदी फटाहा, झुट र टपरटुइँयाहरू खरानी धसेर नयाँ जोगी जस्तै भोटको भीख माग्न हिंडेका देखिन्छन् । जतिनै भ्रम छरिएको भए पनि सुहाङ जस्तो सबै मापदण्ड, नाप र दृष्टिकोणले उपयुक्त उम्मेदवार अर्काे कोही छैन । 


संसदले कानून निर्माण गर्ने
शक्तिपृथकीकरणको विश्वव्यापी मूल्य र मान्यता अनुसार हेर्ने भने राज्यमा तीनवटा निकाय हुन्छन् । संसद, सरकार र अदालत । बेलायती दार्शनिक मन्टेस्क्युले तीन निकायले स्वतन्त्रतापूर्वक काम गर्नु पर्दछ भने ।  विगत केही वर्षदेखि संसदमा विज्ञता, ज्ञान, दक्षता भएका युवा आउनु पर्ने आवाज सर्वत्र उठेको देखिन्छ । त्यसको अर्थ उमेर कान्छो भन्ने होइन, हुँदैन । सक्षम, योग्य र उपयुक्त व्यक्ति आवश्यक छ भन्ने हो । संसदले मूलतः कानुनको निर्माण गर्ने, कानुनको परिमार्जन गर्ने र जनताका मुद्दा तथा मागलाई उजागर गरिदिने हो । अर्थात् संसदमा साँसद भएर जानुको प्रमुख कार्य भनेको कानून निर्माणमा सक्रिय र सिर्जनात्मक भूमिका निर्वाह गर्नु नै हो । यसो भएर सुहाङ अरुभन्दा बढी उपयुक्त पात्र यो कारण पनि हो । कानूनमा स्नातक, वकिल र कानूनको उच्च डिग्री एल.एल.एमको विद्यार्थी भएकोले उनको संसदको इन्ट्री अर्थपूर्ण, स्वभाविक र आवश्यक देखिएको छ ।


सुवासको विरासत
सुवास नेम्वाङ नाम नै काफी छ । २०५६ साल पछिका सबै संसदीय निर्वाचनहरूमा इलामबाट प्रत्यक्ष निर्वाचित भएर आएका नेम्वाङ कुनै पनि कोण, पक्ष र क्षेत्रबाट दाग नलागेका, प्रश्न नउठाइएका नेपाली राजनीतिका ‘हिरा र हिरो’ रहे । इतिहासमा उनले देश, जनता र पार्टीलाई पु¥याएको योगदान कैयौँ शताब्दीसम्म स्मरणयोग्य हुनेछ । नेपाल र नेपाली, प्रजातन्त्र र लोकतन्त्र रहेसम्म त्यो इतिहासको चर्चा हुनेछ । यस्तो विरासत थाम्ने सच्चा अनुयायी पात्र अरुभन्दा उनको रगतको नाता भएको छोरा सुहाङ हुनेमा कुनै शंका रहेन । लोकतन्त्र, प्रजातन्त्र, नागरिक अधिकार, परिवर्तन, शिक्षा, सुविधा, सुरक्षा सहित इलामको नाम देश–विदेशमा राख्ने नेम्वाङले छाडी गएका अपूरा कार्य पूर्ण गर्ने काम सुहाङबाट हुने अपेक्षा गर्न सकिन्छ ।


संस्कृतिको निर्माण
सभामुख नेम्वाङ जसरी पनि चुनाव जित्नुपर्दछ भन्ने भ्रष्ट र संकुचित मान्यता र संस्कृतिबाट पुरै बचेको देखिन्थ्यो । अर्थात् चुनाव जित्नको लागि गरिने भ्रष्ट व्यवहार, गलत संस्कृति र कार्य, पद र पैसाको दुरुपयोग, बद्मासी, गुन्डागर्दी, जालझेल र खराब हर्कतदेखि टाढा हुनुहुन्थ्यो । निर्वाचन पाँच वर्षमा आउने एउटा भ्रष्ट र गलत संस्कृति होइन । निर्वाचन जसरी पनि चुनाव जित्ने अपराधीको खेल पनि होइन । निर्वाचन प्रजातन्त्रको सुन्दर गहना, आवश्यक विधि र आभूषण हो । लोकतन्त्ररुपी शरीरमा रक्तसञ्चार गर्ने माध्यम पनि हो । चुनावदेखि चुनाव मात्र लोकतन्त्र होइन । अर्थात् नेम्वाङ निर्वाचनलाई गलत संस्कृतिको द्योतक होइन असल संस्कार र संस्कृतिको मानक संस्कृति मान्नुहुन्थ्यो । यही मानक कायम गर्न इलाममा फेरि पनि सूर्य आवश्यक भएको हो । यही लामो असल संस्कृति र मर्यादा उचो गर्न यसपाली सुहाङ अनिवार्य भयो । 


भ्रष्ट र फटाहालाई झापड
    प्रतिनिधिसभामा खाली रहेको एक सिटको २०८१ वैशाख १५ गतेको उपनिर्वाचनले देशको ध्यान पुरै खिचेको छ । चुनावलाई पैसाको खेती र भ्रमको ढ्वाङ ठान्ने र फट्याइँ तथा स्टन्टबाजी हर्कत गर्न पल्केका एवम् भ्रम छर्न आएका नयाँ जोगीहरूलाई लोकतन्त्र र असल अभ्यासमा सदा विश्वास गर्ने इलामेली जनताले फेरि पनि छापमार्फत झापड हान्नुपर्ने अवस्था छ । पाँच वर्ष अनेकौँ भ्रष्ट कार्य, लुट र तस्करीका गतिविधि गर्ने र दुई हप्ता मासु, रक्सी र अनेकौँ भ्रम छर्दै मत किन्ने संस्कृतिबाट हुर्केको काँग्रेसीलगायतका दलको संस्कृतिलाई सदाझैँ इलामबाट बहिस्कार गर्नुपर्ने समय आएको छ । 


  पैसाले खरिद गरेको चुनावी टिकट भएपछि उम्मेदवारलाई जनताप्रतिको माया, सम्मान र जिम्मेवारी पटक्कै देखिएन । टिकट किन्ने, खर्च गर्ने, जाँडपानी खाने, खुवाउने र जसरी पनि आफूलाई भोट हलाउने सोच मात्र देखियो । यसले लोकतन्त्र केवल भ्रष्ट चुनावी संस्कार र संस्कृति मात्र हो जस्तो बन्न पुग्यो । लोकतन्त्र नागरिकको आफ्नो प्रणाली हो । नागरिकले अपनाएको असल संस्कृति हो । देश, समाज र जनताको प्रगति र समृद्धिको लागि आवश्यक भएको विधि हो तथा प्रणाली हो भन्ने कुरा काँग्रेसलगायतका दलहरुले बुझ्नै सकेको देखिन्न ।  काँग्रेस बाहेकका अन्य दल र समूहका नाममा आएका उम्मेदवार आफूलाई स्टन्ट देखाउन मात्र आएका जस्ता देखिन्छन् । असल संस्कार, संस्कृति, व्यवहार, चरित्र, शिक्षा, ज्ञान, विवेक, बुद्धि र नियत भएका सुुहाङ नेम्वाङ मात्र देखिए । 


उमेरका हिसाबले कान्छो हुनु मात्र ‘युवा’ हुनु होइन । उमेरमा कान्छो भएर मात्र मुलुक, देश र समाजको लागि योगदान दिन सकिने होइन, हुन्न । उमेर एउटा ‘फ्याक्टर’ मात्र हो । उमेरसँगै असल संस्कार, संस्कृति, शिक्षा, ज्ञान र सोच हुनु पर्दछ । अर्थात् यस खालका सबै दृष्टिले सुहाङ एक नम्बरी पात्र हुन्–इलामको चुनावको लागि । यही भएकाले सुहाङ २०८१ वैशाख १५ गतेको उप निर्वाचनको मतदानबाट इलामबाट उदाउने प्रष्टै देखिन्छ । भ्रष्ट, अनैतिक, अराजनीतिक र स्टन्टवाला प्रवृत्तिलाई परास्त गर्दै झापड हान्ने यो एउटा अर्काे अवसर हुने अवस्था छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ११) 
 

प्रतिकृया दिनुहोस