• सोमबार-बैशाख-२४-२०८१

पति–पत्नीको तमासा र प्रधानमन्त्रीको पजनी !

 

गणतान्त्रिक व्यवस्थामा श्रीमान/श्रीमतीको विचित्रको सत्ता चर्तिकला तमासा ! त्यो दृश्य  रेशम र रञ्जिता राजनीतिको सानो मजेदार तमासा हेर्दैछौं । यो वर्णसंंकर अलोकतान्त्रिक, अर्ध संसदीय, अर्ध संघात्मक, अर्ध एलेक्टोरल डेमोक्रेसीको मुलुकमा । आन्तरिक  राजनीति, विदेश नीति र आर्थिक नीतिहरुमा समेत विदेशी हस्तक्षेप चल्न सक्ने गरी निर्मित मुलुक हरिकंगाल बनाउने दुर्भाग्यपूर्ण संविधानको खेलहरु !


केही समय श्रीमानलाई थुने । श्रीमती पत्नी नेतृ बनिन् । श्रीमानले बनाएको नयाँ राजनीतिक सानो क्षेत्रीय जातीय पार्टीको महहत्वकांक्षा मानवीय सबलता हो कि मानवीय दुर्बलता हो म सोच्न 
सकिरहेको छैन । 


 पृृथ्वीनारायण शाहमा अरु राजाहरुको राज्य आफ्नो राज्य बनाउने महत्वकांक्षा नभएको भए हाम्रो देश आजको नेपालको इतिहास अर्कै रुपको पनि हुन सक्दथ्यो होला । नेपालको हामीसँग सीमाना जोडिएको बृहत् स्वतन्त्र देश बंगाल, जसको अंग आजको बिहार पनि थियो । त्यस स्वतन्त्र देशले सन् १७७७ मा सर्वाेच्च शासक हुनसक्ने महत्वकांक्षा जगाई स्वयं प्रधानसेनापति मिरजाफरको छोरा मिरकासिमद्वारा सर्वाेच्च शासक सिरागुदौलाको हत्या गर्न लगाई ब्रिटिश इस्ट इण्डियाका सात समुन्द्र पारीका धूर्त, चलाख र कुटिल अंग्रेजहरुले भारतमा  आफ्नो साम्राज्यवादी शासनको जग हालेको पनि हामीले देखेकै इतिहास हो । 


आज हामीहरु हाम्रो देशको वर्तमान राजनीतिको तमाशा हेर्दैछौं । जहाँ क्षुद्र व्यक्तिगत महत्वकांक्षाहरु राजनीतिक सत्ता र शक्तिलाई व्यक्तिगत रुपले खाकपतिबाट लखपति, लखपति भएपछि करोडपति हुने र करोडपति भएपछि देश लुटेर अर्बपति हुने कुनै कुकर्म बाँकी नराखे धेरैजसो ठूला र साना दलका नेताहरुको क्षुद्र लाग्ने तर अलिकति गहिरिएर सोच्दा साह्रै बिजोगपूर्ण दुर्दशा लाग्ने राजनीतिक स्थिति छ । 


 यही वि.सं. २०८० कात्तिकमा प्रकाशित आाफ्नो पुस्तक ‘राष्ट्र–परराष्ट्र’ मा डा.भेषबहादुर थापा लेखनुहुन्छ, ‘अब हुँदा हुँदा भारतीयहरुलाई रिझाएर मात्र सत्तामा पुग्न सकिन्छ र टिक्न सकिन्छ भन्ने राजनीतिकर्मीमा उत्पन्न खतरनाक परिस्थिति सिर्जना भएको छ  । यस्तो भावना गहिरिएबाट मुलुकको राष्ट्रियतामै गम्भीर संकटको कालो बादल मडारिएको हो । कि भन्ने डर छ ।’ (पेज २३७/``२३८) । 


त्यस बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बखत ६ वर्ष लगातार भारतको राजधानी नयाँदिल्लीमा डा.भेषबहादुर थापा राजदूत रहँदा भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग थापाले नेपालमा त्यस समय चलिरहेको तथाकथित माओवादी जनयुद्धबारेको संवाद यस्तो छ : ‘माओवादी भनेको तपाईंहरुको उपज हो कि राजाको ? तपाईंहरुले गरेको हो भने राजालाई सिध्याउन, राजाले गरेका हुन् भन्ने दलहरुलाई सिध्याउन । यो स्वस्फूर्त आएको शक्ति होइन.... । इतिहासमा ठूलो देशले सानो देशलाई थिचोमिचो गरेको धेरै उदाहरणहरु छन् । मत स्पष्ट वक्ता तिमीले पनि गरेका हौ भन्ने लाग्यो ।’ (तर भारतीय प्रधानमन्त्री बाजपेयीले डा. थापालाई यो हो या होइन भनि स्पष्ट जवाफ दिएनन्् ।’ (भेषबहादुर थापाको उही पुस्तक)


 हामीहरुले वि.सं. २०६३ मा के देख्यौं भने राजालाई सिध्याउने काम मात्र होइन २४८ वर्ष देखिको राजतन्त्र नै सिद्धियो । त्यसअघि १ जुुन सन् २००१ (वि.सं. २०५८ जेठ १९ गते) शुक्रबार राजा वीरेन्द्रको वंशनाश भएको थियो । वि.सं. २०६२ मा नयाँदिल्ली(रोल्पा वा रुकुम, आफ्नो मातृभूमिमान होइन)मै नेपालका सात राजनीतिक दलहरु र माओवादीहरुबिच १२ बुँदे सम्झौता भएको थियो । त्यसपछि तथाकथित मधेशवादी आन्दोलनको जन्म यी सबैको अदृश्य र अर्धगुप्त र पृष्ठभूमिमा हाम्रो देशमाथि प्रभुत्ववादी आकांक्षा राख्दै आएको छिमेकी ठूलो शक्ति भारतको लुक्न नसकेको भूमिका छ ।


 तथाकथित मधेशवादी नामाकरण गरिएको २०६३ पछिको आन्दोलनको पछाडि वीरगंजमा महावाणिज्दूत भारतीय कन्सुलेट जेनरल रहेका मेहताको भूमिका काठमाडौंबाट प्रकाशित दैनिक र साप्ताहिकहरुमा मौकैमा प्रकाशित समाचारहरु नै साक्षी छन् ।  


The Life in the Shadows मा भारतको विदेशमा गुप्त कर्म कुकर्म सबै गर्ने ‘रअ’का प्रमुख र  पहिले भारतभित्रै गुप्तचरी गर्ने आईबी (इन्टेलिजेन्स ब्यूरो) का निर्देशक डाइरेक्टर रहिसकेका ए.एस.दौलत लेख्दछन्, ‘मधेसवादीहरुलाई सपोर्ट जुन मेरा पालामा नेपालमा भयो, त्योसँग म सहमत थिइन । यो नेपालका मान्छेहरुको मनमा आघात पु¥याउने काम थियो र छ ।’
  यसप्रकार हामी नेपालमै प्रकाशित कुरा पुस्तक, समाचार, तथ्यहरुबाट मात्रै होइन, भारतकै गुप्त जानिफकार पदहरुमा रहेकाहरुले रिटायर भएपछि लेखेका पुस्तक र लेखहरुबाटसमेत जान्न, बुझ्न आज पाउँदैछौ । पुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’ त मुख साबित नै छन् कि उनी भारतीय नागरिक सरदार प्रितम सिंहलाई पटक पटक दिल्ली दौडाएर प्रधानमन्त्री भएका हुन् । 


 शक्तिशाली विदेशी गुप्तचर  र रिमोट कन्ट्रोलले सरकार परिवर्तन, सत्ता परिवर्तन, हिंस्रक आन्दोलनहरु उब्जेका र चलेका समेत देखिन्छन् । अस्थिरता र अन्योलको धमिलो पानीमा विदेशीले माछा मारिरहेका छन् । नेपालका राजनीतिक दलका सत्ता र पदका महालालची नेताहरुलाई मज्जाले खेलाइरहेका छन् । 


 हामीहरु के देख्दैछौं नेपालमा प्रधानमन्त्री पजनी मात्र होइन, छिमेकी शक्ति राष्ट्रका गुप्तचर एजेन्सीहरुले सशस्त्रलगायत कयौं खालका राजनीतिक आन्दोलनसमेत खडा गर्ने र चलाउने काम पनि सजिलै गर्दा रहेछन् भन्ने कुराहरु विदेशीहरुले नै पुष्टि  गरिरहेको पाइन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १०) 
 

प्रतिकृया दिनुहोस