• आइतबार-जेठ-१३-२०८१

एमाले–माओवादीको गठबन्धन कसरी ‘नेचुरल’ ?

 

पार्टी राजनीतिक दृष्टिकोण, विचार, दार्शनिक तथा वैचारिक आधार, वर्गीय पक्षधरता, संगठन र संघर्षको गर्वबाट जन्मिएको हुन्छ, हुनुपर्दछ । दार्शनिक–वैचारिक, सैद्धान्तिक तथा वर्गीय आधार मिलेका राजनीतिक दलहरूको गठबन्धन स्वभाविक भएकोले एमाले–माओवादी गठबन्धन पोलिटिकल–नेचुरल (राजनीतिक–प्राकृतिक) हो ।


राजनीतिक, वैचारिक, सैद्धान्तिक र वर्गीय चरित्र नमिलेको गठबन्धन अप्राकृृतिक (अननेचुरल) हुन्छ । प्रस्तुत आधार र तर्कबाट विश्लेषण गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी (केन्द्र), नेकपा (समाजवादी) सहितको सत्ता गठबन्धन जुन भएको छ–यो नेचुरल हो । विगतमा काँग्रेस–माओवादी सहितको गठबन्धन चाहिँ पूरै अननेचुरल (अप्राकृतिक) थियो । वैचारिक, सैद्धान्तिक र वर्गीय दृष्टिकोणले प्रथम दृष्टि (प्राइमा फेसी) मा राजनीतिक दर्शनका हिसाबले देख्दै ‘छ्या’ भन्ने खालको अप्राकृतिक थियो । त्यस्तो गठबन्धनबाट सत्ता सञ्चालित हुँदा मुलुकको समृद्धि, विकास र प्रगति हुने कल्पना गर्न सकिन्न ।


काँग्रेस बद्नाम !
 काँग्रेस भ्रष्टाचारमा पुरै गन्हाएको दल हो । २०४७ सालदेखि अधिकांश समय सत्ताको गर्दा होस् वा कांग्रेसको एकै व्यक्ति पाँच÷पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाउँदा पनि सुशासन दिने कुरामा चुकेको पार्टी हो । सामाजिक र नैतिकताको दृष्टिकोणले पुरै गिरेको दल हो । आचरण, व्यवहार र कार्यशैलीका दृष्टिले ढलको पानी जस्तो धमिलो संगठन बन्दैछ । यही कारणले हुनुपर्दछ काँग्रेसका कार्यकर्ताहरू समाजमा शीर ठाडो गरेर आँखा जुधाएर आफूलाई काँग्रेस भन्न सक्दैनन् । काँग्रेस भन्न समेत लाज र धक मान्दछन् । विगतको सत्ता गठबन्धन यस्तो हिलोमा जाकिएको थियो । किन कि तिनको वर्गीय दृष्टिकोण नै मिल्दैन । सिद्धान्त र दर्शन नै मिल्दैन । यसर्थ त्यस्तो सत्तास्वार्थ मात्र केन्द्रित भएको भँडुवा र खँचुवा गठबन्धन टिक्नेवाला नै थिएन । मन र स्वभाव नमिल्ने गठबन्धन बनाइएकोले त्यो टिकेन ।


वैचारिक आधार
 राजनीतिक दलको मूल आधार भनेको वैचारक–दार्शनिक आधार र जग हो । एमाले–माओवादी पार्टीको वैचारिक–सैद्धान्तिक आधारको जग एउटै हो । माक्र्सवाद–लेलिनवाद, मजदुर, किसान र आम जनता कम्युनिष्ट पार्टीको मूल आधार हो । गरिब, मजदुर, पिछडावर्ग, महिला र आम नागरिकलाई प्रधानता दिनु कम्युनिष्ट पार्टीको मूल चरित्र हो, हुनुपर्दछ । सिद्धान्ततः एमाले–माओवादीको आधारभूत चरित्र यस अर्थमा मिल्न जान्छ । तसर्थ एमाले–माओवादी, समाजवादी सहितको सत्ता गठबन्धन अनिवार्य भएको हो । विगतको गठबन्धनको सैद्धान्तिक–दार्शनिक, राजनीतिक र सामाजिक दृष्टिकोणमा ठूलो भिन्नता थियो । त्यही भिन्नता र फरकको कारण सत्ताको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रस्थानविन्दु मिल्दै मिलेन । सरकारको प्राथमिकता र दर्शन मिलेन । यही भएर बजेट र आर्थिक प्राथमिकतामा प्रचण्ड र अर्थमन्त्रीकाबीचमा झमेला भइरह्यो । काँग्रस पुँजीवादी, दलाल र नोकरशाहीको पक्षपोषण गर्ने दल हो । जुुन कम्युनिष्टसँग मिल्दैन । यही कारण दर्शन र सिद्धान्तको भिन्नता रह्यो ।


नीति र कार्यक्रम
सरकारको आधारभूत नीति, कार्यक्रम र उद्देश्य हुन्छ, हुनुपर्दछ । न्यूनतम राजनीतिक, आर्थिक र सामाजिक उद्देश्य मिलेन भने सरकार गन्तव्य हराएको यात्री जस्तो बन्न पुग्दछ । निवर्तमान गठबन्धन त्यस्तै थियो, भयो । नीति तथा कार्यक्रमको चरणदेखि नै सरकारको गति, उद्देश्य र लक्ष्य मिल्दै मिलेन । यही कारण सत्ता संचालकहरूको मिलन भएन । नीति र कार्यक्रम नमिले पनि एमालेलाई सक्न र सेक्न मात्र बनाइएको सत्ता गठबन्धनले एमालेलाई सक्न पनि सकेन, सेक्न र छेक्न पनि सकेन । एमाले प्राविधिक दृष्टिकोणले केही सिट कमी भएको भए पनि राजनीतिक वैचारिक र सैद्धान्तिक, साँगठानिक, नैतिक, सामाजिक र व्यवहारिक दृष्टिकोणले सफल रह्यो । जनमत र भोटको दृष्टिले पनि एमालेको सूर्यमा खसेको मत सबैभन्दा बढी र सम्मानयोग्य रह्यो । 


 चौतर्फी घेराबन्दी गरिएको भए पनि एमाले उनीहरूले सोचेको, चाहेको र देखेको जस्तो कमजोर भएन, रहेन र छैन । एमालेले आफ्नो साँगठानिक, वैचारिक र राजनीतिक कार्यक्रम निरन्तर सञ्चालन गरेकोले एमालेमाथि लागेका केही चोट अहिले चाहिँ निको भइसकेको अवस्था छ । विगतमा काँग्रेस सहितको माओवादीको सत्ता गठबन्धन वैचारिक, सैद्धान्तिक र राजनीतिक दृष्टिले अपाङ्ग भएकोले ‘नेचुरल’ गठबन्धनमा फर्किनुको विकल्प थिएन, जुन फर्कियो । नीति र कार्यक्रममा पुरै भिन्नता भएका अननेचुरल गठबन्धन समूह भाँडियो ।


अब नयाँ ‘गियर’
नीति, विचार, सिद्धान्त, दर्शन र उद्देश्य नमिलेका सत्ता गठबन्धन भत्किनु नै थियो, भत्कियो । सिद्धान्तहीन, विचारविहीन र दृष्टिकोणविहीनहरूको समीकरण ध्वस्त भएपछि नयाँ आशा पलाएको छ । विगतको सरकारको नेतृत्वकर्ता र वर्तमान सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्ड नै भए पनि सत्ताको गठबन्धन फेरिएपछि आशा पलाउनु स्वभाविक छ । 


यथास्थितिवादी नेपाली काँग्रेस आम नागरिकको पक्षमा कार्य गर्न चाहन्नथ्यो । उसको सोच, दृष्टिकोण, विचार र सिद्धान्त नै धनी, पुँजीपति र दलालको सहयोगी बन्नु, गर्नु मात्र हो । गरिब, श्रमिक, पिछडावर्ग, महिला, आदिवासीको हित काँग्रेसको नीतिमा नै पर्दैन । यही कारण विगतको सरकार र सत्ताले गति लिन सकेन । 


प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका मन्त्रीहरूको प्राथमिकता, दृष्टि र विचारमा निरन्तर भिन्नता भइरह्यो । नीतिगत दृष्टिको फरकका कारण सरकारले एक नम्बरको गियरबाटमाथि गियर बदल्नै सकेन । एउटै गियरबाट सरकाररुपी गाडी गुडेको कारण गति पुरै मन्द मात्र भयो । अहिले नीतिगत, वैचारिक, ऐतिहासिक, वर्गीय र राजनीतिक दृष्टिकोण मिल्नेहरूबीचमा सत्ता समीकरण भएको कारण अब चाहिँ नयाँ गियरमा गाडी कुँदाउनु पर्ने आवश्यकता छ । उही एउटै गियरमा सरकार गुडाउने हो भने वर्तमान नयाँ सत्ता समीकरणको औचित्य सावित हुँदैन । यसर्थ गियर चेन्ज गर्नु अपरिहार्य भएको हो ।


गणतन्त्र संस्थागत 
लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधानको विकल्प अझ समुन्नत, नागरिक सहभागिता र सामाजिक न्याय सुनिश्चित भएको गणतन्त्र मात्र हो । अब यसलाई समुन्नत, विकास र नागरिकमैत्री बनाएर अगाडि बढाउनु पर्ने खाँचो छँदैछ । यो मुद्दा प्राथमिक मुद्दा हो । संविधानको कार्यान्वयन गर्नु भनेको मौलिक हक, नागरिक अधिकार र सामाजिक न्यायका मुद्दा र विषय पूर्णरूपमा लागु गर्नु हो । यसर्थ गणतन्त्र र लोकतान्त्रिक संविधानको पूरा कार्यान्वयन गर्नु वर्तमान एमाले–माओवादी सहितको  गठबन्धनको आधारभूत कार्य हो । यही विन्दुबाट मुलुकको समृद्धि, विकास, सुशासन, उन्नति, प्रगति, सुरक्षा र नागरिक सरोकारका मुद्दाहरूको सम्बोधन गर्नु पर्दछ ।


मनोवल वृद्धि
अहिलेको मूल समस्या भनेको नागरिकको गिरेको मनोवल उचो गर्नु नै हो । सर्बत्र गिरेको नागरिकको मनोवल यस गठबन्धन सरकारले उठाउन सक्नु आजको चुनौती हो । त्यसैले वर्तमान एमाले–माओवादी लगायतको सत्ता गठबन्धनको प्राथमिकता यसमा हुनुपर्दछ । राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले तात्विक भिन्नता नभएको नेचुरल गठबन्धनबाट नागरिकका आधारभूत आवश्यकताको सम्बोधन हुन सक्ने अपेक्षा गरिएका छन् । नागरिकको सुरक्षा, सुशासन, विकास, राजनीतिक, सामाजिक र आर्थिक समस्याहरूको समाधान गरी गिरेको मनोवल उठाउनु अनिवार्य देखिन्छ । सैद्धान्तिक हिसाबले नेचुरल रहेको सत्ता गठबन्धनबाट नागरिकका आवश्यकताको सम्बोधन हुँदै जाने अपेक्षा गरिएको छ । (साँघु साप्ताहिक, २०८० चैत ५)
 

प्रतिकृया दिनुहोस