• आइतबार-बैशाख-२-२०८१

‘म्यान्डेट थिप्ट’द्वारा प्रणालीमाथि आघात

 

जनमत (म्यान्डेट)को बलमा शासन सञ्चालित हुने प्रणाली लोकतन्त्र हो । गणतन्त्रपछिका शासन–सत्ता हेर्ने हो भने जनमतमाथि चोरी (थिप्ट) हुँदै आयो । ३२ सिटेले शासनको नेतृत्व गर्नु ‘म्यान्डेट थिप्ट’ को नमुना हो । यही कारण प्रणाली अस्थिर–आलोच्य बन्दैछ ।


नैतिकताको संकट
राजनीति र शासनमा नैतिकताको प्रश्न सर्वाधिक महत्वको विषय हो । संविधानवाद र लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक नैतिकतामा क्षति हुन पुग्यो भने प्रणालीप्रतिको नागरिक विस्वास तथा अपनत्व गिर्न पुग्दछ । यही कारण लोकतन्त्रमा उच्च नैतिकताकोव सर्वाधिक महत्व भएको हो । नेपालको संविधान जारी भएपछिका समयमा राजनीतिक नैतिकतामा अनेक प्रश्न उठेका छन् । नागरिक अभिमत एकातर्फ सरकार, सत्ता र राज्यको नेतत्व अर्कातर्फ हुँदा जनतामा प्रणालीप्रतिको विस्वामा धमिरा लाग्दै आएको छ ।

 

जनताको मतको कदर नहुँदा शासन सत्ताप्रति यति धेरै अविस्वास पैदा भयो कि चिहानमा गाडेका राजाका भूत पनि उठेर असम्भव नारा लगाउन थाले । यो हुनुुको पछाडि जनमतको सही र सार्थक प्रतिनिधित्व नहुनु र संसदको तेस्रो ३२ सिटे दलले सत्ताको असफल नेतृत्व गर्नु पनि हो । जनताको मतमाथिको धोका हो यो । २०६३ अघिको संसदको पुनस्र्थापनादेखि नै माओवादीले सत्ताको खेलोफड्को र फट्याइँ गर्दै आयो । उसले जनमतमाथि जहिल्यै धोका दियो । यही कारण नेपाली राजनीतिमा उच्च नैतिकता र जनमतको कदर गर्ने परिपाटी ध्वस्त भएको देखिन्छ ।


अराजनीतिक ‘गठे’को कहर
राजनीति भनेको निश्चित विचार र दृृष्टिकोणबाट अघि बढ्छ । राजनीतिक दृष्टिकोण र विचारशून्य भीड जम्मा गर्न गरिएको गठबन्धनले प्रणाली र मुलुकलाई धोका मात्र दिन्छ । वर्तमान गठबन्धन दिशाहीन, उद्देश्यहीन, गतिहीन, लक्ष्यहीन, गन्तव्यहीन र अर्थहीन सत्तागठजोड मात्र हो । जनताको विश्वास र संगठित शक्ति भएको नेकपा एमालेलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने संकीर्ण उद्देश्य र नीतिबाट मात्र अघि बढेको सत्ता गठबन्धन ‘भ्यागुता, फट्याँङ्ग्रा र गँगटाहरूको गठजोड’ जस्तो महसुस हुन्छ । यस्तो गठजोडले मुलुक बन्दैन भन्ने कुरा एक वर्षमै फेरि पनि प्रमाणित भइसक्यो । सत्ताको लागि जस्तोसुकै हर्कत, सौदा र कर्म गर्दै आएका देउवा र छलवादी  प्रचण्डले मुलुकलाई बर्बाद र ध्वस्त पार्दैछन् । 


 विकास निर्माणको काम ठप्पै भएको छ । नयाँ आयोजना निर्माणको कुरै छोडौँ भएका र केपी ओली सरकारले थालेका आयोजनाको काम पनि कछुवा गतिमा अघि बढेको छ । निर्माण व्यवसायीले सम्पन्न गरी सकेका आयोजना र कार्यको लगभग पचास अर्ब रुपैयाँ भुक्तानी पनि सरकारले गर्न सकेको छैन । सरकारको यस्तो कार्य गैरकानूनी र अन्यायपूर्ण हो । भएको बजेट सत्तामा बस्नेले ‘भुजा, भ्रमण र भत्तामा चट’ पार्ने काम मात्र गरे, गर्दैछन् । यसले जनमतमाथिको लुट भएको प्रष्ट हुन्छ । केवल खानका लागि मात्र गरिएको गठबन्धन अराजनीतिक झुन्ड मात्र हो । जनतालाई यो भन्दा ठूलो धोका के हुन्छ ?


पाकितानबाट शिक्षा
कुशासन, भ्रष्टाचार, विकृति, अराजनीतिक गठजोड र खासमा जनमतको चोरी (म्यान्डेट थिप्ट)को कारण पाकिस्तानी लोकतन्त्र र लोकतान्त्रिक मूल्य ध्वस्त हुँदै गएको छ । पाकिस्तानमा नामको मात्र प्रजातन्त्र रहेको प्रष्ट देखिन्छ । इमरान खानको पार्टीलाई चुनावमा भाग लिनै दिइएन । उसले आफ्ना सदस्यलाई स्वतन्त्र उठाएर नै ९१ सिट जित्यो ।


 तर, सत्ताको लागि त्यसले दलीय हैसियत पाउन सकेन । सरिफ, जर्दारी र अन्य दलको गठजोडबाट सत्ताको गठन र समीकरण निर्माण भएको भए पनि त्यो टिक्ने छाँट देखिन्न । सैनिकतन्त्र र सैन्य नियन्त्रणबाट सञ्चालित प्रजातन्त्रको चक्करले पाकिस्तान ध्वत बन्दै आयो । अहिलेको राजनीतिक अवस्था र जनमतको स्थिति हेर्दा पाकिस्नानमा फेरि सन् २०२५ भित्रै सैन्य शासन आउने पक्का देखिन्छ । भ्रष्टाचार र कुशासनबाट जर्जर भएको पाकिस्तानबाट नेपालले धेरै कुरा सिक्न सक्दछ । लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, स्थिरता र विकास नहुँदा पाकिस्तान ध्वस्त हुँदै गएको छ । नेपाल अहिले नै पाकिस्तानको हालतमा नपुगेको भए पनि जनमत अनुसार राज्य सञ्चालन नहुने हो भने त्यही बाटोमा नजाला भन्न सकिन्न ।


स्टन्टबाजी किन मौलायो ?
नेपाली राजनीतिमा स्टन्टबाज र नौटंकीबाज बढ्दै गएका छन् । राजनीतिलाई एउटा जोक्करको ढाँट र छल सोच्ने प्रवृत्ति बढेका कारण प्रणालीप्रतिको अविश्वास पैदा भएको छ । राजनीतिमा सबै पार्टी, दल र नेता उही एउटै हुुन भन्ने भाष्य, सोच र बुझाइ ह्वात्तै बढेको देखिन्छ । राजनीतिमा राजनीतिक संघर्ष, इतिहास, कार्यक्रम, नीति, विचार, दृष्टिकोण, योजना, संगठन केही पनि नभएका हुर्दुङ्गा र उट्फट्याङ्गहरू चटक र स्टन्टको आडमा नेता भएका छन् । फोस्सामा पाएको सिटबाट उट्फट्याङ्गवाला चार हातमाथि उफ्रेका छन् । यो अर्काे तरिकाको जनमतमाथिको धोका र चोरी हो । परेवाका गुँडमा बसेर चोर कौवाले अन्डा कोरलेको जस्तो भयो । यसले नेपाली राजनीति अविश्वसनीय र हल्का हुँदै गएको  छ ।


कहाँ भयो कमजोरी ?
अराजनीतिक र सिद्धान्तहीन सत्ता गठजोड गर्ने परिपाटीले राजनीतिमा नैतिकताको खडेरी विगतदेखि नै लाउँदै आएको छ । विगतदेखि नै सत्ता र शक्तिको लागि जस्तोसुकै गठबन्धन र समीकण गर्ने शैली, सोच र व्यवहारका कारण राजनीतिप्रतिको अविश्वास बढेको हो । बन्दुकको बलमा आएको माओवादीलाई तत्कालीन संसदमा एमाले बराबर सिट दिनु नै ठूलो भूल र गल्ती भयो । त्यही बेलादेखि प्रचण्डको सत्ता स्वार्थ, महत्वकाँक्षा र घमण्ड बढ्यो । 


जनमत एकातिर सत्ता गठबन्धन अर्कातर्फ गर्दै अघि बढ्दा जनमतमाथि धोका मात्र भयो । अहिले पनि त्यही भएको हो । ३२ सिटेलाई नेतृत्व सुम्पिने कार्य गलत भयो । गठबन्धन नभएको भए माओवादीको एक दर्जन सिट नकट्ने प्रष्टै देखिएको थियो । एमालेको डरले काँग्रेसले आफ्नै खुट्टामा लात हान्यो । गठबन्धको निर्माण भएदेखि नै जनमतमाथि छलछाम गरियो । जनमतलाई पन्छ्याएर गरिएको सत्ता गठबन्धन जनमतको चोरी (म्यान्डेट थिप्ट) हो । यही कारण नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि अनेक खालका काला बादल मडारिएका हुन् । 


 यसले लोकतान्त्रिक गणतन्त्रमा कालो पोकेहरूको उत्पादन बढाउने अवस्था मात्र हुन्छ । गत निर्वाचनमा पनि कालोपोके र ठिमाहाहरूले पनि चुनाव जिते । यसर्थ जनमतको कदर गर्दै शासन सत्ता सञ्चालित गरिनु आवश्यक छ । सत्ता गठबन्धनले जनतालाई धोका बाहेक केही दिएन । यस्तो अराजनीतिक गठबन्धनले देश डुबाउने बाहेक केही गर्न सक्दैन । नेपालमा भइरहेका यस्ता हर्कत ‘म्यान्डेट थिप्ट’ मात्र हुन् । 


यो तरिकाले प्रणाली अस्थिर मात्र बन्ने हुन्छ । यसलाई ‘करेक्शन’ गर्नु पर्दछ । यसबाट मुक्ति पाउन निर्वाचन सम्बन्धी प्रणाली, प्रव्रिmया र शैली बदल्नु आवश्यक छ । फन्टुसे प्रवृत्ति बढेकाले राजनीति र शासन प्रणालीलाई स्थिर बनाउन नैतिकता सहितको सुशासन अत्यावश्यक देखियो । ‘म्यान्डेट थिप्ट’हरूबाट मुलुकलाई जोगाउनु पर्ने देखिन्छ । (साँघु साप्ताहिक, २०८० फागुन १४) 
 

प्रतिकृया दिनुहोस