• आइतबार-बैशाख-२-२०८१

राजनीतिलाई ठट्टा–मजाक ठान्दाको दुर्गति 

 

प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारबाट कुनै हालतमा मुलुक बन्दैन । राजनीतिलाई ठट्टा–मजाक ठान्ने प्रवृत्ति मात्र बढ्दै गएको छ । सहकारीका नाममा नागरिकका बचत लुट्नेहरूको सम्बन्ध राजनीतिका स्टन्टवाज र नयाँ जोगीहरूसँग देखियो । 


राज्य कर मात्र असुल्ने ?
राज्य चौतर्फी कर असुल्छ नागरिकसँग । नागरिकप्रतिको आफ्नो दायित्व चाहिँ ठान्दैन । नागरिकले पाउने सामान्य सेवा र सुविधा पाउन सकेका छैनन् । सवारी लाइसेन्सदेखि पासपोर्टसम्मका दुःख उस्तै छन् । उता नागरिक सहकारीका नाममा दैनिक ठगिनेव्रmम रोकिएको छैन । सहकारी धन्दाका नाममा नागरिक ठगिने काम र प्रवृत्ति नरोकिँदा गाउँ–शहरमा मान्छेको घरबास जाने अवस्था छ । सहकारी र बचत समूहका नाममा ठग्ने ठगहरू आपराधिक सञ्जाल संचालन गरेजस्तो कुनै कुनामा बसेर जनता लुट्दैछन् । सरकार बेचखबर जस्तै छ । एकथरि राजावादीहरू सहकारीबाट ठगिएका नागरिकको संवेदशीलतामाथि खेल्दैछन् ।

 

संंघीय सरकार, सहकारी विभाग, नेपाल राष्ट्र बैँक मात्र होइन संसदका सम्बन्धित समितिहरू समेत चुपचाप बसेका छन् । मुलुक ठग सञ्लालक भएका सहकारीले डुबाउने खतरा बढेको छ । ठूला सहकारी ठगी काण्डमा शक्तिशाली नेता, प्रशासक, प्रहरी र पार्टीका स्थानीय कार्यकर्ताहरूको प्रत्यक्ष संंलग्नता रहेको पुष्टि भइरहेको छ । आफूलाई चोखो भन्दै राजनीतिमा आएका नव जोगीहरू नै सहकारी ठगीमा संलग्न भएको तथ्य बाहिर आएको भए पनि कतिपयमाथि कानूनी कारबाही भएको छैन । नागरिक र बचतकर्तामाथिको योभन्दा ठूलो मजाक के हुन्छ ?


राजनीति ठट्टा
राजनीतिलाई ठट्टा–मजाकको विषय बनाइयो । रमाइलो र जोक गर्दै चिफ पपुल्यारिटीको ठट्टा मजाक ठान्ने र यसैलाई उद्योग वा व्यापार जस्तो बनाएर लुट्न सकिने रहेछ भनेर विना कुनै योगदान राजनीतिमा हाम फालेका नयाँ जोगीहरू सहकारी र अन्य ठगीमा मुछिएका छन् । हुटिल्याँउले आकाश थाम्छु भने जस्तो राजनीति सुधार्ने गफ हाक्ने स्वाँठहरू ठगीको पैसामा चम्केका देखिन्छन् । राजनीतिलाई धमिलो, अमिलो र सस्तो बनाइरहेका छन् । राजनीतिमा निश्चित कार्यव्रmम, नीति, विचार, सिद्धान्त, कार्यदिशा र संरचना आवश्यक हुन्छ । यद्यपि नयाँ जोगीहरू  हाहाहुहुमा ‘आए आँप गए झटारो’ जस्तो सोच र शैलीबाट राजनीतिमा आएका छन् । राजनीति भन्ने कुरा हल्ला गर्ने र ठूला कुरा गर्ने मात्र विषय ठान्ने प्रवृत्ति बढेको छ । 


सहकारी र अन्य पेशाबाट ठगेको पैसालाई तह लगाउन र अपराधबाट छुट पाउने सोचका साथ राजनीतिमा आएका नयाँ जोगीहरूले राजनीतिलाई धमिलो पार्दैछन् । गाउँ, बजारमा नागरिकले आफ्नो रगत पसिना गरी कमाएको पैसा सहकारीका नाममा लुटेराहरूले श्राद्ध खाए जसरी खाँदैछन् । नागरिकलाई मिठो र चिल्ला कुरा तथा सपना बाँडेर रगत चुस्न पल्केका चुसाहाहरूले सहकारीको नाममा लुट्नसम्म लुटे । तिनको घर जग्गा र सम्पत्ति रोक्का गर्नु पर्नेमा सरकार र सम्बन्धित निकाय मौन भइदिँदा ठग, अपराधी र स्टन्टवाजहरूले उल्टो बचतकर्तालाई धम्क्याएर फूर्तिसाथ घुम्दैछन् ।

 

सरकारी निकाय चाहिँ अर्काे निकाय वा कार्यालयलाई देखाएर चोखो बन्ने सोचबाट अघि आएको कारण नागरिक र बचतकर्ता आत्महत्या गर्नु पर्ने ठाउँमा पुग्दैछन् । ठगेको पैसाको बलमा ठगहरू ठाँटसँग राजनीतिका ठूला गफ गर्दै हिंडेका छन् । राजनीति, सत्ता, शक्ति र पदमा भएपछि जुनसुकै अपराध र ठगीधन्दाले छुट पाउने जस्तो सोच, प्रवृत्ति राजनीतिका नाममा बढ्यो । धमिलो पानी भएको अवस्थामा राजावादीहरू चाहिँ चिहानका नलिखुट्टा फुक्ने काम गर्दैछन् । अधिकांंश ठूला सहकारीबाट भएको ठगी धन्दाको खबर आइरहँदा राजावादी केही ठगहरू सहकारीबाट लिएको ऋण मिनाहा हुनुपर्ने भन्दै खाएको तिर्न नपर्ने तर्क पनि गर्दैछन् । 


ठग, ढोँगी र भोगी
नागरिकबाट विभिन्न बाहनामा ठगेको र लुटेको धनबाट फूर्ति लगाएर राजनीति तथा शक्तिमा आएर राजनीतिका नारामा फेरि ठग्न पल्केका ठगहरू नयाँ जागीको भेषमा आएका छन् । ठग, अपराधी, ढोँगी र भुँइफुट्टाहरू सर्वसाधारण नेपालीबाट उठाएको बचत रकम कुम्ल्याएर ठूला कुरा गर्दै बसेका छन् । अर्काको रगत पसिनामा मोज गर्न पल्केका ठगहरू अनेकौँ धन्दाबाट ठगेको पैसा पचाउन र कालो धनलाई सेतो बनाउन राजनीतिलाई नै सेता व्यापार ठान्दैछन् । सहकारी संस्थाको नाममा नागरिकले गाँस काटेर जम्मा गरेको रकमबाट लुटेरा र ढोँगी पजेरोमा हुँइकिँदैछन् । सहकारी ठगीका ठूलाठूला महाकाण्ड मच्चिदा पनि प्रचण्डको महागठबन्धन सरकार कानमा तेल हालेर बसेको छ ।

 

सहकारी प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने हल्का तर्क गर्दै प्रचण्ड सरकार अनुत्तरदायी बनेको देखिन्छ । ठग, ढोँगी र लुटेरा स्टन्टबाजहरू नै अहिले आफूलाई ‘नेता’ घोषित गर्दै अपराध छोप्न खोज्दैछन् । हुटिट्याउँले आकाश थाम्ने कुरा गरे जस्तो स्टन्टबाज, धोकेबाज र ठगहरू पानीमाथिको ओभानो बन्न खोज्दैछन् । राजनीतिमा एक सिन्का नभाँचेका, राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा कुनै पनि योगदान र भूमिका नभएका उट्फट्याँङहरू राजनीतिका नाममा ठूला कुरा गर्दैछन् । चटक देखाएको भरमा नागरिकलाई मूर्ख बनाउँन खोज्दैछन् । आफूलाई नयाँ भन्ने हुटिट्याउँहरू जनतालाई फन्टुस र उल्लु बनाउन अनेक नाटक गर्दैछन् । 


तीन खम्बेमा प्रश्न
राज्यले तीन खब्बे अर्थनीति भनेर खुबै प्रचारमा ल्यायो । सरकारी क्षेत्र, निजी र सहकारी क्षेत्रबाट मुलुक बन्ने भन्ने प्रचारबाजी विगतमा गरियो । नेपालको आर्थिक विकासमा तीन क्षेत्रको समुचित भूमिका हुने भन्दै सहकारीलाई अर्थतन्त्रको मेरुदण्ड हो भन्ने भाषण गरियो । लामो समयदेखि राज्यका तर्फबाट आएका लिखित दस्ताबेजमा सहकारी क्षेत्रको महत्व दर्शाइयो । सहकारीको खास मर्म र अर्थ अनुसार सञ्चालित सहकारीहरूले राम्रै गरेका छन् । सबै सहकारीका संचालक ठग होइनन, छैनन । तर ठूला भनिएका अरबौँ अरब कारोबार गर्ने केही अपराधी ठगहरूका प्रवृत्तिका कारण सम्पूर्ण सहकारी व्यवसाय धरापमा पर्ने खतरा देखियो ।


 गाउँका सोझा नागरिकले खाइनखाइ आफूले कमाएको, खसी बोका बेचेको, कृषि उत्पादन बेचेको वा वृद्ध भत्ता समेत सहकारीमा लगेर राखे । ठग, ढोँगी र अपराधीहरूले त्यस्तो बचत खाइपिइ गरी निजी मोजमस्तीमा सक्काए । यसले गर्दा नागरिक बचतकर्ता कंगाल बन्दैछन् भने ठग र अपराधीहरू चाहिँ ठगेको पैसाको बलमा राजनीति र समाजसेवाको नाममा आफूलाई ठूलो देखाएर चोखो देखाउँदैछन् । त्यस्ता ठग र अपराधीलाई कानुनी कारबाही गर्ने अधिकार भएको सरकार भने कानमा तेल हालेर बसेको छ । अहिले तिनै ठूला ठग र ठगको पैसाको बलमा चम्केका नयाँ जोगीहरू चाहिँ सरकारमा जान खुट्टा उचालेर बसेका छन् । यसले गर्दा नेपाली राजनीति पुरै धमिलो बन्दैछ । सबै उस्तै हुन, सबै चोर हुन, कसैले केही गर्दैनन भन्ने भाष्य र सोच नेपाली समाजमा बढ्दै गएको छ । 


राजनीतिका नाममा अकाशै थाम्ने गुड्डी हाक्ने हुटिट्याँउहरू चाहिँ अपराध कर्मको पैसाको बलमा राजनीतिमा पानी माथिको ओभानो बन्न खोज्दैछन् । विकास निर्माणको सिन्को नभाँचेका प्रचण्ड सत्ता टिकाउन र सत्तामा टिक्न मात्र खोज्दा सहकारीका मात्र होइन अनेक प्रकारका भ्रष्टाचार, ठगी, ढोँगी र अपराधीहरू नै राज्यलाई चुनौती दिँदै हिडेका देखिन्छन् । यसले नेपाली राजनीति भनेको ठट्टा–मजाक गर्ने थलो जस्तो बन्दै जाँदा राज्य दुर्गतितिर गएको छ । नेपालको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि यस्तो प्रवृत्ति घातक हुने र राज्य अरु दुर्गतितर्फ अघि बढ्ने देखिन्छ । (साँघु साप्ताहिक, २०८० माघ २९)
 

प्रतिकृया दिनुहोस