• आइतबार-बैशाख-२-२०८१

राष्ट्रपति पौडेलबाट ‘प्रजातन्त्र सेनानी’ ग्रहणपछिको तर्कना 

 

राजा वीरेन्द्रको ८ फिट अग्लो सालिक गणतन्त्र नेपाल देशका पोखरा निवासीहरुले खडा गरेछन् । राजा वीरेन्द्रले २०४६ को फागुन ७ गतेदेखि प्रारम्भ देशव्यापी आन्दोलनपछि संवैधानिक राजा भई सबै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाद्वारा निर्मित हुने संसदीय प्रजातन्त्रात्मक संविधानको मस्यौदा तयार गरियो । 


उक्त मस्यौदामा ३ वामपन्थी कम्युनिष्ट, ३ संसदीय प्रजातन्त्रवादी विपी कोइराला अनुयायी कांग्रेसी समर्थक कानून व्यवसायीहरु र सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश, महान्यायाधिवक्ता र सरकारी कानुन व्यवसायी, सदस्यसचिव राखी बनाइएको संविधानअन्तर्गत बेलायतका राजारानीझैं संवैधानिक राजा भई बस्न मानेका थिए । 


तर, त्यो संविधान बनेको ४/५ वर्षपछि नै भारतआश्रित र पोषित तथाकथित जनयुद्ध प्रारम्भ भयो । र, १० वर्षपछि नयाँदिल्लीमै भारतीय सरकारको इच्छा बमोजिमको १२ बुँदे सम्झौता भयो । अनि, कस्तो अन्तरिम संविधान २०६३ र कस्तो नेपालको संविधान २०७२ बन्यो ? यसको अनेकौं नमुना र उदाहरणहरुमध्ये एक परिदृश्य बताउने कान्तिपुर दैनिकमा पुस १० गते एक समाचारको शीर्षक थियो ‘डान्सबार चलाउने गुण्डा नाइके लुम्बनीको उद्योगमन्त्री’ भन्ने पत्रकार घनश्याम गौतमको समाचार । 


पुस ६ गते साँझको सस्तो टिकटमा बुद्ध एयरबाट विराटनगर पुग्दा साँझ ५ बजिसकेको थियो । मलाई जाडोको समयमा यात्रा गर्न मन थिएन । विष्णुमाया सामुदायिक भवन, विष्णुमाया पुस्तकालय, पुष्पलाल चोक नामाकारण गर्ने, पुष्पलालको कास्य मूर्ति कलकत्ताबाट निर्माण गरी स्थापना गर्ने मभन्दा धेरै कम उमेरका मेरा हितैषी मित्र समाजसेवी केशवप्रसाद गौतमले मलाई फोन गर्नुभयो र भन्नुभयो, ‘७ गते प्रजातन्त्र सेनानी’ भनि तपाईं, मलाई र अरुलाई सम्मानित गर्ने कार्यक्रम व्यापारीहरुको संस्थाद्वारा आयोजित छ । तपाईं अवश्य आउनुहोला । म आयोजकहरुलाई भनेर तपाईं आउने र फर्किने हवाईजहाजको टिकट पठाइदिन्छु ।’ 


कुनैबेला विद्यार्थी जीवनमा महेन्द्र मोरङ कलेजका फायर ब्राण्ड राष्ट्रवादी वामपन्थी विद्यार्थी नेता विराटनगरको ठूलो समाजसेवी हुनुहुन्छ । म ६ गते साँझ विराटनगर गएँ । ६ र ७ गते दुई रात विराटनगरमा बसें र ८ गते साँझ फेरी काठमाडौं फर्कें । ‘प्रजातन्त्र सेनानी’ गैरसरकारी सम्मान महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ग्रहण गरें । 


राष्ट्रपति रामचन्द्र पौडेल विद्यार्थी नेता रहँदा पक्राउ परी सेन्ट्रल जेलमा रहँदा म टाँसिएको भद्रगोल जेलमा कैद रहेको थिएँ । ९ वर्ष राजा महेन्द्रले थुनामा राखेपछि २०२६ सालमा वीपी कोइराला र गणेशमान सिंहलाई छोडिदिएँ । वीपी कोइराला गणेशमान सिंहलाई लिएर जेलमा रहेका राजबन्दीहरुसँग भेट गर्न आउनुभयो । तर एकपटकमा दुई जनाका दरले मात्र भेटघाट गर्न दिने हुनाले जेलरको कार्यकक्षमा भेट हुने भयो । संयोगले दुई जनाको जोडी दिएकोमा म र रामचन्द्र पौडेल परेका थियौं । 


कुराकानी सकिन लाग्दा वीपी कोइराला मेरो बाजे कृष्णप्रसाद कोइरालाका छोरा र मेरो काका हुँदा मैले भने, ‘सानदाजु, अलिकति पैसा भए दिनुस् न’ । वीपी कोइरालाले भन्नुभयो, ‘जेलमा धेरै खर्च गर्नु हुँदैन ।’ भन्दै २५ रुपैयाँ दिनुभयो । अनि नमागे पनि आफ्नै पार्टीको विद्यार्थी नेता रामचन्द्रलाई पनि २५ रुपैयाँ मेरो बराबर दिनुभयो । कति सस्तो जमाना थियो र रुपैयाँ कति दामी थियो । विद्यार्थी रामचन्द्रलाई २५ रुपैयाँले सिरक र डसना किन्न पुग्यो । सुनको भाउ त्यो समय २९६ रुपैयाँ तोला थियो । 


राजा वीरेन्द्रको पालामा कम्युनिष्ट, कांग्रेससमेत मिलेर बनाएको २०४७ को संविधानअन्तर्गत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषिमन्त्री हुनुभयो । कयौं पटक मन्त्रीपछि प्रतिनिधिसभाको सभामुख हुनुभयो । महाकाली नदी सन्धी राष्ट्रघाती हो भनि सन्धी अनुमोदनको पक्षमा मतदान गर्ने जाली प्राविधिक ह्वीप उल्लघंन गरे । ४० प्रतिशत संसदीय दलका सदस्यहरुले संसदबाटै नयाँ पार्टी गठन गर्न पाउने प्रावधानअन्तर्गत सही सनाखत गर्न लाग्दा फेरी मेरो सभामुखको हैसियतमा रहनुभएका रामचन्द्र पौडेलसँग प्रत्यक्ष संवाद भयो । सहाना प्रधान अध्यक्ष रहने नयाँ पार्टीको पक्षमा सनाखत गरे । 


अहिलेको सरकारी मर्यादाक्रमले राष्ट्रपति रामचन्द्र सर्वाेच्च मर्यादित स्थानमा हुनुहुन्छ । ६ गते एकदिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीहरुको सम्मेलन उद्घाटन गर्ने समारोहमा भने म उपस्थित भईन । तर ७ गते रामचन्द्र पौडेल राष्ट्रपति प्रमुख अतिथि रहेको ‘प्रजातन्त्र सेनानी’ गैर सरकारी सम्मानपत्र ग्रहण गर्न भने उपस्थित रहेँ । जे होस्, ‘प्रजातन्त्र सेनानी’ भन्ने गैरसरकारी सम्मान पाउँदा खुसी लागेको छ । (साँघु साप्ताहिक, २०८० पुस १६) 
 

प्रतिकृया दिनुहोस