काठमाडौं । राजनीतिमा असंभव हुन्न भन्ने चर्चित भनाई छ । खासमा कठोरता, लचकता र परिस्थितिजन्य विश्लेषण र निर्णय क्षमतासँग जोडेर असंभव भन्ने हुँदैन भनिएको हो । तर, नेपालको सन्दर्भमा भने राजनीतिले लाज पचाएपछि असंभव भन्ने नहुने रहेछ जस्तो बनाएका छन् । त्यसैले, खास परिणाम दिन नसक्ने र सधै विवादमा आइरहने व्यक्ति मन्त्री र प्रधानमन्त्रीको दौडमा लागेका हुन्छन् । एउटै व्यक्ति १९औं पटकसम्म मन्त्री भएको उदाहरण पनि छन् । तर, त्यस्ता मन्त्रीको उल्लेख्य काम भने नागरिकले महसुस गर्न पाएका छैनन् ।
सत्ताका लागि जुनसुकै हद पनि पार गर्न सक्ने भएका कारण नेपालमा राजनीतिकर्म र नेताहरु बद्नाम भइरहेका छन् । सरकार बन्न नपाउँदै ढाल्ने र असफल बनाउने खेल हुने गरेको छ । सरकारलाई अस्थिर बनाउने त्यस्ता प्रयासले वास्तवमा भ्रष्टाचारलाई बढावा दिने गर्छ र बिचौलियालाई हावी गराउँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि त्यही हविगतमा रहेको छ । सरकार गठन भएको ६ महिना नपुग्दैदेखि ढल्ने चर्चाले मन्त्री र सांसदहरुको अस्थिर मनोविज्ञान सिर्जना गरेको थियो । त्यस्तो अवस्थामा मन्त्रीहरुले पद रहुञ्जेलमा कमाउनुपर्छ भन्दै आर्थिक अनियमितताको कर्ममा सक्रिय हुने गर्छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुरा गरेको छ । तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डका लागि यो सबैभन्दा लामो कार्यकाल हो, तर उनको सरकार बनेदेखि नै जोखिममा रहेको थियो । एक वर्ष नपुग्दै उनको सरकारको विकल्पमा नयाँ गठबन्धनको प्रयास पनि भएको थियो । एमालेको उक्त प्रयासले सफलता भने पाइसकेको छैन ।
प्रचण्डको विकल्पमा एमालेको तर्फबाट दुई किसिमको प्रयास भएका थिए । एउटा प्रयास एमाले र कांग्रेस मिलेर सरकार चलाउने भन्ने थियो । अर्को, माओवादी बाहिर राखेर सरकार बनाउन सकिन्छ भन्ने प्रयास पनि भएको थियो । त्यो प्रयासमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साथ लिन एमाले अध्यक्ष केपी ओलीले खोजेका थिए । औपचारिक र केही अनौपचारिक छलफल समेत भएका थिए । ती छलफलमा यादवलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेका थिए । त्यसमा यादव विश्वस्त हुन भने सकेका छैनन् । त्यसैले केही महिनाअघि कै यो प्रस्तावले गति लिन सकेको छैन ।
संसदको सानो र राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन कांग्रेस र माओवादीबिच अनौपचारिक सहमति भएका कारण एकीकृत समाजवादीभन्दा ठूलो पार्टीका अध्यक्ष यादव किन प्रधानमन्त्री हुन नसक्ने भन्ने प्रश्न उठेको थियो । त्यही प्रश्नमा ओलीले यादवलाई सहमत गराउने प्रयास गरेका हुन् । त्यसैले, अहिले राजनीतिक वृत्तमा उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रुपमा हेर्न थालिएको छ ।
यादव स्वयम्ले पनि माधव नेपाल हुने हो भने आफू किन नहुने भन्दै सत्ता गठबन्धनभित्र विषय प्रवेश गराइसकेका छन् । यद्यपी, यो विषयलाई उनले मौनतामै जवाफ दिइरहेका छन् । यादवमा नेपालको पहिलो मधेशी मुलको प्रधानमन्त्री हुने सपना भने रहेको छ । उनले निकटहरुलाई त्यो आशय व्यक्त गर्ने गरेका पनि छन् । त्यसैले, प्रचण्डपछि को प्रधानमन्त्री बन्ने भन्ने रस्साकस्सीमा यादव पनि प्रतिस्पर्धामा आउन सक्ने देखिन थालेको हो ।
पुर्वसहमति अनुसार प्रचण्डले एक वर्षपछि माधव नेपालका लागि सरकार छोड्नुपर्ने हुन्छ । कांग्रेस माधव नेपाललाई प्रधानमन्त्री दिन तयार छैन । एक राजनीतिक दलको आकारको आधारमा र अर्को संवैधानिक आधारमा पनि । तर, यादव स्वयम्ले पनि प्रचण्डपछि को प्रधानमन्त्री हुन्छ अहिले भन्न नसकिने बताएका छन् । उनले माधव नेपाल भने हुन नसक्ने आशय व्यक्त पनि गर्ने गरेका छन् ।
राजनीतिको चेस गेममा यादवले चेक लगाईदिन सक्छन् भन्ने विश्लेषण हुन थालेको छ । यद्यपी, यादवले बीबीसीसँगको संवादमा पनि ती प्रश्नलाई अस्वीकार गरेका छन् । तर, प्रचण्ड नेतृत्वको सरकार बढीमा १ वर्ष टिक्ने भन्दै सम्भावित राजनीतिक परिदृश्यको संकेत पनि गरेका छन् । सरकारका कामप्रति खास सन्तुष्ट नदेखिएका यादवले संकेत गरेको बद्लिँदो राजनीतिक परिदृश्यमा उनी प्रमुख खेलाडी बन्न सक्नेछन् ।
त्यसै पनि, एमाले प्रचण्डको विकल्पमा जुनसुकै हतियार प्रयोग गर्न चाहेको छ । त्यस्तो बेलामा यादवको पक्षमा पासा पल्टियो भने आश्चर्य नहुने विश्लेषण भइरहेको छ । एमालेले यादवलाई अगाडि सारेर राजनीतिक खेल खेलेको अवस्थामा प्रचण्डले सत्ता एमालेको हातमा जान नदिन यादवलाई नै अगाडि सार्न पनि सक्छन् । त्यसैले, अहिले जसपा अध्यक्ष उपेन्द्र यादव एमाले र सत्ता गठबन्धनका नेताहरुको वीचमा समदुरीमा रहेका छन् । (साँघु साप्ताहिक, २०८० पुस ९)
प्रतिकृया दिनुहोस