• शनिबार-श्रावण-१२-२०८१

यो देशद्रोह, राष्ट्रद्रोह र भविष्य घात हो 

 

‘एनसेल जनताको हो, बेचन पाइन्न’ डा.मिनेन्द्र रिजाल भन्नुभएको पढें । कुरा शतप्रतिशत सही हो । ठाडै प्रत्यक्ष साक्षत् देशद्रोह र देशको वर्तमान जीर्ण दरिद्र जनता र सन्ततिको भविष्य, राष्ट्रिय स्वार्थ, देशको आर्थिक उन्नतिको विरुद्ध गद्दारी हो । 


देख्दादेख्दै यसको विक्री गर्न नपाइने पूर्व निर्णय कार्यान्वित गर्नेतर्फ नलागी ५÷६ वर्षभित्रै न्यूनतम रु. १ खर्ब ५० अर्बदेखि रु. २ खर्बको मालिक नेपाल देशका जनता हुने देख्दादेख्दै कुनै व्यक्ति वा एनआरएन वा कुनै विदेशी कम्पनीलाई बेच्ने काम नै द्रव्यपिशाचहरुको देशद्रोह र देशको भावी र वर्तमान जनताको भविष्यप्रति गद्दारी हो भन्ने कुरा प्रत्यक्ष छ । 


६ वर्ष अघि नै १ खर्ब ४३ अबं रुपैयाँमा मलेसियाको कम्पनी आजियाटाले किनेको सर्वविदितै छ । आजै त्यसको दाम न्यूनतम पनि १ खर्ब ५० अर्बदेखि रु. २ खर्बभन्दा कम हुँदैन भनि संसारमा सबैभन्दा कम आईक्यू भएको नेपालीले पनि सजिलै बुझ्न सक्छ । यो देशको वर्तमान र भविष्य बर्बाद गर्ने विनाश गर्ने कुकर्म हो । यति सर्वसाधारण जनरल नलेजको साह्रै कमि भएको नेपालीले समेत स्पष्ट देख्दैछन् ।

 

२०८६ मा नेपालीको अर्काे ठूलो अर्बाैं वर्षेनी कमाईरहेको बहुराष्ट्रिय कम्पनी नेपाल टेलिकमको सार्थ अर्काे राष्ट्रिय दूरसंचार प्रणाली हुने वर्षाैं अर्बाैं लाभ हुने निकट भविष्य बर्बाद पार्न देश बेचुवाहरु किन लागिपरेका छन् ? स्वीजरल्याण्ड सरकारद्वारा उसको जनताप्रति उत्तरदायित्व प्रकट गर्दै एउटै कुनै व्यक्तिको नाम प्रकट नगरे पनि कुन देशबाट कति रकम स्वीस बैंकहरुमा जम्मा भयो, त्यो सालसालै सार्वजनिक गर्दछ । पूर्व अर्थमन्त्री र अर्थविद् डा.प्रकाशचन्द्र लोहनीले स्वीजरल्याण्ड सरकारले प्रकाशित गरेको तथ्यांक बमोजिम दिएको विवरणअनुसार सन् २००१ (वि.सं. २०५७ तिर) राणा शासनकालदेखि त्यस समयसमम नेपालीहरु रु. ३ अर्ब ५८ करोड, सन् २०१० (वि.सं. २०६६) मा १२ अर्ब ५५ करोड, सन् २०२० (वि.सं. २०७७) मा ४६ अर्ब ६४ करोड थियो । 


अहिले गुगल सर्च गरेर हेर्दा  स्वीस बैंकमा सन् २०२३ (वि.सं. २०८०) मा रु. ७० अर्ब ७६ करोड ४० लाख पुगिसकेको छ । अर्थात् वि.सं. २०५७ पछि त्यो रकम स्वीस बैंकमा २० (बीस) गुणा जति बढेको देखिन्छ । विदेशबाट बाकसमा लास फर्किने गरिबका छोरा युवाहरु खाडीका देशहरुबाट अनेकौं अमानवीय यातना सहेर आर्जन गरेको धन र तिनै मेहनती गरिबका छोरीहरुले पठाएको रेमिट्यान्स रकमसमेत सत्तामा बसेर लुट्नेहरु आज पनि आफूलाई माओवादी, विपी कोइरालाका सच्चा अनुवाई, समानता र साम्यवादका पुजारी हौं भन्ने कम्युनिष्टलगायत पार्टीका नेताहरुको कालोधन स्वामी, सेठ साहुजस्तै कति रकम पुग्यो स्वीस बैंकमा त्यो वि.सं. २०५७ देखि २०८० को विवरण हो । 


भारतीय आर्थिक दैनिकहरु ‘द बिजनेस टाइम्स’ र ‘द बिजनेस स्ट्याण्डर्ड’ मा सिर्फ एउटा नेताको प्रधानमन्त्री रहँदै उनी र उनको पत्नीको ज्वाईन्ट एकाउन्टमा ५५ लाख अमेरिकी डलर जम्मा भएको समाचार प्रकाशित भएको पुरानो भइसक्यो । उहिले अन्तर्राष्ट्रिय पत्रकारहरुको कन्सोर्टियम अन्तर्राष्ट्रिय समूहले विभिन्न देशमा संकलन गरी प्रकाशित गरेको पनामा पेपर्स, प्याराडाइज पेपर्समा नेपालका केही व्यापारीहरुको नाम छापिएको पनि पुरानो भइसक्यो । तर, यस्ता कुराहरुलाई अदालतहरुले प्रमाण मान्दैन् । किनभने आधिकारिक रुपले कुनै स्वीस बैंक वा अफसोर बैंकहरु चाहे कोस्टारिकाको होस् चाहे भर्जिन आइल्याण्ड, हङकङ, सिंगापुरलगायतले यस्तो एकाउन्ट कहिले आधिकारिक रुपले प्रकट गर्न सरकारले माग्दा पनि दिँदैनन् । 


एनसेलको त सुरु लगानी नै अफसोर बैंक र ट्याक्स हेभनबाट भएको छ । दल र भ्रष्ट नेताहरुका कारण नेपालको आजको पतन चौतर्फी र नग्न छ  । लुकेको र नदेखिएको पनि होइन । शक्तिको लागि विदेशी सरकारको गुलामी कबुल गरी प्रधानमन्त्री, मन्त्री पार्टी प्रमुख नेता हुने, सम्पत्तिका लागि द्रव्यावसायिकता खुला प्रदर्शन गर्दै राष्ट्रघात गर्न कुनै कुकर्म बाँकी नराख्ने नेताहरुबाट शासित भएको छ आज हाम्रो देश । (साँघु साप्ताहिक, २०८० पुस २)
 

प्रतिकृया दिनुहोस