• शनिबार-श्रावण-१२-२०८१

प्रचण्ड सरकार कसको हुकुम पालना गर्दैछ ?

 

रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका पश्चिम नेपाल राजापुर निवासी २३ वर्षका युवा विवेक खत्री हाल युक्रेनमा युद्धबन्दीका रुपमा कष्टकर दिनहरु काट्दैछन् । इजरायलमा पढ्न र काम गर्दै कमाउन गएका गैरसैनिक विपिन जोशी हमासको कब्जानमा रहेर विपत्ति भोग्दैछन् । 


उनलाई बिना शर्त छुटकारा हुनुपर्छ भनि नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटरेसले भन्नुभएको कुरा काठमाडौंका अखबारमा प्रकाशित छन् । स्पष्ट बुझिन्छ रुसको सेनामा नेपाली रहेको छन् र युद्धमा सामेल भएका छन् । अमेरिकन सेनामा पनि नेपाली युवा थुप्रै छन् । रुस र अमेरिका बिचमा शत्रुभाव छ । अमेरिकन वायुसेना समुन्द्री सेना र थल सेनामा कति नेपाली छन् ? केही हजार छन् भन्ने मेरो अनुमान छ । अमेरिकन सेनामा भर्ति भएको नेपालीलाई ६ महिना मै अमेरिकन नागरिकता प्राप्त हुुन्छ भन्ने कुरा पनि सुनेको छु । कति साँचो हो थाहा छैन । 


  १६ वर्ष पहिले म सन् २००६ देखि २०११ सम्म ४ वर्ष दक्षिण कोरियामा राजदूत रहँदा अमेरिकन सेनामा रहेका केही नेपाली युवकहरुसँग बराबर भेट भएको थियो । जो सुदूरपूर्वदेखि सुदूर पश्चिमका थिए । तर, नेपालमै जन्मेका हुँदा उनीहरुसँग चाडवाडमा वा सामाजिक समारोह  मेलजोलमा भेट भइरहन्थ्यो । जो अमेरिकन सैनिक हवाई जहाज उडाउँदथे । दुई पटक ती नेपालमा जन्मेका नेपाली राष्ट्रियताका अमेरिकन सैनिक युवाहरुले मलाई सियोलस्थिति विशाल अमेरिकन सैनिक क्याम्पमा आफ्नो कारमा लगेका पनि थिए ।

 

त्यस विशाल अमेरिकन सैनिक क्याम्पभित्र बस्ने, होलटमा खाने, रेस्टुरा, औषधि पाइने पसल, मार्ट, कार हिड्ने डबल लेन पिच सडकको इत्यादि सबै सुविधा थिए । मैले केही इन्टीअक्सिडेन्टलहरु औषधि त्यहाँका पसलमा किनें । प्रवेश गेटमा सूचनामा देशहरुको लिस्ट थियो । मैल पढ्दा त्यहाँ कुनै अमेरिकन सैनिकले लैजान खोजे पनि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र संसारका कयौं देशमा नागरिकहरु भने छिर्न पाउँदैन थिए । 


तर, म नेपालको नागरिक हुँदा मैले त्यो अंग्रेजीमा लेखिएको सूचना पाटीमा हेरें । नेपाल देशको नाम प्रवेश निषेध वा छिर्न नपाउने वर्जित देशहरुको सूचीमा थिएन । मैले नेपाली राजदूतको हैसियतले होइन, नेपाली नागरिकको हैसियतले नेपाली राष्ट्रियता भएका अमेरिकन सैनिकले लैजाँदा हेर्न घुम्न पाएको थिएँ । 


संसारको कुन देश होला आज बेरोजगार नेपाली नागरिकहरु र नेपाली राष्ट्रियता भएकाहरु पुगेका छैनन् । कयौं देशले त सेना र प्रहरीमा समेत नेपालीहरुको भर्ति खुला राखेका छन् । सिंगापुर प्रहरी, ब्रुनाईको राजा मुल्तानका बडीगार्ड अंगरक्षकलगायत सेनामा, ब्रिटिश आर्मी, भारतीय गोर्खा राइफल्स र अन्य युनिटहरुमा पनि नेपालीले विशवास आर्जन गरेर सेवा गरिरेहका छन् । 

 

एकपटक भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले बु्रनाईका सुल्तानसँगको भेटमा प्रस्ताव गरेछन्, ‘हामीहरु कहाँ पनि गोर्खा छन् । तिनीहरुलाई पनि तपाईंको सेनामा भर्ति दिनुहोस् ।’ पछि के भयो थाहा छैन । 


दुई सय वर्षभन्दा अघि जब रणजित सिंहको समय पंजाब स्वतन्त्र शिख साम्राज्य थियो । नेपालीहरु हिँड्दै उनको राजधानीमा लाहोरमा भर्ति हुन पुग्दथे । त्यहाँबाट बाँचेर कमाएर नेपाल फर्किनेहरुलाई ‘लाहोर’, ‘लाहुरे’ भन्ने शब्द प्रचलित थियो । 


सन् १८१६ मा अंग्रेजहरुले क्वीन एन्नेज ओन गोर्खा राइफल्स खडा गरे । अब त ‘ब्रिटिश लाहुरे’, ‘इन्डियन लाहुरे’ । कहाँ कहाँको लाहुरे भए ? नेपाल सरकारसँग न तथ्यांक छ न कुनै रेकर्ड ?!

 


आजकल, तर एउटा अनौठो सत्य म के देख्दछु भने सेनामा भर्ति भएर मात्र होइन, सिभिलियन वा गैरसैनिक निहत्था कामदार भएर पनि नेपालका नागरिकहरु ज्यानको कुनै प्रवाह नगरी राम्रो कमाई छोटो समयमै हुन्छ भनि युद्ध चलेका देशहरुमा पुगेका छन् । चाहे युद्ध चलिरहेको समयको इराक होस्, अफगानिस्तान होस् अस्थायी सिभिलियन कामदार भएर पुगेका छन् । 


छिमेकी भारतमा आजसम्म स्वतन्त्र भएको सैनिक इतिहासमा सन् १९४७ देखि २०२३ सम्ममा ७६ वर्षमा जम्मा दुईजनालाई फिल्ड मार्सल, पाँचतारे जर्नेल सम्मान दिइएको छ । त्यसमध्ये एक फिल्ड मार्शल साम मानेकश्प गोर्खा राइफलकै क्याडर थिए । उनले आफ्नो गोर्खाली नाम ‘सामबहादुर’ राखेका थिए । 


उनको एउटा भनाई प्रसिद्ध छ :– ‘यदि कुनै मान्छे म मर्नसँग डराउँदिन भन्छ भने कि त त्यो झुट बोल्ने फटाहा हो कि त त्यो साँचो बोल्ने गोर्खा हो ।’ हामी देख्दैछौं कि आज युद्धरत देशमा पनि पेट पाल्नका लागि पुग्दैछन् गैरसैनिक नेपाली युवाहरु । सैनिकहरुलाई त कर छ, पुग्नै पर्ने । तर, नेपालबाट कयौं बेरोजगार युवकहरु किन दोड्दै युद्धस्थल रहेको देशहरुमा जहाँ मारिन पनि सम्भव हुन्छ, त्यहाँ पुग्दैछन् ? किनभने हाम्रो देशका शासकहरुले चाहे राणा शासन होस्, चाहे २००७ देखि २०१५ सम्मको राजा वास्तविक रुपमा (डिफ्याक्टो शासक) थिए, जो प्रधानमन्त्री कसलाई बनाउने भन्ने मनोमानी निर्णय गर्न अन्तरिम शासन  विधान २००७ बमोजिम विशेषाधिकार प्राप्त थिए । 


२०७७ को क्रान्ति पछि पनि अनेकौं नागरिक आन्दोलनहरु पछि विक्रम सम्वत २०१५ को संसदीय प्रजातन्त्र स्थापित भयो र प्रतिनिधिसभाका सबैका सबै प्र्रत्यक्ष जनताद्वारा निर्वाचित र उनीहरुको विश्वास प्राप्त व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था भएको थियो । तर, १८ महिनामै विदेशीहरुको भित्री सामरिक स्वार्थ अनुरुप त्यो प्रथम संसदीय प्रजातान्त्रिक सरकार समाप्त पारियो । त्यसै जननिर्वाचित सरकारको पालामा नेपालको पहिलो विश्वविद्यालय त्रिवि स्थापित भयो । 


कुनै समय श्रीलंकाको प्रतिव्यक्ति आय ९० डलर हुँदा नेपालको ८८ मा २ डलर कम थियो । सन् १९७५ मा सरदर नेपालीको आम्दानी बंगलादेश सरह नै थियो । बंगलादेश १२८ डलर हुँदा सरदर नेपालीको प्रतिव्यक्ति आय ११३ अमेरिकन डलर थियो । तर, आज के छ ? बंगलादेशको प्रतिव्यक्ति आय सरदर नेपालीको भन्दा झण्डै दुई गुणा बढी छ । बंगलादेशको २६२१ डलर छ । नेपालको सरदर प्रतिव्यक्ति आय १३३७ छ । माटो जोडिएको उत्तरी छिमेकी चीनको १२०८१ डलर (बाह्र हजार एकासी) र दक्षिणी माटो जोडिएको भारतको २२१६ डलर प्रतिव्यक्ति आय पुगेको छ । 


यसको कारण यो हो कि अरु देशहरुमा पनि भ्रष्टाचार छ, तर नेपालमा सँधै भ्रष्टाचार छोडी प्रधानमन्त्री सरकारहरुले केही नगरेको दृश्य छ । अरु देशमा आर्थिक क्रान्ति र प्रगति भयो । नेपालमा सँधै भ्रष्टाचारको प्रतिक्रान्ति र अधोगति रह्यो । हाम्रो देशमा आर्थिक अधोगति मात्र होइन, राजनीति अधिपतन पनि झन् झन् हुँदै गयो । जनताको मत नचाहिँने, तर करोडको थैली भेटपछि सांसद पद किन्न पाइने भयो । विदेशीहरुको गुप्त चलखेलमा प्रधानमन्त्रीहरुको पजनी चल्न थाल्यो र आज पनि चलिरहेको छ ।

 
२०८० साल कात्तिक १२ गतेको नागरिक दैनिकमा रत्न संसार श्रेष्ठको लेखमाझ एक पंक्ति बडो स्पष्ट रुपले लेखिएको पढ्न पुगें र बुझें–‘विद्युत विधेयक छिमेकीको स्वार्थपूर्ति गर्ने उद्देश्यले बनाइएको हो’ हामी नेपाली जनता पनि सोधौं, आवाज उठाऔं– नेपाल देश, जनता र राष्ट्रिय हितमाथि कुठाराघात गर्ने विधेयक किन ल्याइएको छ र कसको हुकुम पालन गर्दै ल्याइएको छ प्रचण्ड सरकार ? 


अरु देशहरुको सरकार र नेताहरुले कम से कम जानीजानी आफ्नो राष्ट्रको अहित गर्ने काम गर्दैनन् । तर, हाम्रो देशको राजनीतिक अधोपतन र विदेशी प्रभाव यसरी बढेको छ कि विदेशीको स्वार्थ पूरा गर्ने र राष्ट्रप्रति गद्दारी गर्न उद्दत हुने रहस्य के हो ? नेताजीहरु हो † यसको कारण के हो ? हिम्मत भए जवाफ देऊ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)
 

प्रतिकृया दिनुहोस