• शनिबार-श्रावण-१२-२०८१

‘इन्डिया’विरूद्ध भारत आफैं मैदानमा !

 

कसैले आफ्नै छायाँसँग कुस्ती खेल्ने उपक्रम गरिराखेको देख्नुभयो भने के सोच्नु हुनेछ ? भुइँमा देखिएको आफ्नै छायाँलाई समाउन आफैं माटोमा लड्नु पर्छ । तैपनि छायाँ समातिँदैन । त्यो ठोस वस्तु होइन । यति नजानेको मान्छेलाई या त मानसिक स्वास्थ्य ठिक नभएको हो भन्नेठान्नुपर्छ तर त्यो मान्छे विक्षिप्त होइन भने कुनै कारण हेर्नेहरुको आँखा र ध्यान आफूतिर तान्न खोजेको बुझ्नुपर्छ । 


केही महिना पछि भारतमा साधारण वा सरल बहुमत (फस्र्ट पास्ट द पोस्ट) निर्वाचन व्यवस्था बमोजिम सबैका सबै ५४३ लोकसभा निर्वाचन क्ष्ँेत्रहरुको निर्वाचन हुँदैछ । यो वि.सं. २०८० भित्रै सम्पन्न हुनेछ । त्यहाँ हालको नेपालको आम निर्वाचनजस्तो मिस्कट निर्वाचन प्रणाली कहिले रहेन र आज पनि छैन । नेपालमा ६० प्रतिशत मात्र जनताद्वारा प्रत्यक्ष निर्वाचन र ४० प्रतिशत नेताहरुको कृपा, चाकडी वा घुस थैली दिई तथाकथित समानुपातिक समावेशी सूचीमा पार्टी जनताको माझ प्रतिस्पर्धा नै नगरी प्रतिनिधिसभाको सभासद् बन्न पाइने व्यवस्था छ । 

 


भारतमा आसन्न यस्तो लोकसभाको निर्वाचनको तयारीमा भारतीय राष्ट्रिय कांग्रेस (नेता राहुल गान्धी) बिहारका नितिशकुमार, लालु यादव, उत्तर प्रदेशका समाजवादी नेता अखिलेश यादव, बंगालकी ममता बनर्जी, (तृण मूल कांग्रेस) तमिलनाडुका मुख्यमन्त्री एम.के.स्टालिनसहित २८ पार्टीको चुनावी फ्रन्ट बनिसकेको छ । यस चुनावी मोर्चाको नाम ‘इन्डिया’ राखिएको छ । यो इन्डियाको ‘आई’, नेशनलको ‘एन’, डेभलपमेन्टको ‘डी’, इन्क्लुसिभको ‘आई’ र एलायन्सको ‘ए’ को पहिलो अंग्रेजी अक्ष्ँरहरु मिलाई बनाइएको छ । 

 


‘इन्डिया’ नाम राखिएको २८ विरोधी पार्टीहरुको एक मोर्चा बनेपछि भाजपा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अति आत्तिएका छन् । उनलाई देशको नाम इन्डिया हटाएर बदलिएर ‘भारत’ घोषित गर्ने हडबडी भइसकेको छ । 

 


तर, संविधान संशोधन नभईकन देशको नाम प्रधानमन्त्रीले आफूखुसी गर्न मिल्दैन र त्यो असंवैधानिक पनि हुनेछ । हाल भारतमा विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका २० वटा देशहरुको जी–ट्वेन्टी नाम भएको शीर्षस्थ नेताहरुको बैठकमा भाग लिन पुगेका व्यक्तिहरुलाई र अरुहरुलाई रात्रिभोजका लागि दिइएको निमन्त्रणा अंग्रेजीमा राष्ट्रपति द्रौपदी मुर्मुले आफ्नो हस्ताक्षरको तल प्रेसिडेन्ट अफ इन्डिया नलेखेर प्रेसिडेन्ट अफ भारत भनि लेखिएको छ । विदेशी वा स्वदेशी कुनै व्यक्तिलाई अंग्रेजीमा दिइएको निम्तोमा यस अघि सँधै भारतका सबै राष्ट्रपतिहरुले आफ्नो सहीको मुनि प्रेसिडेन्ट अफ इन्डिया लेख्दै आएका थिए ।

 

 
‘इन्डिया’ चुनावी मोर्चा र नरेन्द्र मोदीको भाजपा दुबैबाट अलग रहेकी तर चुनाव लडिरहेकी बहुजन समाजवादी पार्टीकी नेता मायावतीले ‘इन्डिया’ नामको चुनावी मोर्चा देशको नाम ‘इन्डिया’सँग मिल्ने हुँदा त्यो प्रयोग हुन नपाओस् भनि सुप्रिम कोर्ट अफ इन्डियामा रिट दायर गरेकी छिन्, हेरौं आगामी भारतीय आम निर्वाचन अघि के के राजनीतिक तमासाहरु हुँदै जानेछन् । 

 


केही दिन पछि यही २०८० असोज १ गतेदेखि ५ गते (१८ देखि २२ सेप्टेम्बर) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदको विशेष सत्र बोलाउन लगाएका छन् । नरेन्द्र मोदीले पहिले नै हल्ला चलाएका थिए । 

 


नरेन्द्र मोदी के चाहन्छन् ?
(१) एक देश एक निर्वाचन (वन नेसन वन एलेक्सन) चाहन्छन् । जसमा केन्द्रीय लोकसभा र सबै प्रान्तीय विधानसभाहरुको एक साथ निर्वाचन होस् । 


(२) इन्डिया नामको साटो ‘भारत’ नाम मात्र होस् । 


(३) चुनाव आयुक्तको नियुक्तिमा ‘चिफ जस्टिस अफ इन्डिया’को भूमिका समाप्त होस् । तर, भारतीय विश्लेषक अध्ययनकर्ता र कयौं संचारकर्मीहरु यी तीनवटै कुरा नरेन्द्र मोदीका लागि साह्रै कठिन हुने दावी गर्छन् । सम्पूर्ण देशमा लोकसभा र सबै प्रान्तीय एसेम्बलीहरुको निर्वाचन एक साथ सम्भव छैन । सर्वप्रथम ‘भारत’शब्द मात्र प्रयोग गर्न संविधानको कठिन संशोधन पास गर्नैपर्छ । 


केही भारतीय पत्रकार र टेलिभिजन प्रस्तोताहरुले आगामी भारतीय आम निर्वाचनको लागि कुनै अरु तात्विक विषय नपाउँदा यो ‘इन्डिया’विरुद्ध ‘भारत’को काल्पनिक चुनावी स्टन्ट खडा गर्न खोजेका थिए । जो एकैदिनमा केही नभई फुस्सा हुँदैछ । धेरै भारतीय विश्लेषकहरु भन्छन् कि आगामी २०२४ को भारतीय आमचुनाव इन्डियन नेशनल कांग्रेसवाला चुनावी मोर्चा ‘इन्डिया’ले भारतीय जनता पार्टीलाई सत्ताबाट तल झारिदिने छ । (साँघु साप्ताहिक, २०८० भदौ २५)

प्रतिकृया दिनुहोस