• शनिबार-श्रावण-१२-२०८१

पुँजीवादी दलालीतन्त्र किन मौलायो ?

 

विश्वव्यवस्थामा आएको परिवर्तन र एकल धु्रवीय विश्वका कारण विश्वमा पश्चिमा विचारधारा, विचार र प्रणालीको एकछत्र प्रभाव देखिन्छ । पुँजीवादी विश्वव्यवस्था सीमित पुँजीपति–दलाल र बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा रहेकोले श्रमिक, मजदुर र आम नागरिक चौतर्फी शोषणमा पर्दैछन् । ढोँगी प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालमा पनि दलालीतन्त्र बढी मौलाउँदै गएको प्रस्ट देखिन्छ ।

 

यस्तो पुँजीवादी विश्व व्यवस्था र राजनीतिक, आर्थिक तथा साँस्कृतिक प्रणालीका कारण विश्वमा केही सय मानिसको सम्पत्ति विश्वका सात अरब जनताको बराबर भन्दा पनि बढी भएको देखिन्छ । नेपालमा पनि आर्थिक संकट वृद्धि हुदै गए पनि उद्योगी विनोद चौधरीको सम्पत्ति चाहिँ बढ्दै गएको देखिन्छ ।

 

आफू धनी हुने मात्र सोच्ने तरिकाको विकास र विस्तारले व्यापकता पाएको कारण समाजवादी र सार्वजनिक हित तथा मानवीय मूल्य भन्ने कुरा हराएको छ । सन् १९८९ मा सोभियत संघ ढलेसँगै समाजवादी विचारधारामा संकट आएको कारण पनि पुँजीवादी विचारधारा र मान्यताले विश्वमा बढी स्थान पाएको हो । पुँजीवादी विश्व व्यवस्थाको कारण विश्व बजारमा मानिस विक्रीको साधन भएका छन् । 


दलाली व्यवस्था 


दास प्रथा र कमारा–कमारी प्रथा र व्यवस्थालाई विश्वव्यापी रूपमा गैरकानूनी भनिएको भए पनि बहुराष्ट्रिय कम्पनी तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ठेकेदार र दलाल कम्पनीहरूमार्फत श्रमिक तथा नोकरहरू बिक्री गर्ने गरिएका छन् । वैदेशिक वा आन्तरिक रोजगारीको नाममा यसरी मानवीय र श्रमशक्तिलाई ठेक्का र दलाली प्रथाबाट सञ्चालित गर्ने तरिकाले मानिसहरू बाँधा मजदुर जस्ता भएका छन् र गरिएका छन् ।

 

ज्याला, सुविधा, सेवा, सामाजिक सुरक्षा, सहुलियत, पेन्सन, सुरक्षा जस्ता कुरा अब किताबमा मात्र पाइने कुुरा र विषय भएका छन् र बनाइएका छन् । निश्चित करार र ठेकेदारी वा दलाली वा बिचमा बसी श्रम उपलब्ध गराउने एजेन्ट मार्फत नै सबै काम हुने भएकोले सिधै मालिक वा उद्योगी वा पुँजीपतिसँग श्रमिकले केही पनि माग्न वा भन्न वा मोलमोलाई गर्न नसक्ने विधि र तरिका अपनाइएका देखिन्छन् । यसरी र यो तरिकाले श्रमिक बजारबाट खरिद गर्ने र उद्योग–व्यापार सञ्चालन गर्ने विधि र व्यवहारले गर्दा विश्व बजारमा श्रमिक र सामान्य मानिसको दैनिकी थप कष्टकर बन्दै गएका छन् । 

 


मान्छे कि खसीबोका ?


सरकार र राज्यले कुनै पनि क्षेत्र र सेवामा प्रत्यक्ष लगानी र व्यवस्थापन नगर्ने र आम नागरिक तथा श्रमिकसँग सम्पर्क नै नगर्ने विश्व पुँजीवादी प्रणालीका कारण मानिस र श्रमिकहरू टुकुचामा जोखेर खसी–बोका बिक्री गरे जस्तो गरी बिक्री भइरहेका छन् । यस्तो प्रणालीको कारण हाम्रो राजनीतिक प्रणाली, संवैधानिक प्रबन्ध, राजनीतिक र सामाजिक विचारधारा, समाजवाद उन्मूख संविधान, श्रमिक र मजदुर केन्द्रित राजनीति जस्ता अवधारणा र मान्यता पुँजीवादी विश्वव्यवस्था र प्रणालीको छायाँमा परेका छन् र थप पर्दैछन् ।

 

हाम्रा राजनीतिक दर्शन, मूल्य, विचार, सिद्धान्त तथा संवैधानिक व्यवस्था केवल काला र अमूर्त अक्षरले भरिने पुस्तकका पाना मात्र भएका छन् । यस्तो स्थितिमा समाजवादी प्रणाली, सामाजिक न्याय, समानता, उत्पादनमा सामुहिकता, योजना र आय वितरणमा प्रत्येक नागरिकको भूमिका र सहभागिता जस्ता समाजवादी अर्थतन्त्र र अर्थव्यवस्थाका मूल्य र मान्यताहरू ध्वस्त बनाइएका छन् र बनाईँदैछन् ।

 

नागरिक हित तथा जनताको लागि गरिने राजनीति र दर्शनमाथि नै यस्तो खाले विश्व व्यवस्था तथा प्रणालीका कारण गम्भीर सवाल खडा भएका छन् । नेपाल जस्तो भर्खर संघीय गणतन्त्र लागु गरी अघिबढीरहेको मुलुक र राजनीतिक प्रणालीले यस्ता समस्याबाट पाठ सिक्दै सचेत बन्नुपर्ने अवस्था देखिन्छ ।

 


पुँजीवाद र समस्या


विश्वको भूराजनीतिमा सन् १९८९ मा तत्कालिन सोभियत संघको विघटन भई विश्व कम्युनिष्ट प्रणालीले ऐतिहासिक धक्का खाएपछि विश्व एकलधु्रवीय पुँजीवादी प्रणालीमा रहेको छ । सोभियत संघको पतनसँगै तत्कालिन सोभियत समूह (वार्सा सन्धि संगठन) समेत विघटन गरिएपछि समाजवादी सत्ता र आन्दोलनमा नै ठूलो धक्का पर्न पुगेको थियो । समाजवादी विचारधारामा आएको संकटबाट भूराजनीतिमा एकल धु्रवीय पुँजीवादी प्रणाली थप बलियो र प्रभावकारी हुँदै आएको छ । तर पुँजीवादी विश्व व्यवस्थामा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य समस्या र विश्वव्यापी एवम् संकटहरू आएका छन्, आउँदैछन् । 

 


 पुँजीवादी विश्व व्यवस्थाले धन कमाउने र पैसा बटुल्ने बाहेक केही नसोच्ने भएकोले जसरी पनि वस्तु तथा सेवाको विस्तार गरी व्यक्ति, संस्था र समूहहरू धनी हुने दौडमा लाग्दा सामाजिक समानता, न्याय, आय र पुँजीको समानुपातिक वितरण र व्यवस्था, समान अवसर तथा अधिकार, पछि परेका र पारिएका मानिसको हित र स्वार्थको रक्षा तथा सुरक्षा जस्ताा आधारभूत मानवीय पक्षमा ध्यान दिन नसक्नुले विश्वव्यापी असंतुष्टी र भिभेद बढीरहेको छ ।

 

जसको कारण विश्वमा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, साँस्कृतिक, आर्थिक समस्या र द्वन्द्वहरू भइआएका छन् । जस्तोसुकै मानवीय संकट र समस्यामा पनि त्यसबाट पैसा र धन कमाउन पल्केका पुँजीपति र उद्योगी तथा विश्वव्यापी सञ्जाल बनाएर बसेका कर्पाेरेशन र व्यापारिक कम्पनीहरूले जुकाले मानिसको रगत चुसे जसरी मानिस वा उनीहरूको भाषामा ‘बजार’लाई चुस्दै आएका छन् । विश्वमा आएका विभिन्न संकटमा आफ्नो व्यापारिक भविश्य देख्ने परिपाटी र सोच विकास भएका छन् । 

 


 यो पुँजीवादी विश्व र बजारीकरणको कारण आएका धारणा र मान्यता हुन् । विगतमा कोरोना भाइरस (कोभिड–१९) मा समेत ठूला औषधि उत्पादक, खाद्य उत्पादन, साबुन र अन्य औषधि उत्पादक लगायतका विभिन्न प्रकारका विश्व सञ्जाल भएका र बनाएका कम्पनीहरूले थप लुट्न सकिने हतियार र अवसरका रूपमा बुझ्दा विश्वव्यापी समस्या वृद्धि भएको थियो । सन् २०२२ फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैन्य हमला गर्दा हजारौँको मृत्यु र एक करोड देश छाड्न बाध्य भएका छन् । पुँजीवादी विश्व व्यवस्थामा आएको शक्तिको होडबाजीका कारण मानवीय संकत बढ्दैछन् । 

 


पश्चिमा प्रणालीको प्रभाव


अमेरिका र युरोपमा विकास भएको र तिनीहरूले विकास गरेको राजनीतिक दर्शन, मान्यता, विचार, धारणा, विधि, तरिका, व्यवहार, प्रणाली, मूल्य, दर्शन तथा व्यवस्थाको समूहगत र समुच्च नाम र पदावली नै पश्चिमी पुँजीवादी प्रणाली र विश्वव्यवस्था हो । जसमा व्यक्तिगत स्वतन्त्रता र अधिकारको नारा र नाममा वा मान्यतामा व्यक्ति, समूह, कम्पनी वा जुनसुकै प्रकारको व्यक्तिले आफ्नो हितको लागि उनीहरूले व्याख्या गरे बमोजिमको कार्य गरी आफू धनी बन्ने वा लाभ पाउने वा आफ्ना निजी हितको सुरक्षा र रक्षा गरी अघि बढ्ने पूर्ण स्वतन्त्रता हुन्छ र रहन्छ भन्यो । 


यस्तो पुँजीवादी विश्व व्यवस्था र राजनीतिक, आर्थिक तथा साँस्कृतिक प्रणालीका कारण विश्वमा केही सय मानिसको सम्पत्ति विश्वका सात अरब जनताको बराबर भन्दा पनि बढी भएको देखिन्छ । नेपालमा पनि आर्थिक संकट वृद्धि हुदै गए पनि उद्योगी विनोद चौधरीको सम्पत्ति चाहिँ बढ्दै गएको देखिन्छ ।

 

समाजवादी र सामाजिक न्यायमा आधारिक प्रणालीको लागि यस्ता विधि चुनौती हु्न् । अर्काेतर्फ त्यस्ता पुँजीवादी र उद्योगी वा व्यवसायी कम्पनीको हातमा विश्वको भूराजनीति र अर्थराजनीतिको सम्पूर्ण सम्यन्त्रको साँचो र चावी रहेको छ । पुँजीवादी कम्पनीले चाहेको शासन, प्रणाली वा व्यवस्था मात्र विश्वमा टिक्ने खतरा छ । 


कतिपय सन्दर्भमा हेर्दा चीनको समाजवादी गणतन्त्र पनि पश्चिमा र विश्वका ठूला कम्पनीको हितमै चलेको छ । चीनसँग वा चीनमा उनीहरूको  व्यापार छ र व्यापारिक सम्बन्ध रहेको छ वा बजार छ आदि कारणले मात्र उनीहरू त्यहाँको समाजवादी प्रणालीलाई चुपचाप सहेर बसेका छन् वा स्वीकारेका छन् वा कम महत्व दिएका छन् । पुँजीवादी प्रणाली र विश्व व्यवस्थाले व्यापार र आफ्नो नाफा सिवाह केही हेर्न र सोच्न सक्दैन र सकेन । उनीहरूले मानवीय संवेदनशीलता नै गुमाई सकेका छन् । जहाँसुकै र जस्तो सुकै ठूला मानवीय संकट र समस्या हुन् वा भइरहुन कुनै मतलवको विषय भएन । 


 त्यहाँ व्यापार, बजार र नाफा छ भने केही थोरै संवेदना देखाउने नत्र पूरै वेवास्ता गरी दिने पुँजीवादी सोच र चिन्तनका कारण नेपाल जस्ता मुलुकहरूमा समेत विभिन्न सामाजिक र  मानवीय समस्याहरू आइरहेका छन् । क्रान्तिबाट आएको भन्ने गरेका प्रचण्ड सत्तामा आएपछि नेपालमा पुँजीवादी दलालहरूका गतिविधि वृद्धि भइरहेको प्रत्यक्ष प्रमाण सुन काण्ड जस्ता काण्डले चरितार्थ गर्दैछन् । 

प्रतिकृया दिनुहोस