• शनिबार-श्रावण-१२-२०८१

एमाले काट्न प्रायोजित पाँच करौंती !

 

सरकार बाहिर भए पनि राज्य सत्ताका अनेकौं क्षेत्र र संस्थामा एमालेको पकड बलियो छ । देश–विदेशमा एमालेका अनेकौँ संगठन र संस्थाहरू क्रियाशील छन् । राजनीतिक–सामाजिक मुद्दाको उठान, पार्टीको संगठन, व्यवस्थापन र वैचारिक दृष्टिकोणमा एमाले मुलुकको सर्वाधिक सक्षम पार्टी हो भन्ने कुरा धेरै पटक प्रमाणित हुँदैआयो, भइरहेको छ ।


 यही कारण उसको विरोध पनि त्यही गतिमा हुने गरेको छ । माम्र्सवादी, लेलिनवादी र जनवादी दृष्टिकोण राख्ने एमालेको संगठन परिचालन र राजनीतिक शक्तिलाई काट्नका लागि विभिन्न प्रकारका प्रायोजित–निर्देशित करौँतीहरू क्रियाशील देखिन्छन् । यहाँ पाँच खालका त्यस्ता केही करौँतीहरूको चर्चा गरिएको छ ।

 
करौँती एक : 
एकथरि करौँतीहरू भन्दैछन्–‘एमाले अब कम्युनिस्ट नै रहेन ।’ उसका नीति, विचार, सिद्धान्त, दर्शन र व्यवहार कम्युनिस्टको जस्ता छैनन् ।’ उनीहरूको तर्कमा–‘एमाले कम्युनिस्ट विचारधारा, सिद्धान्त र दर्शनबाट पूरै च्यूत भइसक्यो । अब उसबाट राजनीतिक–सामाजिक परिवर्तन र अग्रगमन सम्भवै छैन ।’ यस खालको आरोप लगाउने धारमा मूलतः नेकपा माओवादी निकटका र उग्र खालका खुद्रे कम्युनिस्टहरू देखिन्छन् । आफूलाई खाटी अर्थमा वामपन्थी भन्नेहरू, वाम बुद्धिजीवी भन्नेहरू, जनविरोधी लेखक तथा स्वघोषित विश्लेषकहरू रहेका छन् । अर्काथरि काँग्रेसीहरूले समेत त्यस्ता आरोप लगाउँदै आएका छन् । 


क्रान्ति र परिवर्तनका कुनै पनि सामाजिक–राजनीतिक भूमिका र सम्बन्ध–साइनो नभएकाहरू पनि ‘एमाले अब चाहिँ कम्युनिस्ट रहेन’ भन्ने करौँतीद्वारा एमाले काट्न खोज्दैछन् । एमालेको लोकप्रियताबाट तर्सने, आफू एमाले हुन नसक्ने र आफूलाई चाहिँ बढी क्रान्तिकारी र कम्युनिस्ट वा वामपन्थी हुँ भन्नेहरू यसरी एमालेमाथि करौँती चलाउँदै अनेक आरोप लगाउँदैछन् । यद्यपि एमाले भने जनताको बहुदलीय जनवादी सिद्धान्त र संविधानवादप्रति पूर्ण प्रतिबद्ध देखिन्छ । उनीहरूले लगाउने यस्ता करौँतीले एमाले जनताको माझमा झन स्थापित हुँदैछ ।


करौँती दुई  :
एमालेले २०४७ पछि आफ्नो राजनीतिक सिद्धान्त जनवादी, प्रजातन्त्रवादी, संविधानवादी, मानव अधिकारवादी र विधिको शासनवादी भन्दै आयो । सोही अनुसार पार्टी र सत्ता पनि सञ्चालन ग¥यो, गर्दैछ । एमालेले आफ्नो पार्टीका अधिवेशन–महाधिवेशनहरू पनि लोकतान्त्रिक विधिबाट गर्दै आएको छ । एमालेबाट अन्य दलले पनि सिक्दैछन् । यद्यपि अध्यक्ष ओली चितवन महाधिवेशनबाट पुनः विजयी भएपछि विरोधीले भने एमाले लोकतन्त्रवादी र प्रजातन्त्रवादी होइन अधिनायकवादी भयो समेत भन्ने आरोप लगाउँदै आएका छन् ।


  जो आफूलाई बढीनै प्रजातन्त्रवादी र लोकतन्त्रवादी भन्ने गर्दछन् उनीहरू चाहिँ एमालेको खास लक्ष्य एकदलीय कम्युनिस्ट सत्ता ल्याउने हो भन्ने ढंगले विरोधको करौँतीले हान्न खोज्दैछन् । उनीहरू–‘एकदलीय सर्वसत्तावाद र कम्युस्टि विचारधाराबाट एमाले निर्देशत भएकोले लोकतन्त्रमा उसको खास समर्थन छैन’ समेत भन्ने आरेप लगाउँदछन् । 


 प्रजातन्त्र र लोकतन्त्रको खास हिमायती भन्न रुचाउने काँग्रेस निकटका बुद्धिजीवी र विश्लेषक यस कोटीमा पर्दछन् । यो खालको आरोपद्वारा एमाले प्रजातन्त्रवादी पार्टी होइन भन्ने प्रकारले गम्भीर विरोध हुँदैछन् । यस अघि एमालेमा नै रहेका पूर्व नेता–कार्यकर्ताहरू चाहिँ एमाले एकल नेतृत्वमा सञ्चालन भएको, ओलीको अधिनायकवादी नेतृत्व भएको र विरोधीलाई निर्मम दमन गरेर अघि बढेको भन्दै खरो आचोचना गर्दछन् । यसमा माधव–झलनाथको करौँती समाजवादी पार्टीका नेता–कार्यकर्ता पर्दछन् । यद्यपि तथ्य र प्रमाणहरूले त्यो आरोप सोह्रैआना खारेज गर्दछ । सकेको भए उनीहरू एमालेलाई गत निर्वाचनमा पत्तासाफ गर्न चाहन्थ्ये । तर तिनको करौँती जनताले भुत्ते बनाइदिए ।


करौँती तीन :
अराजकतावादी, उच्श्रृंखल, उत्ताउला र राजनीतिक चेतना र दृष्टिकोण नभएका केही राजनीतिक दल र समूह एमालेमाथि करौँती हान्दैछन् । उनीहरू एमालेको शक्ति र संगठनलाई कसरी ध्वस्त पार्ने भन्दै एमाले समर्थकलाई भ्रमित पार्न अनेक भ्रम छर्दैछन् । यसमा नयाँ भनिएका स्वतन्त्र नामका दल र स्वतन्त्र व्यक्ति समेत पर्दछन् । उनीहरूको आरोप चाहिँ–‘अब एमालेजस्ता ठूला राजनीतिक दलबाट केही पनि हुन्न’ भन्ने छ । त्यो तथ्यहीन र आधारहिन आरोप मात्र हो । अराजकतावादी र राजनीतिक दृष्टिकोणशून्य झुन्ड एमाले कमजोर बनाउन लागे पनि त्यो समयक्रममा पानीको फोका हुने छ ।


करौँती चार : 
लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीय प्रणालीकोे तीव्र विरोध गर्ने राजावादी र व्यवस्था विरोधी एवम् जातीय द्वेष फैल्याउनेहरू एमालेमाथि प्रहार गर्दैछन् । भ्रष्टाचारका अनेक अनर्गल आक्षेप लगाउने, एमाले पनि चोर हो भनिदिने, गणतन्त्रको विरोध गर्ने, संघीयताले देश डुब्यो भन्दै हल्का ढंगले प्रणालीको विरोध गर्नेहरूको तारो एमाले हुँदै आयो । 


पूर्वमा कोशी प्रदेशको विरोधमा भएका कार्यक्रमहरू हेर्दा पनि त्यो देखिन्छ । गणतन्त्रविरोधीहरू पनि एमाले सहितका ठूला दल एवम् पूरै प्रणालीको विरोध गर्दैछन् । जबकी गणतन्त्रको विकल्प चाहिँ उनीहरू फेरि ज्ञानेन्द्रलाई सत्तामा ल्याउने मात्र भन्दैछन् । खासमा गणतान्त्रिक प्रणालीको विकल्प अझ पारदर्शी र समावेशी तथा सामाजिक न्याय भएको गणतन्त्र मात्र हो । गणतन्त्रको विकल्प बढी गणतन्त्र हो । उन्नत र समृद्ध गणतन्त्र हो । गणतन्त्रको विरोध गर्दै एमालेमाथि करौँती हान्दैछन् ।


करौँती पाँच :
आफ्नै घरमा बसेर आफैलाई काट्ने धमिराजस्ता प्रवृत्ति पनि एमालेमा बाँकी नै छ । यो घातक करौँती पनि हो । एमाले हुँ भन्ने, एमालेको सदस्यता बोक्ने तर गुणगान चाहिँ अरु दल वा समूह वा व्यक्तिको गर्नेहरू एमालेमा पनि छन् । यद्यपि त्यस्ता प्रवृत्ति अन्य दल र समूहमा पनि रहेको हुन्छ, छ । एमालेबाट असन्तुष्ट समूह भनिएका माधव नेपालको समूहले अर्कै पार्टी बनाएर बाहिर गएपछि एमालेमा असंन्तुष्ट र आन्तरिक विरोधी प्रवृत्ति सकियो भन्ने ठनिए पनि एमालेमा अझै पनि आन्तरिक विरोधी र करौँती प्रवृत्ति देखिन्छ । जो रुपमा एमाले भन्दछ तर सारमा एमालेको विरोध गर्दछ । 


 एमालेमा रहन्छ तर एमालेलाई नै आरोप लगाउँदछ । माधव नेपालको पछि जानबाट अड्केका ठेटनाहरू ओलीको विरोध गर्ने गर्दछन् । यि र यस्ता प्रवृत्ति तथा आरोपहरूले एमालेलाई क्षति गर्दैछ । एमाले भएर एमालेको विरोध गर्नेकुरा पार्टी पद्धति, नैतिकता र राजनीतिक आचरणले सुहाउने कुरा हुँदै होइन । यस्ता करौँतीको धार भुत्ते पार्नु आवश्यक देखिन्छ ।


सारमा : 
राजनीतिक दल शक्तिशाली हुनु, संगठित हुनु,  विचार र दृष्टिकोणबाट निर्देशित हुनु र प्रणालीप्रति प्रतिबद्ध हुनु लोकतन्त्रमा अत्यावश्यक कुरा हो । जुन दल वा पार्टीले राजनीतिक–सामाजिक संघर्ष तथा क्रान्ति ग¥यो प्रणालीलाई समृद्ध र  सुदृढ बनाउने  मूलतः उसकै नेतृत्वमा हो । जनता र नागरिकलाई संगठित  र परिचालित गर्न सक्ने सामथ्र्य पनि ठूला राजनीतिक दलले राख्दछन् । 


नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र, गणतन्त्र, समावेशीता तथा सामाजिक न्यायपूर्ण समाजको निरन्तरको संघर्षमा एमालेको भूमिका अग्रिणी  देखिन्छ । नेपाली काँग्रेस र एमाले जस्ता ठूला राजनीतिक दलको संगठन, विचार र सिद्धान्त र प्रभाव कमजोर हुनु भनेको सारमा प्रणाली पनि कमजोर बन्नु हो । 


लोकतान्त्रिक गणतान्त्रिक प्रणाली आजको समय र समाजको अनिवार्य विषय हो । यसको लागि पनि एमाले  जस्ता दल समृद्ध र सक्षम हुनुपर्ने हुन्छ । समाजको राजनीतिक–वैचारिक र सामाजिक द्वन्द्वलाई विधिसम्मत ढंगले अघि बढाउन पनि एमाले सुदृढ हुनु आवश्यक छ । जुन दल र समूहले प्रणाली ल्यायो अपनत्व र संरक्षणको भूमिका तथा जिम्मेवारी पनि मूलतः उसकै हुन्छ । 


प्रणाली बचाउने र सुदृढ गर्न सक्ने सामथ्र्य पनि त्यही पार्टीले राख्दछ । यस अर्थमा एमालेमाथि तेर्साइएका अनेकौँ राजनीतिक–वैचारिक र साँगठानिक करौँतीहरूले लोकतान्त्रिक गणतन्त्र कमजोर र अस्थीर बन्न जान्छ । यस कारण एमाले साँगठानिक, वैचारिक र राजनीतिक दृष्टिले सवल र सक्षम हुनु आवश्यक छ । एमाले केन्द्रदेखि स्थानीय वडासम्म सुदृढ, संगठित र प्रस्ट भएपछि सारा करौँतीहरू स्वतहः भुत्ते हुनेछन् । 
 

प्रतिकृया दिनुहोस