• बिहीबार-श्रावण-२९-२०८२

चौतर्फी घेरिँदा पनि सभापति खतिवडाको साँढे प्रवृत्ति

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा

 

काठमाडौं : संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको खतरनाक चलखेलको ठहर र दोषी पाइएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन चौतर्फी दबाब परिरहेको छ । तर समिति सभापति खतिवडा भने आफू शुरुदेखि नै ‘कुलिङ अफ पिरियड’को पक्षमा रहेको बहाना देखाएर भागिरहेका छन् । 
नैतिक जिम्मेवार लिएर पदबाट राजीनामा दिनुपर्नेमा खतिवडा भने राजीनामा नदिन लाज पचाएर झन् भन्दा झन् जब्बर बन्दै गएको कांग्रेसका नेताहरु बताउछन् । सबै दोषको भारी कर्मचारीमाथि थोपरेर उम्किने दाउमा देखिएपछि उनको पार्टी काँग्रेसले समेत दबाब बढाएको छ । काँग्रेसकै सहमहामन्त्री जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले नै खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरिसकेको छ । 


राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था नै निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट विधेयक पारित गर्न खतिवडा मुख्यसचिव, संसदका महासचिव र समितिका सचिव शिखण्डी पात्र बनेर उभिएको आरोप लागेको छ । सत्ताधारी एमालेले पनि खतिवडाको राजीनामा मागिरहेको छ । प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले पनि शुरुदेखि नै संसदबाट खतिवडाको राजीनामा मागिरहेका छन् ।

 

तर खतिवडाले भने नैतिकता बिर्सेर चलखेल गरेको प्रमाण देखाउन उल्टो चुनौती दिँदै हिंडिरहेको देखिन्छ । उनको प्रवृत्ति देखेर काँग्रेस स्वयम् आश्चर्यमा परेको छ । काँग्रेसका एक केन्द्रीय सदस्यले साँघुलाई बताए अनुसार, सकेसम्म खतिवडाले आफैं राजीनामा दिउन् भनेर ‘पर्ख र हेर’ को अवस्थामा काँग्रेस रहेको छ । ‘एक दुई दिनमा पनि उहाँले राजीनामा दिनुभएन भने दिर्नेशन दिने र त्यो निर्देशन पनि नमाने तत्काल पार्टीको बैठक डाकेर कारबाहीमै जाने भन्ने छ,’ ती केन्द्रीय सदस्यले भने, ‘आफू अझै सकिने नि सच्चिने अब उहाँमै भर पर्दछ ।’ 


काँग्रेसले खतिवडालाई राजीनामा दिनका लागि एक दुई दिनमै निर्देशन दिने तयारी गरेको स्रोत बताउछ । यसका लागि पार्टीका शीर्ष नेतामा समेत आन्तरिक सहमति बनिसकेको जनाइएको छ । पदबाट राजीनामा दिनुपर्ने दबाब पार्टीभित्रै र बाहिरबाट आउँदा पनि खतिवडा भने गलेका छैनन् । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले समितिको सभापतिबाट खतिवडालाई राजीनामा दिन सुझाइसकेका छन् । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवाले अहिलेसम्म मुख खोलेका छैनन् । देउवाले मुख नखोलेका कारण साथ पाएको आशंका समेत काँग्रेसभित्र गरिएको छ । 


नेता कोइरालाले त कडा रुपमा विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेका खतिवडाले राजीनामा दिएर नैतिकता देखाउन खुलेरै सुझाव दिइसकेका छन् । 


सत्तारुढ एमाले र विपक्षी दलका नेताहरुले भने जस्तै कोइरालाले पनि ‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन् । परियार नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा किटान गरेका विषयलाई दृष्टिगत गर्दै पार्टीले आवश्यक निर्णय लिनुपर्ने प्रस्ट अडान कोइरालाको छ । खतिवडाले अहिले राजीनामा दिए पछि निर्दोष देखिए पुनः जिम्मेवारीमा फकिर्ने विकल्प समेत सुझाएका छन् । 


परियार समितिले संघीय निजामती सेवा विधेयकमा राख्नुपर्ने ‘कुलिङ अफ पिरियड’ को व्यस्थामा छेडखानी गर्दै ऐनको ओरिजिनल व्यस्था नै तुहाउने गरी ‘बाहेक’ शब्द थपेको भन्दै खतिवडाको नामै तोकेर नैतिक जिम्मेवार ठह¥याएको थियो । समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भइसकेको छ । समितिले प्रतिवेदनमै खतिवडाको भूमिका माथि शंका व्यक्त गरेपछि नैतिकताको सबाल खडा भएको हो । विधेयकमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भए पनि प्रतिनिधिसभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था भेटिएपछि साँसदहरु आश्चर्यमा परेका थिए । संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने एमाले सांसद पदम गिरीले खतिवडाको राजीनामा माग गरिसकेका छन् ।


गिरीले समिति सभापति खतिवडासँगै सचिव सुरजकुमार दुराले पनि पद छाड्नुपर्ने माग गरेका थिए । गिरीसँगै एमालेकै सांसद वासुदेव घिमिरे र राजेन्द्र राईले पनि सभापति खतिवडाले बाटो खोलिदिन माग गरेका थिए । विधेयकमा कुलिङ पिरियडको व्यवस्थाबारे निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा थपथाप गरिएपछि गंभीर विवादमा फसेको थियो । सांसद राईले आफूले नराखौँ भन्दाभन्दै अटेरी गरेको आरोप समेत लगाएका छन् । मुलुकलाई घाटा हुन्छ भनेर भन्दा समेत खतिवडाले सुनेको नसुन्यै गरेको गंभीर आरोप समेत राईले लगाएका छन् । तर खतिवडा सर्पले भ्यागुता घेरे झैं चौतर्फी रुपमा जालमा पर्दा समेत अझै नचेती किन विलम्व गर्दैछन् ? (साँघु साप्ताहिक, २०८२ साउन २६)
 

प्रतिकृया दिनुहोस