काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मनमुटाव बढेपछि अशोक राईको अध्यक्षतामा नयाँ पार्टी बनेको थियो । जसपा बनाएर उनीहरुले अर्को पार्टी बनाएका थिए । यो पार्टीको विवाद अहिलेसम्म सल्टेको छैन र उनीहरुले पार्टी नै बनाउन पनि सकेका छैनन् । पार्टी विभाजनको विरुद्धमा उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । त्यो मुद्दाको छिनोफानो नहुँदा विवाद टुंगिएको छैन । तर, अहिले राईको पार्टीभित्र पनि लफडा सुरु भइसकेको छ ।
मन्त्री को बन्ने भन्ने लफडाले यो पार्टीभित्रको विवाद उत्कर्षतिर पुगेको छ । राईले एक बर्षका लागि दुईजनालाई मन्त्री बनाएका थिए । नवकिशोर साह सुडी र प्रदीप यादवलाई एक बर्षपछि फिर्ता हुने गरी पूर्वसहमतिमा मन्त्रीमा पठाएको हो । तर, अहिले उनीहरु मन्त्री छोड्न तयार देखिएका छैनन् । अनि, ती मन्त्रीको प्रभावले गर्दा प्रधानमन्त्री केपी ओलीसमेत मौन बसिदिएका छन् । यो प्रकरणले गर्दा अशोक राई भने समस्यामा परेका छन् । २०८१ पुसमा नै मन्त्री छोड्ने गरी नवलकिशोर साह सुडीलाई मन्त्री बनाइएको थियो ।
प्रचण्ड प्रधानमन्त्री हुँदा पनि वन तथा वातावरण मन्त्री रहेका सुडीले अशोक राईको पार्टी रोजेपछि मन्त्री पदमा निरन्तर रहेका थिए । त्यही कारण उनलाई २०८१ पुसमै मन्त्री छोड्न भनिएको थियो । पूर्वसहमति अनुसार मन्त्री छोड्न सुडीले नमानेर भाका सार्दै लगेका थिए । पुसदेखि फागुनदेखि वैशाख र वैशाखपछि आर्थिक बर्षको अन्तिमसम्म भनिएको थियो । ती सबै भाका नाघ्दा पनि उनले मन्त्री छोड्ने संभावना देखिएको छैन । बरु उल्टै राईलाई पार्टी फुटाउने धम्की दिएका छन् ।
सुडीले आफूसँग तीन जना सांसद रहेको दाबी गर्ने गरेका छन् । यता, फुटेको पार्टी फेरि फुट्न मिल्दैन अर्कोतिर यो पार्टी नै वैधानिक भइसकेको छैन भने कसरी सुडीले फुटाउने धम्की दिएको भन्ने प्रश्न उठेको छ । सुडीको महिला मन्त्रालयमा जसपाले रञ्जु झालाई मन्त्री बनाउन खोजेको थियो । पूर्वसहमति अनुसार झा महिला मन्त्री हुने संंभावना छ । तर, सुडी भने झालाई रोक्न खोजिरहेका छन् । झाको सट्टा राईकी श्रीमती सुशीला श्रेष्ठलाई मन्त्री बनाउने प्रयास हुन थालेको छ । सुडीले पनि त्यही सुझाव दिइरहेका छन् ।
त्यसैले, अहिले जसपाभित्र पनि विवाद बढ्न थालेको नेताहरुले बताएका छन् । त्यसो त, मोहम्मद इस्तियाक राई र प्रदीप यादववीच पनि सम्बन्ध बिग्रिन थालेको नेताहरुले बताइरहेका छन् । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस