• बिहीबार-श्रावण-२९-२०८२

धवललाई चुनौती दिन पाण्डे सक्रिय

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी शक्ति विस्तारको रणनीति लिने संकेत गरेका छन् । आफ्नो समूहमा नभएकार र विपक्षमा अभिव्यक्ति दिइरहेकाहरुलाई विदा गर्नेसम्मको रणनीति अंगाल्न पुगेको स्रोत बताउछ । आउँदो मंसिरभित्रै महाधिवेशन गरेर पार्टीलाई एकधु्रवीय बनाउने प्रयास थालेका छन् । मुख्यगरी महामन्त्री धवलशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष लिङ्देनले साइजमा राख्न खोजिरहेका छन् । सोही क्रममा उनी आन्तरिक छलफल पनि गरिरहेका छन् । लोहनीको समर्थनमा राणाले आउने महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने चाहना राखिरहेका छन् । सोही चाहना अनुसार गतिविधिलाई पनि तीव्र बनाएका छन् । त्यसैले, देशभर नै राणाको समूहले अध्यक्षविरुद्ध नै अभियान चलाइरहेको छ ।


  राणाको समूहमा अहिले उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, पुराना नेता नवराज सुवेदीलगायतका रहेका छन् ।  उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई भने अध्यक्षले जिम्मेवारीबाट हटाएका छन् । अनि, प्रवक्ताको जिम्मा पाएका सगुनसुन्दर लावती पनि अध्यक्षको विरुद्धमा देखिएका छन् । अध्यक्षको विरोधमा रहेका समूहले कसलाई अध्यक्ष बनाउन लागेका छन् भन्ने चाहिँ प्रष्ट भएको छैन । अहिले इतर समूहबाट उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा अध्यक्षको दाबेदार देखिएका छन् । हुन त अहिलेसम्म उनीहरु एउटै समूहमा रहेर अध्यक्ष लिङ्देनको विरोधमा सक्रिय रहेका छन् । त्यसका लागि आर्थिक सहयोग र कार्यकर्ता परिचालनमा आर्थिक जोहो विक्रम पाण्डेले गरिरहेका छन् तर उनी पर्दापछाडि जस्तो भइरहेका छन् । 


 सकभर एक रुपैयाँ पनि खर्च नगरी राजनीति गर्न पाए हुन्थ्यो भन्ने सोचका  धवलशमशेर राणा नेताजस्तो मात्र भइरहेका छन् । हुन पनि आफ्नो निवासमा बैठक  राखेर इतर समूहका नेताहरुलाई भेला गरेपछि राणाको शक्ति बढ्दै गएको महसुस गरिरहेछन् । धवल शम्शेरको शक्ति बढ्दै देखेपछि अध्यक्षका आकांक्षी विक्रम पाण्डेले भने के गर्छन् ? भन्ने प्रष्ट देखिएको छैन । पैसाको बलमा भएपनि अध्यक्ष जितिन्छ भन्ने मनोविज्ञानमा पाण्डे देखिएका छन्  । 


 पाण्डेको पक्षमा महामन्त्री कुन्ती शाही पनि रहेको बताइन्छ । उनी महिला संघमा सुरुमै आवद्ध भएदेखि पाण्डेनिकट रहेको पनि राप्रपा नेताहरुको भनाइ छ । संगठनमा प्रभाव पनि धवल राणाको भन्दा पाण्डेको धेरै रहेको राप्रपा नेताहरु बताउँछन् । संगठनमा खासै प्रभाव नभएका तर नेता भएका धवल राणालाई साथ दिनुभन्दा आफै अध्यक्ष हुने लाइनमा पाण्डे रहेका कारणले उनलाई प्रकाशचन्द्र लोहनीले पनि साथ दिने अनुमान गरिएको छ । त्यसैले, अहिले अध्यक्ष लिङ्देन इतरको समूहमै विभाजित जस्तो देखिएका बेलामा थप प्रहार गर्न सकिने बुझाइमा रहेको पनि बताइन्छ । त्यसैले साउन २३ गते शुक्रबार बत्तिसपुतलीमा आफूनिकटका नेताहरुलाई बोलाएर लिङ्देनले इतर समूहमाथि थप कारबाही चलाउने संकेत दिएका थिए । खासमा समूहबाट कारबाहीको निर्णय लिनका लागि अनुमति पनि मागेका थिए । 


 अब महाधिवेशनसम्म एकलौटी जाने गरी अध्यक्ष लिङ्देनले पार्टीभित्र निर्णय गर्ने मुडमा देखिएको राप्रपा नेताहरु बताउँछन् । कमल थापालाई पनि महाधिवेशनपछि ल्याउने गरी लिङ्देनले छलफल गरेका छन् । सम्मानित पद दिएर महाधिवेशनपछि ल्याउने वचन दिएका कारण थापा पनि अहिले चुपचाप बसेर लिङ्देनलाई सहयोग गर्ने मुडमा रहेको राप्रपाभित्र चर्चा चइरहेको छ । अहिले अध्यक्ष लिङ्देनको पक्षमा भने बुद्धिमान तामाङ, रोशन कार्की, धुव्रबहादुर प्रधानलगायतका नेता रहेका छन् । पछिल्ला दिनमा भने पशुपति शमशेर राणा दुवै समूहमा देखिएका छैनन् ।(साँघु साप्ताहिक, २०८२ साउन २६)
 

प्रतिकृया दिनुहोस