काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा कांग्रेससँग सम्बन्ध सुधारको प्रयासमा लागेका छन् । प्रचण्डले कांग्रेससँग सम्बन्ध सुधारका लागि विगतमा जस्तो उपमहासचिव जनार्दन शर्मालाई भने परिचलान गरेका छैनन् । यसपटक जनार्दन शर्माको विकल्पको वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई परिचालन गरेका छन् । बस्नेत र पुनले कांग्रेसका नेताहरुसँग विभिन्न चरणमा संवादमा पनि गरिरहेका छन् । ती संवाद ‘भिजिट भिसा प्रकरण’मा मुछिएका गृहमन्त्री रमेश लेखकसँग केन्द्रित भइरहेका छन् । कांग्रेसले पनि माओवादीसँग संवादलाई जोड्न खोजेको विश्लेषकहरु बताउछन् ।
माओवादीसँग ट्युनिङ मिलेका उपसभापति पूर्णबहादुर खड्कालाई परिचालन गरेको स्रोतको दावी छ । मन्त्री लेखक जोडिएको भिजिट भिसा प्रकरणलाई कसरी सेटल गर्ने भन्ने विषयमा एमालेसँग भन्दा पनि कांग्रेसले माओवादीसँग धेरै छलफल गरेको स्रोत बताउछ । कांग्रेसकै पहलमा माओवादी र सरकारबीच २ बुँदे सहमतिमा आएको थियो । उक्त दुई बुँदे सहमतिले माओवादीभित्र चाहिँ विवाद निम्त्याएको छ । त्यो विवादलाई सेटल गर्ने प्रचण्डले प्रयास पनि गरेका छन् । कांग्रेसका नेताहरुसँग छलफल गराएर उनले एउटा छानबिन समिति बनाउन लगाउने गरी अगाडि बढेका छन् । स्रोतका अनुसार, रास्वपाको संसद अवरोधलाई मत्थर पार्न र प्रचण्डको ‘फेस सेभिङ’ गराउनका लागि मात्र होइन, कांग्रेसलाई पनि यो विवाद र अप्ठ्यारोबाट उम्किनका लागि एउटा समिति भने आवश्यक भएको कांग्रेसकै नेताहरु बताउछन् ।
त्यसैका लागि उपसभापति खड्का र मन्त्री लेखक स्वयम् यस्तो भित्री छलफलमा सहभागी भएको स्रोतको दावी छ । स्रोतका अनुसार, त्यसका लागि वर्षमान पुन र शक्ति बस्नेतसँग खड्का र लेखकले २०८२ असार ५ गते विहीबार छलफल गरेका थिए । उक्त छलफलमा छानबिन समिति बनाउनेबारेमा छलफल भएको तर समितिको मोडालिटीको विषयमा टुंगो नलागेको स्रोतको भनाई छ ।
कांग्रेस पनि माओवादीसँगले समिति बनाउन सहमत हुने अवस्थामा पुगेको स्रोत बताउछ । यसैले सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई परिचलान गरेको दावी गरिएको छ । खड्का कांग्रेसभित्र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने लाइनका नेतामा पर्छन् । त्यसैले, अहिले उपसभापति खड्कालाई देउवाले परिचलाउन गरेर माओवादीसँग सम्बन्ध विस्तार गर्न खोजेको बताइन्छ । यता, प्रचण्डले विगतमा कांग्रेससँस सम्बन्ध सुधारका लािग जनार्दन शर्मालाई परिचलान गर्ने गरेका थिए । खड्का र शर्माको सम्बन्ध केही निकट रहेका कारण त्यसो गर्ने गरिएको थियो ।
माओवादी स्राेत भन्छ, पछिल्ला दिनमा शर्मालाई किनारा लगाउने प्रचण्डको रणनीति अनुसार पुनलाई नै अघि सारेका छन् । शर्माकै प्रदेशका बस्नेतलाई अघि सारेर खड्कासँग सम्बन्ध सुधारका लागि बाटो खुला गरेको देखिएको छ । प्रचण्डले विभिन्न चरणबाट शर्मालाई कमजोर बनाउने प्रयास भने गरिरहेका छन् । केन्द्रदेखि जिल्लासम्मका नेताहरुलाई आफ्नो पक्षमा लिने प्रयासमा प्रचण्डले शर्मानिकट नेताहरुलाई प्रभावमा पार्न थालिसकेका छन् । त्यही क्रममा महेन्द्रबहादुर शाहीलाई प्रचण्डले आफ्नो खेमामा ल्याएका हुन् । अहिले शर्माबाट छुटाएर ल्याइएका शाहीलाई भविष्यमा कर्णाली प्रदेशमा बस्नेतको विकल्पमा उपयोग गर्न सकिने बुझाइमा प्रचण्ड रहेको पनि माओवादीभित्र चर्चा भइरहेको छ ।
विगतमा भने माओवादीका अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य गर्नका लागि पुनलाई प्रयोग गर्ने गरेका थिए । पुनलाई वामपन्थीहरुको एकता र सहकार्यका लागि पहल गर्ने माओवादीभित्रका नेता भनेर चिनिन थालेका थिए ।
अहिले भने प्रचण्डले पुनलाई कांग्रेससँग सम्बन्ध सुधारमा प्रयोग गरेका छन् । स्रोतहरुका अनुसार, पछिल्ला दिनमा शर्माले एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध सुधार गरेपछि प्रचण्डले पुनलाई कांग्रेससँग परिचलाउन गरेको पनि दावी गरिएको छ । प्रधानमन्त्री ओलीसँग पुनभन्दा शर्मा निकट देखिन थालेको स्रोतको दावी छ । त्यसैले, प्रचण्डले पुन र बस्नेतलाई अहिले परिचालन गरेर कांग्रेसका नेताहरुसँव निरन्तर छलफलमा खटाएका हुन् । (साँघु साप्ताहिक, २०८२ असार ९)
प्रतिकृया दिनुहोस