• सोमबार-असार-९-२०८२

अर्थमा भित्रिन मरिहत्ते गर्ने सहसचिवहरू यी हुन् ! 

 

काठमाडौं । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेकै बखत सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका थिए । उनको बढुवा भएसँगै सरकारले गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको डेढ महिना बढी समय बितिसकेको छ ।

  पौडेल  संघीय मन्त्रालय वा महालेखा नियन्त्रक प्रमुखको सचिवमा सरूवा हुने चर्चा सुरु भएको छ ।  सरकारले अर्थ मन्त्रालयको उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा नयाँ सहसचिवलाई सरूवा गरी पठाउन सकिरहेको छैन ।

 

उपसचिव हुँदासम्म अर्थ मन्त्रालय मातहतका भन्सार र आन्तरिक राजस्व कार्यालयहरुमा बसेका हाल कोशी प्रदेशको प्रदेश योजना आयोगका सचिव रहेका मिमांश अधिकारी र राष्ट्रिय योजना आयोगका सहसचिव पुष्प बहादुर शाही अर्थ मन्त्रालयमा सरूवा हुन खोजिरहेको चर्चा छ । 

 

अधिकारी उपसचिव हुँदा विराटनगर भन्सारलगायत कार्यालयका प्रमुख भैसकेका  हुन । त्यस्तै शाहीले माओवादी शासनकालमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशको जिम्मेवारी संहालिसकेका हुन् । हाल, उनी बाग्मती प्रदेशको अर्थ सचिव रहेका छन् ।


बजेट जारी गर्ने विषयमा मन्त्री कुन्दनराज काफ्लेसँग उनको चर्को विवाद चुलिएको कारण उनी सरुवा हुन खोजेको चर्चा छ । यी दुबै सहसचिवले अर्थ मन्त्रालयमा प्रवेश गर्न खोजेको बताइएको छ । शाही भने चिनिएका माओवादी केन्द्र निकट सहसचिव भएकोले पनि तत्कालै अर्थमा प्रवेश गर्ने कुनै सम्भावना नरहेको बताइन्छ । 


यसैगरी, उता वन तथा बातावरण मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव भूपाल बराल सचिवमा बढुवा भए । उनलाई सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको एक महिना भन्दा बढी समय बितिसकेको छ । तरपनि मन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालयमा सहसचिव सरूवा गरी ल्याउन सकिरहेका छैनन् । यतिखेर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा भित्रिन आधा दर्जन भन्दा बढी सहसचिवले जोडबल गरिरहेको बुझिएको छ ।


मन्त्रालयमा सरूवा हुनका लागि राष्ट्रिय योजनामा कार्यरत सहसचिव भुपेन्द्र थापा, हाल मधेस प्रदेशमा कार्यरत सचिव विमल बराल, गण्डकी प्रदेशका सचिव बाबुराम गौतमलगायतले मनसाय देखाइरहेको स्रोतले जानकारी दिएको छ । मन्त्री शाहीले पनि सकेसम्म नेपाली कांग्रेस निकट त्यसमा पनि भेगीय हिसावले कर्णाली र सुदूरपश्चिम प्रदेश निवासी सहसचिवहरू भित्र्याउन खोजेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ असार ९)
 

प्रतिकृया दिनुहोस