• सोमबार-असार-९-२०८२

साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण

 

काठमाडौँ, ९ असार : साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ लोकार्पण गरिएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार प्राडा गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै देशाटनले संक्षेपमा देशका सबै जिल्ला घुमाएको अनुभूति भएको बताउनुभयो ।

 

साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसकर्मीका नाताले नियमित रूपमा डायरी लेख्ने भएकाले कृति प्रकाशन गर्न सहज भएको उल्लेख गर्नुभयो । समीक्षक राजकुमार बानियाँले जीवनको गतिशीलता नै यात्रा लेखनको चिनारी भएको बताउनुभयो । कृतिकार श्रष्टा पौडेलले कृतिमाथि धारणा राख्दै सबै जिल्ला घुम्दाका सम्झना अहिले पनि ताजै भएर सल्बलाएको हुँदा देशाटनका रूपमा प्रकाशन गरेको भनाइ राख्नुभयो । 

 

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले देशाटनले संस्मरण विधाको लोकप्रियतालाई बढाउने गरी न्यूमिडिया शैलीमा विश्वव्यापी बनाउने समेत जानकारी दिनु भयो । 

 

कृतिकार पौडेलका यसअघि रेडक्रसकर्मी ‘ऊ’, ‘शिक्षाका ती दिन’ र ‘सयपत्री’ शीर्षकमा कृति प्रकाशित छन् । ‘देशाटन : घुम्दै, फिर्दै जिल्ला –जिल्ला’ २२४ पृष्ठको छ । यसको मूल्य रु ५०० राखिएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस