• मंगलबार-असार-३-२०८२

जनार्दनले पार्टी छाड्ने हल्ला किन चल्यो ?

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पश्चिम रुकुम पुगेर नै जनार्दन शर्मालाई पार्टी छोडेपनि हुन्छ भनेको चर्चा खुबै भइरहेको छ । त्यही चर्चालाई प्रचण्डले जवाफ पनि फर्काएका छन् । त्यसैले, अहिले माओवादीमा प्रचण्ड भर्सेस जनार्दनको मुद्दाले चर्चा पाइरहेको छ । माओवादीभित्रमात्र होइन, बाहिर पनि त्यो चर्चा चुलिन थालेको छ । माओवादी केन्द्रले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । 

 


त्यही अभियानको क्रममा पश्चिम रुकुम पुगेको थियो माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको टोली । त्यो टोलीलाई स्वागत गर्दै थिए उपमहासचिव एवं सांसद जनार्दन शर्मा । अनि, शर्माकै पहलमा आयोजना भएको थियो सभा । त्यही सभामा प्रचण्डले पार्टी छोडेर जानेहरु कमजोर र काम नलाग्ने भएको भन्दै आलोचना गरेका थिए । र, त्यसको संकेत चाहिँ शर्मातिर लक्षित गरेको पनि बताइन्छ । त्यसै बेलामा प्रचण्डले शर्मालाई पार्टी छोडेर गए हुन्छ भनेको चर्चा गरिन्छ । 

 


त्यही चर्चा र टिप्पणीले राजनीतिक वृत्त तताएपछि प्रचण्डले २०८२ जेठ ३१ गते शनिबार आफूले शर्मालाई त्यसो नभनेको दावी गरेका छन् । प्रचण्ड जवाफ दिन बाध्य हुने अवस्था आएकोले माओवादीभित्र शर्मासँग प्रचण्डको कुन हदसम्मको दूरी बढेको रहेछ भन्ने संकेत पनि गरेको बताइन्छ । पछिल्ला दिनमा प्रचण्डमा शर्माको भय चाहिँ निकै बढेको देखिन्छ । देशव्यापी रुपमा शर्माको सानोतिनो भएपनि समूह देखिन थालेको छ । अनि, जनवर्गीय संगठनमा पनि समूहबद्ध नेतृत्व देखिन थालेको छ । अखिल क्रान्तिकारीको चुनावमा प्रचण्ड समूह भर्सेस जनार्दन शर्मा बनेको थियो । शर्माको समूहले अध्यक्षबाहेक बहुमत पदाधिकारी टीम जितेको थियो । त्यसैबाट भयभीत भएका प्रचण्डले प्रेस सेन्टरमा भने शर्माको समूहलाई जसरी पनि हराउने भनेर लागेका थिए ।

 

त्यतिबेला नारायणकाजी श्रेष्ठ समूहका नेतालाई अध्यक्ष दिएर प्रचण्डले शर्माको समूहलाई सबै पदमा पराजित गराएका थिए । त्यो प्रचण्डको रणनीतिक मुभसँग जोडिएको बताइन्छ । त्यही रणनीति वाइसीएलमा पनि लगाएका छन् । वाईसीएलमा शर्मा समूहले अध्यक्षमा दावी गरेको थियो । अध्यक्ष नपाए महासचिव हुनुपर्ने अडानमा थियो । महासचिव नपाए चुनावमा जाने अडान राखेको थियो । वाईसीएलमा शर्माको समूह कमजोर भएका कारण अन्तिममा चुनावमा जान भने डराए अनि उपाध्यक्षमा चित्त बुझाए । यद्यपि, प्रचण्ड समूहले उपाध्यक्ष पनि चौथो नम्बरको दिए । त्यसैले, शर्माप्रति प्रचण्डको भय भने निकै रहेको देखिन्छ ।

 

शर्मामात्र होइन, माओवादी पदाधिकारीमा धेरै जना प्रचण्डसँग असन्तुष्ट रहेका छन् । सचिव राम कार्की पनि अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन् । तर, उनी पार्टी छोडिहाल्ने अवस्था भने छैनन् । वर्षदिनभन्दा बढी समय सचिवालय बैठकमै नगएका कार्की केही समयदेखि भने वैठकमा जान थालेका छन् ।  माओवादी स्रोतहरुको अनुसार, कार्की अर्को पार्टी बनाउने पक्षमा छैनन, माओवादी छोडेर कहाँ जाने भन्नेमा प्रष्ट छैनन् । त्यसैले, उनी सचिवालय बैठकमा भने जान थालेका हुन् । स्रोतको भनाइमा शर्माको शक्तिमा भने कार्कीले पनि मलजल गरेका छन् ।

 


पार्टीमा शर्माले लेख्ने फरक मत वा दस्तावेजहरुमा कार्कीकै सहयोग रहने गरेको पनि स्रोतको दावी छ । यता, शर्मालाई राजनीतिक र वैचारिक समर्थन बाबुराम भट्टराईले पनि गरिरहेको बताइन्छ । भट्टराईले शर्मालाई प्रचण्डसँग भिड्न उक्साएको भनेर प्रचण्डनिकटका नेताहरुले आरोप पनि लगाइरहेका छन् । त्यसैले, अहिले माओवादीभित्र शर्माको विषयलाई लिएर निकै चर्चा भइरहेको छ कि ०८४ को चुनावमा शर्मा कता हुन्छन् ? केहीले भने शर्मा ०८४ को चुनावअघि नै माओवादीबाट निस्किसक्ने अनुमान गरिरहेका छन् । कतिपयले भने शर्माले ०८४ अघि पार्टी छोडेर नयाँ पार्टी बनाएर चुनावमा जाने विश्लेषण पनि सुनाइरहेका छन् । (साँघु साप्ताहिक, २०८२ असार २)
 

प्रतिकृया दिनुहोस