• सोमबार-जेठ-२६-२०८२

सम्पत्ति शुद्धीकरणमा : कस–कसलाई मुद्दा दर्ता ?

 

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले स्थापनाकालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्म आइपुग्दा १ सय १ वटा मुद्दा दायर गरेको समाचार छ । जसमा कुल बिगो माग दावी रकम १४ अर्ब २७ करोड २७ लाख रहेको विभाग स्रोतले जानकारी दिएको छ । यीमध्ये ९७ थान मुद्दाको फैसला भइसकेको स्रोतको भनाई रहेको छ । विगो माग दावी ठहर फैसला ७९ थान र सफाई फैसला १८ थान मुद्दामा रहेको बताइन्छ । 


विगत १३ वर्षमा २ हजार १ सय ५० वटा उजुरीहरू फस्र्याैट भएको बिभागस्रोतले जनाएको छ । विभागले अदालतमा दायर गरेका १ सय १ थान मुद्दामा सफलता प्रतिशत ८१ प्रतिशत रहेको दावी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरूवातीमा छानबिन अनुसन्धान हुन अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १ हजार ६ सय ७६ वटा उजुरी रहेका थिए ।


८० अर्व बिगो मागसहित मुद्दा दायर
चालु आर्थिक वर्षमा परेका ३० वटा उजुरीसमेत गरी यो अवधिमा जम्मा एक हजार ७ सय ६ वटा विभागमा रहेकोमा २२ वटा मुद्दा दायर गरी ८० अर्ब रूपैयाँ भन्दा बढी बिगो माग दावी गरेको बताइन्छ । यसबीचमा, ८ सय १० भन्दा बढी उजुरीहरू फछ्र्यौट गरिसकेको विभाग स्रोतले जानकारी दिएको छ । विभागले तत्कालीन सद्भावना पार्टीका नेता श्याम सुन्दर गुप्तालाई अपहरण मुद्दामा ८५ लाख रूपैयाँ बिगो दावीसहित मुद्दा दायर गरेको छ । 


यसैगरी, बाबुलाल दोङ सहितलाई भन्सार चोरी पैठारी मुद्दामा २ करोड २७ लाख र रामदेव शाह तेली सहितलाई ठगी मुद्दामा १३ करोड १६ लाख रूपैयाँ माग दावी लिई अभियोग पत्र दायर गरेको विभाग स्रोत बताउँछ । केदारनाथ शर्मालाई सहकारी ठगी मुद्दामा ४६ अर्ब र इउनजी चेनस्वेनलाई विदेशी विनिमय मुद्दामा १ करोड २७ लाख र सूर्यमणि भण्डारीसहितलाई विदेशी विनिमय मुद्दामा १ करोड रूपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको छ ।


त्यसतै, रामबाबु राय यादव सहितलाई ठगी मुद्दामा ३ करोड, वीरध्वज तामाङलाई लागू औषध मुद्दामा १ करोड ६५ लाख र पिन्टु कुमार तामाङलाई सट्टाबाजी मुद्दामा २० करोड ८४ लाख रूपैयाँ बिगो माग दावीसहित मुद्दा दायर भइसकेको छ । दिनेश कोइराला सहितलाई ठगी मुद्दामा ५ अर्ब ९० करोड र ज्ञानेन्द्र लाल प्रधानलाई इन्साइडर ट्रेडिङ मुद्दामा २६ करोड ३९ लाख रूपैयाँ बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको विभाग स्रोतले बताएको छ ।


नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुलसहितलाई ठगी र सुन मुद्दामा ३७ करोड रूपैयाँ माग दावीसहित मुद्दा दायर गरिएको छ । राम बहादुर खटिकलाई लागू औषध मुद्दामा ४५ लाख, वीरेन्द्र खत्रीलाई बैकिङ कसुर मुद्दामा १० करोड र राम बहादुर बम्जन लिट्टिल बुद्ध लगायतलाई ठगी मुद्दामा ८ करोड बिगो कायम गरी विभागले अदालतमा मुद्दा दायर गरिसकेको बताइन्छ ।


करिब नौ सय उजुरी फस्र्यौट हुन बाँकी
स्थापनाकालदेखि हालसम्म विभागमा करि ४ हजार ३३ वटा उजुरी दर्ता भएका छन् । त्यसमा व्यक्तिगत उजुरी ८० प्रतिशत र बाँकी सरकारी रहेको बताइन्छ । विभिन्न सरकारी निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकलगायतका निकायबाट आएका शंकास्पद उजुरी २० प्रतिशत रहेका छन् । जसमध्ये १ सय २२ वटा मुद्दा अदालतमा दायर गरिएका छन् ।


  ती उजुरीमध्ये अन्य तवरबाट तीन हजार १४ वटा फस्र्यौट भइसकेका छन् । फस्र्यौट हुन अब करिब नौ सय वटा उजुरी बाँकी रहेको बताइन्छ । बाँकी उजुरी पनि विभागले आगामी आर्थिक वर्षभित्र फस्र्यौट गरिसक्ने गरी तीव्र रूपमा छानबिन र अनुसन्धान गर्दै आएको विभाग स्रोतले बताएको छ ।


आर्थिक वर्ष २०६६/६७ मा उजुरी दर्ता ३३ वटा भएकोमा मुद्दा दर्ता एउटा मात्र भएको थियो । आर्थिक वर्ष २०६७/६८ मा ४२ वटा उजुरी दर्ता भएकोमा विभागले २ वटा मात्रै मुद्दा दायर गरेको थियो । अन्य निकायले ६ वटा उजुरी फस्र्याैट गरेको बताइन्छ । आर्थिक वर्ष २०६८/६९ मा ६५ वटा उजुरी परेकोमा विभागले ८ वटा मुद्दा दायर गरेको र अन्य निकायले १९ वटा उजुरी फस्र्यौट गरेको थियो ।


यसैगरी, आर्थिक वर्ष २०६९÷७० मा १ सय १२ वटा उजुरी परेकोमा १३ वटा मुद्दा विभागले दर्ता गरेको र अन्य निकायले ३३ वटा उजुरीहरू फस्र्यौट गरेका थिए । आर्थिक वर्ष २०७०/७१ मा २ सय ५३ वटा उजुरी परेकोमा विभागले ३ वटा मुद्दा दायर गरेको र अन्य निकायले १ सय ४ वटा उजुरी फस्र्यौट गरेको स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा २ सय ७५ वटा उजुरी परेकोमा विभागले एउटा मुद्दा दायर गरेको र अन्य निकायले १ सय ९ वटा उजुरीहरू फस्र्यौट गरेको विभाग स्रोत बताउँछ ।


यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा २ सय २१ वटा उजुरी परेकोमा विभागले ४ वटा मुद्दा दर्ता गरी अन्य निकायहरूबाट ६१ वटा उजुरी फस्र्यौट गरिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ३ सय ६ वटा उजुरी परेकोमा विभागले ६ वटा मुद्दा दर्ता गरी अन्य निकायले १ सय ४ वटा उजुरी फस्र्यौट गरेका थिए । आर्थिक वर्ष २०७४÷७५ मा विभागमा २ सय १ वटा उजुरी परेकोमा ४ वटा मुद्दा दर्ता गरी अन्य निकायबाट २ सय १५ वटा उजुरीहरू फस्र्यौट गरेको स्रोत बताउँछ ।


मुद्दा दर्ता र फस्र्यौट संख्या कति ?
आर्थिक वर्ष २०७५/७६ मा विभागमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ३ सय २७ वटा उजुरी परेको थियो । जसमा विभागले नौ वटा मुद्दा दायर गरी अन्य निकायबाट ४३ वटा उजुरीहरू फस्र्याैट गरेको थियो । त्यसैगरी, विभागमा आर्थिक वर्ष २०७६/७७ मा २ सय ५१ वटा उजुरी परेको थियो । जसमा विभागले १० वटा मुद्दा दायर गरी अन्य निकायबाट १ सय ८१ वटा उजुरीहरू फस्र्यौट गरेको जानकारी दिएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा २ सय ५० वटा उजुरी परेको थियो । जसमा विभागले १४ वटा मुद्दा दर्ता गरी बाँकी अन्य निकायबाट २ सय ३६ वटा उजुरी फस्र्यौट गराएको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ सय ३६ वटा उजुरी परेको थियो । त्यसमध्ये विभागले ३ वटामा मुद्दा दायर गरी अन्य निकायबाट बाँकी ८७ वटा उजुरीहरूको फस्र्यौट गराएको दावी गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ७ सय ४२ वटा उजुरीहरू परेको विभागले जनाएको छ ।


तीमध्ये विभागमार्फत जम्मा ११ वटा मुद्दा दर्ता भएको र बाँकी अन्य निकायबाट ५ सय ४९ वटा उजुरीहरू फस्र्यौट गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा सबै भन्दा धेरै ७ सय ८९ वटा उजुरी परेको बताइन्छ । जसमध्ये अनुसन्धान गरेर विभागले १२ वटा मात्र मुद्दा दर्ता गरेको छ । बाँकी भने अन्य निकायहरूले ३ सय २ वटा उजुरी फस्र्यौट गरेको बताइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा भने विभागमा ३० वटा उजुरी परेको स्रोत बताउँछ । जसमध्ये विभागले २०८२ बैशाखसम्म अदालतमा २२ वटा मुद्दा दायर गरेको छ ।


बाँकी अन्य निकायबाट हालसम्मकै सबै भन्दा धेरै ७ सय ८८ वटा उजुरी फस्र्यौट गर्न सफल भएको विभाग स्रोतको दावी छ । हाल विभागमा करिब ९ सय वटा उजुरीहरू कायम रहेका छन् । तीमध्ये अन्य निकायलाई तीन सय उजुरी फरवार्ड गर्ने तयारी भइरहेको विभाग स्रोतले जानकारी दिएको छ । चालु आर्थिक वर्षदेखि नै विभागले व्यक्तिगत उजुरी लिन छोडेको स्रोतको दावी छ । सरकारी निकायबाट आएका शंकास्पद उजुरी मात्र विभागले दर्ता गरी सूक्ष्म रुपमा अध्ययन, छानबिन र अनुसन्धान गर्दै आएको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस