• सोमबार-जेठ-२६-२०८२

बद्नाम कर्मचारी नै अध्यागमनमा पटक–पटक ?

 

काठमाडौं । गृह मन्त्रालयमातहतको निकाय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा यसअघि पनि अनियमित गतिविधिहरु हुने गरेका आशंकाहरु बाहिर नआएका होइनन् । तत्कालीन अध्यागमन प्रमुख सहसचिव गोगन बहादुर हमाललाई मन्त्रालयमा तानेर राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा  सरूवा गरिएको थियो । त्यसपछि वरिष्ठ अध्यागमन अधिकृत भएर खटिएका नरवीर थापालाई सोही आरोपमा मन्त्रालयमा तानेर भोजपुरका प्रमुख जिल्ला अधिकारीमा खटाइएको उदाहरण रहेका छन् ।


तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको नेतृत्व गर्नासाथ भिजिट भिसामा कामदार पठाएर रमाउँदै आएका पुरानो टिमलाई भत्काएर नयाँ टिम खटाएका थिए । तर, यतिखेर गृह सचिव गोकर्णमणि दुवाडीले बद्नाम र विवादास्पद कर्मचारीलाई खटाएर मन्त्री रमेश लेखकलाई बद्नाम गराएको आरोप खेप्दै आएका छन् ।


उनले आफ्नो रोजाई र स्वार्थपूर्तिका लागि अधिकृतहरू दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, भिष्मराज अर्याल, प्रभा अर्याललगायतलाई पटक–पटक त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय सरूवा गरेर मानव तस्करी बढाउन प्रश्रय दिएको बताइन्छ । यी कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी बढाएको जानकार स्रोतले बताएको छ । यतिखेर एयरपोर्ट अध्यागमन कार्यालयमा सरुवा भएर जान अधिकृत र वरिष्ठ अध्यागमन अधिकृत र नायव सुब्बाहरुको चाप देखिंदैन ।

 

यसअघि गृह मन्त्रीको सचिवालयमा काम गर्ने स्वकीय सचिव, निजी सचिव, कर्मचारी प्रशासन महाशाखामा प्रमुख, गृहमन्त्री रमेश लेखकका नातेदारलगायतको शक्ति लगाएर जाने खोज्नेहरुको लर्को नै लाग्ने गरेको थियो । (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस