• बिहीबार-जेठ-८-२०८२

‘विदेश भ्रमण कटौती’को नारामात्र ! : ‘विशेष अधिकृत’सँगै सचिवको विदेश सयर

सचिव डा. कृष्णहरि पुष्कर

 

काठमाडौंं । सरकारले साधारण खर्च कटौती गर्ने घोषणा गरिरहेको छ । अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने नीति लिएको दावी अर्थ मन्त्रालयले गर्दै आएको छ । तर, मन्त्रिपरिषद्को निर्णय सूची नियाल्दा अधिकांश निर्णय मन्त्री, सचिव र कर्मचारीका विदेश भ्रमण स्वीकृतिसँगै गन्हाएको पाइन्छ । 


यस्तैमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर वैशाख २० गते स्वीजरल्याण्डको ‘ई–गभर्नेन्स’ कार्यक्रमका लागि विदेश निस्किए । तर, सचिव पुष्करले आफ्नै सचिवालयकी शाखा अधिकृत सविना खतिवडालाई समेत विशेष सौहार्दसाथ सँगै लगे । कर्मचारीहरू भन्छन्–सचिव पुष्कर सरुवा भएर जता जान्छन्, खतिवडालाई पनि त्यतै लैजान्छन् । संघीय मामिला, अर्थ र प्रधानमन्त्री कार्यालयमा रहँदा समेत सचिवले खतिवडालाई साथमै राखेको स्रोत बताउँछ । श्रम मन्त्रालयमा यति धेरै योग्य अधिकृतहरू हुँदाहुँदै बारम्बार एउटै अधिकृतलाई मात्र विदेश भ्रमणमा लैजानु, त्यो पनि सचिवको ‘मनपर्ने’ अधिकृत भन्ने आरोप झन् गहिरिंदै गएको छ ।


यसअघि, वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्री ५८ वर्षे उमेर पुगेपछि अवकाशमा जानु १ महिना अगाडि श्रीमतीसहित विदेश सयरमा निस्केका थिए । त्यो बेला खासै हल्ला चलेन, तर अहिले मन्त्री शरत् सिंह भण्डारीमाथि सरकारी खर्चमा कान्छी पत्नीलाई विदेश लैजाने भनेर हल्ला फैलाइयो । जान्नेहरू भन्छन्–स्पेनको भिसा लागे पनि मन्त्रीकी चर्चित कान्छी पत्नी निर्जला गएकी छैनन्, तर हल्ला सचिव पुष्करकै डिजाइनमा चलाइएको भनेर मन्त्री निकटहरु भन्दैछन् ।


आश्चर्य त के छ भने, सचिव पुष्करले आफ्नो ‘विशेष अधिकृत’ खतिवडालाई त विदेश सयरमा लान्छन्, तर, महानिर्देशक खत्रीले पत्नीसँगै लैजाँदा उल्टै कारबाही स्वरूप मन्त्रालय तानेका थिए ।


श्रम कार्यालयमा ‘मन्त्रीको मान्छे’
केसीको मनपरी

वैदेशिक रोजगार कार्यालय, काठमाडौंको अवस्था झनै बिग्रँदो छ । अहिले कार्यालय प्रमुखमा सहसचिव चन्द्रबहादुर शिवाकोटी खटाइएका छन् । तर, उपसचिव श्रीधर केसी मन्त्री र सचिवको आडमा सिधा हालीमुहाली गर्दै आएका थिए । कार्यालयको प्रशासनिक ‘कन्ट्रोल’ केसीको हातमा कर्मचारीहरु बताउछन्, प्रमुख शिवाकोटी भने नाम मात्रका प्रमुख बनेका छन् ।


मेनपावर कम्पनीका प्रतिनिधिहरू, दलाल र बिचौलियाहरू केसीकै कोठाबाट ‘डिल’ गरेर श्रम स्वीकृति लिने र सेवाग्राहीसँग असुली गर्ने गरेको आरोप छ । कर्मचारीहरू भन्छन्,–“शाखा अधिकृत र उपसचिवहरूले टुंग्याउन नसक्ने विवादास्पद फाइल मात्र शिवाकोटीको टेबुलमा पुग्छ । बाँकी सबै केसीकै घेरा हो ।”


‘सिस्टम’लाई नकार्दै 
सेटिङको भरमा स्वीकृति

पूर्वमन्त्री डोलप्रसाद अर्यालले कार्यकालमा श्रम प्रक्रिया अनलाइनमै सीमित गर्न निर्देशन दिएका थिए । तर, अहिले ‘थैली बुझाए पुग्छ’ भन्ने शैलीमा फाइल पास हुने गरेको गुनासो भुक्तभोगीहरुको रहेको छ । सेवाग्राहीलाई डकुमेन्ट पुग्दैन भनेर कार्यालयमै बोलाई ‘सेटिङ’ मिलाउने प्रवृत्ति मौलाएको छ ।


श्रीधर केसी कुनै सामान्य अधिकृत होइनन् । सहायक सिडिओ, पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत भएर मस्ती गर्दै ‘भागबन्डा मिलाउने’ कुशल कर्मचारीको छवि बोकेका छन् । अहिले उनलाई महानिर्देशक भट्टराईले विभागको प्रशासन महाशाखामा ‘भित्र्याएर’ प्रभाव कम गर्ने प्रयास थालेको कर्मचारी स्रोत बताउछ ।


सरकारले घोषणामात्र गर्ने 
कार्यशैली पुरानै !

‘विदेश भ्रमणमा सरकारी खर्च कटौती’, ‘सुशासन’, ‘डिजिटल नेपाल’ जस्ता शब्दहरूले सिंगो मन्त्रिपरिषद् भिजेको छ । तर, भित्र हेर्दा सचिवका ‘प्रिय’ अधिकृत विदेश सयरमा, विभागमा बिचौलिया र कर्मचारीको साँठगाँठमा चल्ने सेटिङ प्रशासन, भ्रष्टाचार, अनियमितता अनि श्रम स्वीकृतिको नाममा थैलीको चलखेल–सबैथोक पुरानै ढर्रामा चलिरहेको छ ।


सरकार र सम्बन्धित निकायले समयमै यस्ता सचिव, मन्त्री र केसी शैलीका कर्मचारीमाथि निगरानी र कारबाही नगर्ने हो भने वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय ‘सेटिङ मन्त्रालय’ बन्न धेरै समय लाग्ने छैन । –साँघु विश्लेषण ब्युरो (साँघु साप्ताहिक, २०८२ जेठ ५)
 

प्रतिकृया दिनुहोस