काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पाँच जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । राज्यमन्त्रीको कार्यक्रममा सचिव नबस्ने र त्यही निहुँमा सचिवलाई स्पष्टीकरण लिने काण्ड मच्चिएको घटना सेलाउन नपाउँदै २०८२ बैशाख अन्तिम साता उर्जा मन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गरी सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्री खड्काले वैदेशिक सहायता महाशाखाकाबाट सहसचिव जीवछ मण्डललाई खासै काम नहुने बूढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनीमा खटाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त कम्पनीमा कार्यरत सहसचिव चिरञ्जीवी चटौतलाई भने मन्त्रालयको ऊर्जा महाशाखामा भित्र्याइएको छ ।
ऊर्जा महाशाखामा कार्यरत सहसचिव सन्दीपकुमार देवलाई भने जल तथा शक्ति आयोगको सचिवालयको निमित्त सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ । आयोगका सचिव मधुप्रसाद भेटुवाल २०८२ सोमवार जेठ ५ गतेबाट अनिवार्य अवकासमा गएका छन् । उनी ०८१ पुस ९ गते सिनियर सहसचिव दीननाथ मिश्रलाई पछि पार्दै सचिवमा बढुवा भएर बाजी मारेका थिए । उनले करिब ५ महिना आयोगमा सचिवको भूमिकामा रहेर अवकाशमा गएका हुन् ।
बिडम्वना उनले कुनैपनि मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेर काम गर्ने अवसर नपाइ अवकास गएका छन् । विद्युत् विकास विभागका सहसचिव सागरराज गौतमलाई मन्त्रालयको वैदेशिक सहायता महाशाखाको जिम्मेवारी दिइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयमा रहेका सहसचिव डा. महेश्वर श्रेष्ठलाई भने नौमुरे बहुउद्देश्यीय आयोजना प्रमुखको जिम्मेवारीमा खटाइएको छ । जल तथा उर्जा आयोगका सचिव भेटुवाल अवकासमा गएसँगै सो स्थानमा बढुवाका लागि दुई सहसचिवको बिचमा प्रतिस्पर्धा रहेको छ ।
हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि महाशाखामा कार्यरत सिनियर सहसचिव दीननाथ मिश्र र उर्जा मन्त्रालयका उर्जा महाशाखाका सहसचिव चिरञ्जीवी चटौतकाबीचमा प्रतिस्पर्धा हुने बताइएको छ । सिनियर प्राविधिक सचिव हुँदाहुँदै दुई पटक सचिव बढुवामा पछि पारिएका मिश्र यसपटक भने सचिव बढुवा हुने पक्कापक्की जस्तै रहेको बताइन्छ ।
यसअघि उनलाई रोकेर डा. राम प्रसाद घिमिरे र भेटुवाल सचिव बढुवा भएर पनि अवकासमा गइसकेका छन् । मिश्र बढुवा भएको खण्डमा ५८ वर्ष उमेर हद कायम रहँदा करिब २२ महिना सचिवको भूमिकामा रहने भाग्यमानीमा पर्नेछन् । (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस