रुपन्देही, जेठ ८ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट परिचालित प्रहरी टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएको सामान बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल भित्र्याउँदै गरेको सामानहरू विभिन्न स्थानमा चेकजाँचको क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ।
मिति २०८२ साल जेठ ८ गते, जिल्लाका विभिन्न नाकाहरूमा सुरक्षा सर्तकता बढाउँदै गरिएको निगरानीका क्रममा जम्मा अन्दाजी ११ लाख २१ हजार १ सय ७५ रुपैयाँ बराबरका सामानहरू बरामद गरिएका हुन्।
बरामद भएका सामग्री विवरण:
चप्पल – १०५ थान
जेन्स कुर्ता – १३ थान
लेडीज कुर्ता – १०० थान
चिनी – ५ बोरा
किराना सामानहरू – (विविध प्रकार)
कार – लु १ ज २८७४ नम्बरको १ वटा
मोटरसाइकल – लु ६९ प ३०३४, लु ४१ प ८८९९, लु ५ प ६१२ नम्बरका ३ वटा
भन्सार कार्यालयमा बुझाइयो
प्रहरीले उक्त सामग्रीहरू बरामद गरी रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालय, बेलहिया मा बुझाएको जानकारी दिएको छ। चोरी पैठारीको माध्यमबाट आउने सामानहरूलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार अर्थतन्त्रमा नकारात्मक असर पार्ने यस्ता अवैध कारोबारहरूलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी थप कडाइ गरिएको छ। अबैध आयातका सञ्जालहरू पहिचान गरी कानुनी कारवाही अगाडि बढाउने तयारी भइरहेको बताइएको छ।
सुरक्षा कडाइ र राजस्व संरक्षण
भन्सार छली र तस्करी नियन्त्रणका लागि राज्यले विभिन्न नीति र कार्यक्रम ल्याएको भए पनि सीमावर्ती क्षेत्रमा चोरी पैठारीका घटना दिनहुँ दोहोरिने गरेका छन्। यसरी बरामद गरिएका सामग्रीहरूले राजस्व संरक्षणमा सहयोग पुग्ने र कानूनी राज्य निर्माणमा सुरक्षा निकायको सक्रियता देखिएको छ।
प्रतिकृया दिनुहोस