काठमाडौं । सरकारले ०८२ बैशाख १५ गते ६ जना डीआईजीपीहरूलाई वैशाख ११ गतेदेखि नै लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्दै पदस्थापनसमेत गरेको थियो । बढुवा भएका एआईजीहरूले वैशाख १७ गते बुधवार दज्र्यानी चिन्हसमेत पाइसकेका छन । एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान व्युरोमा पदस्थापना गरिएको छ । लालमणि आचार्यको कार्य विभाग र कृष्णहरि शर्मा पोखरेलको भने प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा गरिएको छ ।
एआइजीपी दानबहादुर कार्कीको मानवस्रोत विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र डा. मनोज केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भइसकेको छ ।
उनीहरुमध्ये एआईजी आचार्य आगामी २०८२ जेठको तेस्रो साता ५६ वर्ष उमेरहदका कारण अनिवार्य अवकासमा जाँदैछन् । उनको अवकाशसँगै रिक्त पदमा बढुवाका लागि प्राविधिक डीआईजीपी फडिन्द्र बरालदेखि विशेष व्युरोका सिद्धिबिक्रम शाह र उमाप्रसाद चतुर्वेदीबीचमा चर्काे प्रतिस्पर्धा हुने बताइएको छ । डीआइजीपी शाह र चतुर्वेदी दुवैजना नेपाली कांग्रेस निकट मानिन्छन् । डिआईजी बराल प्राविधिक सेवाका भएको र जनपदतर्फ दरबन्दी नरहेकोले उनको बढुवा हुने सम्भावना न्यून रहेको बताइन्छ ।
बरालको बढुवाका लागि नेपाल प्रहरीको प्राविधिकतर्फ एआईजीको विशेष दरबन्दी सिर्जना गर्नुपर्ने स्रोतले जानकारी दिएको छ । तर, गृह मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी दुबैले दरवन्दी थप गर्ने विषयमा सक्रियता र चासो नदेखाएको स्रोत बताउँछ ।
सात डीआईजीको सरुवा, सीआईबीमा थपलिया
त्यसैगरी, गृह मन्त्रालयले नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । २०८२ वैशाख २१ गते विभिन्न प्रदेश प्रहरी प्रमुखहरूको सरुवा गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा डीआईजी ईश्वर कार्की, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा डीआईजी उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा डीआईजी अरूण पौडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा डीआईजी दिनेश कुमार आचार्य, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा डीआईजी राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा डीआईजी डम्बर बहादुर बिकलाई पठाइएको छ । त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा डीआईजी गोविन्द थपलियालाई पठाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयमा भने अहिले सरुवा गरिएको छैन ।
डीआइजीपी शाहको
सक्रियतामा प्रसाईं पक्राउ
रौतहट जिल्लामा प्रहरी प्रमुख हुँदा पत्रकारलाई मोटरसाइकलमा लागू औषध राखिदिएर फसाउन खोजेको आरोप डीआइजीपी शाहमाथि लाग्ने गरेको थियो । २०८० माघमा ललितपुरको बालकुमारीमा दक्षिण कोरियाको इपिएस परीक्षाविरूद्व भएको युवाहरूको आन्दोलनमा प्रहरीको गोली लागि दुई युवाको मृत्यु भएको थियो । लगत्तै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने नेतृत्व गर्न नसकेको आरोप लगाएर ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख शाहलाई हेडक्वार्टरमा सरुवा गरिएको थियो । उनी राष्ट्रिय अनुसन्धान विभागबाट २०५८ पुषमा नेपाल प्रहरीमा स्थानान्तरण भएर प्रवेश भएका थिए । शाहले प्रहरी निरीक्षकको तालिम २०६० सालमा सम्पन्न गरेको र हाल उनी प्रहरीको विशेष व्युरोका प्रमुखमा कार्यरत रहेका छन् ।
०८१ चैत्र १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानले जनसभा आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरीले बिनाकारण अन्तिम बल प्रयोग गरेको भन्दै आलोचना हुने गरेको छ । संयोजक दुर्गा प्रसाईले निषेधित क्षेत्र तोड्दै प्रहरीलाई घाइते बनाउन जथाभावी रुपमा सवारी सधान चलाएका थिए । त्यति हुँदासमेत पक्राउ गर्न नसकेको आरोप प्रहरी संगठनमाथि नै लागेको थियो । यतिसम्मकि प्रहरीकैं संरक्षणका कारण उनी भागेर भारतको आसाममा पुगेको बताइन्छ । भारतीय प्रहरीको मद्दतले डीआइजीपी सिद्धिविक्रम शाहकै सक्रियतामा प्रहरीले विजेपी नेता अभिचन्द्र पाठकको घरमा लुकेको अवस्थामा प्रसाईंलाई पक्राउ गरी नेपाल ल्याउन सफल भएको स्रोत बताउँछ ।
शाहले यसरी मेहनत गरेर काम गर्दा पनि एआईजीपी बढुवामा उनलाई अन्याय गरेको गुनासो सुनिन्छ । तर, उनको सक्रियताले मात्र प्रसाईं पक्राउ परेका भने पक्कै होइनन् । जसमा केन्द्रीय अनुसन्धान व्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पनि उत्तिकै योगदान, मेहनत र सक्रियता रहेको संगठन स्रोतको दावी रहेको छ । त्यसकारण पनि नेपाल प्रहरीमा जेष्ठता नमिचिने अपेक्षा गरिएको छ ।
बढुवामा वरिष्ठ नमिचिने
सरकारले २०८२ वैशाख १५ गते प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति गरेका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूले नै फुली लगाएर नयाँ जिम्मेवारीमा खटिइसकेका छन । ६ जना डिआईजीको एआईजीमा बढुवा र पदस्थापना भएसँगै हाल नेपाल प्रहरीमा १० जना डिआइजीको दरबन्दी रिक्त रहेको बताइन्छ ।
गृहमन्त्री लेखकले संभवत यही हप्तामा नै जेष्ठताका आधारमा प्रहरी अधिकृतहरुलाई बढुवा गर्ने तयारी गरिरहेको बुझिएको छ । नेपाल प्रहरीका आईजीपी दीपक थापाले वरिष्ठ र कार्यसम्पादन मूल्यांकन मिचेर बढुवा नगर्ने अडान लिएको स्रोत बताउँछ । यहीकारण प्रहरीमा यस अगाडि पूर्व गृहमन्त्री रवि लामिछानेको कार्यकालमा जस्तो सिनियारिटी र कार्यसम्पादन मूल्यांकन मिचेर बढुवा हुने कुनै सम्भावना नरहेको दावी संगठन स्रोतले गरेको छ ।
उता, आकर्षक कार्यालयमा सरुवा हुनका लागि डीआईजीपीहरू हानथापमा लागेको चर्चा छ । यतिखेर सातै प्रदेशमा एकैसाथ प्रदेश प्रहरी प्रमुख रिक्त हुन पुगेको छ । यसअघि पनि सात प्रदेशमध्ये तीनवटामा भने प्रहरी प्रमुख पद रिक्त रहेका थिए । बाँकी चार वटा प्रदेशका डीआईजीपीहरू एआईजीमा बढुवा भएपछि हाल प्रदेशहरु डीआईजीपीविहीन रहेका छन ।
सरकार २०८२ बैशाख दोश्रो साता मधेस प्रदेशमा कार्यरत प्रहरी प्रमुख लालमणि आचार्य, बागमतीका प्रहरी प्रमुख कृष्णहरि शर्मा पोखरेललाई एआजीपीमा बढुवा गरेको थियो । उनीहरुसँगै लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र कोशी प्रमुख रहेका राजन अधिकारीलाई पनि एआईजी बढुवा गरेको थियो । तर, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश भने डेढ महिनादेखि प्रहरी प्रमुखविहीन रहेका छन् । एसएसपीले नै निमित्तको जिम्मेवारी पाएका छन् ।
प्रदेशमा सरुवा हुन दौडधुप
अबका दिनमा बढुवा हुने डीआईजीपीहरुलाई गृह मन्त्रालयले प्रदेश प्रमुखमा पदस्थापना नगर्ने पक्कपक्की जस्तै रहेको स्रोत बताउँछ । यही कारण यस अघिका डीआईजीपीहरू प्रदेश जान दौडधुप सुरु गरेको चर्चा छ । प्रहरी संगठनले सरूवाको नयाँ मापदण्ड बनाउन लागिरहेको छ । तरपनि मापदण्ड आउन ढिलाई हुने देखिएपछि पुरानै मापदण्डअनुसार डिआईजीहरूको सरूवा गर्न लागिएको संगठन स्रोतको भनाइ रहेको छ ।
दुई टोलीका गरी १० डीआईजीपी मध्येबाट नै प्रदेश प्रमुखमा खटिएर जाने बताइन्छ । यीमध्ये गुप्तचरबाट स्थान्तरण भएर आएका डीआईजीपीहरू शाह, चतुर्वेदी, श्रेष्ठ, सुशील राठौर, डम्बरबहादुर विकमध्येका बिचमा प्रतिस्पर्धा रहेको बताइएको छ । उनीहरु चारजना मध्येबाट नै मन्त्रालयले कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेश प्रमुखमा खटाउने स्रोत बताउँछ । हाल विशेष ब्युरो प्रमुख रहेका शाह अहिले प्रदेश प्रहरी प्रमुखमा जाने सम्भावना न्यून रहेको बताइन्छ । किनकि उनी आगामी २०८२ जेठमा कार्य विभागका एआईजी लालमणि आचार्य अवकास हुने हुँदा उक्त स्थानमा उनलाई बढुवा गर्ने सम्भावना अधिक रहेको छ । त्यसैले शाह यतिखेर प्रदेश प्रहरी प्रमुखमा सरूवा भएर जान अनिच्छुक रहेको स्रोत बताउँछ ।
शाहलाई रोकेर पछिल्लो वरीयता र ब्याचबाट एआईजी बढुवा गर्ने कसरत पनि भइरहेको छ । त्यसका लागि संगठनभित्रकै ठूलो समूह लागि परेको बताइएको छ । त्यस्तो अवस्थामा चतुर्वेदी वा ईश्वर कार्की एआईजी बढुवा हुने सम्भावना बढेको बताइन्छ । त्यसकारण कार्की पनि प्रदेशमा जान अरुची देखाउँदै आएका छन् । जसले गर्दा कार्कीकै ब्याचका राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि प्रदेश प्रहरी प्रमुखमा सरूवा हुन दौडधुपमा लागेको स्रोत बताउँछ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
प्रतिकृया दिनुहोस