आन्दोलन के हो ? आन्दोलन कस्तो हुन्छ ? आन्दोलन किन र कसरी गरिन्छ ? आन्दोलनको मानक केके हुन् ? पूर्व राजा ज्ञानेन्द्र शाह, उनका ‘आदेशपालक’ र अराजकतावादी भ्रममा छन् । आन्दोलन आफैँमा विधि, वैधानिकता, व्यवस्थापन, नेतृत्व, स्वीकार्यता, समर्थन, सहभागिता, अभियान, जिम्मेवारी, अपनत्व, प्रक्रिया र पद्धत्ति पनि हो । विधिसम्मत्त नेतृत्व र वैचारिक प्रष्टता आवश्यक हुन्छ । सानोबाट ठूलो, सरलबाट जटिलतर्फ अघि बढेको हुनुपर्दछ ।
अन्तिममा हुने ‘क्लाइमेक्स सिन’ सुरुमै आएकाले पूर्व राजा ज्ञानेन्द्रको पारनलाग्ने ‘मुद्दाविहीन’ फिल्म ‘फ्लप’ भयो । विगतमा म्यानपावरमा हानिएको कान्ड र रितिक रोशन कान्ड जस्तै ‘राजा’को नामको लुटपाट र हिंसा ‘न्याकेट’ भयो । अझैँपनि अपराधमा संलग्नलाई खोजीखोजी कानूनी कारवाही हुनुपर्छ । नत्र ‘आन्दोलन वा बन्द’ ‘भनिएपछि’ ‘लुट्न, तोडफोड गर्न र मान्छे मार्न समेत पाइने कुरा’ हो भन्ने नजिर बस्छ । अपराधीहरूलाई सजाय नगरे राज्य ‘सिरिया’जस्तो हुने खतरा हुन्छ । भोलि अर्काले पनि पछि त्यसै गर्छ ।
कुनै अराजक भिड र जुलुसले मात्र राज्य सत्ता तथा प्रणाली त के सरकार समेत पनि परिवर्तन गर्न सक्दैन । भिडको बलमा आउने शासन नाइजेरिया, हाइटी, युगान्डा, सिरिया आदिमा भएको जस्तो अर्काे भिडले फेरि अर्काे दिन लिन्छ । त्यो टिक्दैन । २०८१ साल चैत १५ गते तीनकुने–कोटेश्वरमा भएको ‘राजा फर्काउने ?’ भिड त्यस्तै अर्थहीन झुन्ड मात्र थियो । एउटा सरकार परिवर्तन गर्न पनि भिडले सक्दैन । लोकतन्त्रमा संवैधानिक, कानूनी र राजनीतिक प्रक्रियाबाट सरकार र सत्ता परिवर्तन हुन सक्दछ ।
संविधान र व्यवस्था नमान्ने हिम्मत भए पूर्व राजा ज्ञानेन्द्रले बन्दुक बोकेर भिडको नेतृत्व गर्दा हुन्छ । २०६४ सालमा माधव नेपाल दुई ठाउँबाट निर्वाचनमा पराजय भएपछि उनलाई मनोनित सांसद बनाएर लगियो । २०६५ सालपछि उनी प्रधानमन्त्री भए । माओवादीले काठमाडौँको सिंहदरबारको चारतर्फ घे¥यो । सात दिनसम्म रातदिन सडकमा बस्यो । सरकार हल्लिएन । शहरिया नागरिकको विरोध माओवादीतर्फ सोझियो । सात दिनपछि जुलुस ल्याउने माओवादी आफैँ हारे । विधि र आन्दोलनको नियमविरूद्ध हुँदा त्यस्तो हुन्छ । यद्यपि त्यो बेला माओवादी पुरै शान्तिपूर्वक धर्नामा बसेका थिए । कुनै पनि हिंसा, अराजकता र आगजनी गरेनन् । तरपनि त्यो असफल भएर घर फर्किनुप¥यो ।
तीनकुने–कोटेश्वरमा जम्मा भई ज्ञानेन्द्र शाहलाई ‘राजा’ बनाइदिनुपर्ने माग गर्नेहरू ‘पोलिटिकल्ली सेन्सलेस’हरू थिए । धेरै मान्छे ‘रमिता’ हेर्न तथा ‘फोर्न र चोर्न’ आएका रहेछन् भन्ने देखियो । सबै पोलिटिकल्ली सेन्सलेस थिए । केही मात्रामा ‘सेन्स’ राजेन्द्र लिङ्देनमा थियो । ‘बैँकमाराले राजा ल्याउन सक्दैन’ भनेका भए पनि पूर्व राजा ज्ञानेन्द्र शाहको दवावमा परे । प्रष्टै भएको कुरा हो कसले, कसरी, कुन संविधानअन्तर्गत पूर्व राजा ज्ञानेन्द्र शाहलाई कसले फेरि राजा बनाइदिने ? असम्भव ।
पोहोर साल इलाम, बझाङसहित विभिन्न पालिकामा भएको उपनिर्वाचनमा राप्रपा शून्य बनेको थियो । स्ववियु निर्वाचनको नतिजाले पनि राजावादीको अवस्था शुन्य बराबर रह्यो । २०७४ र २०७९ को निर्वाचनले राजावादीको मत घटेको देखिएको छ । यस्तो प्रस्ट हुँदाहुँदै आराजकता, हिंसा, लुटपाट र विचारविहीन भीड र आन्दोलनको कुनै परिभाषामा भित्र नपर्ने अराजकता, लुटपाट र हिंसाबाट ‘राजा ल्याउने’ ? राजावादीमा आन्दोलनप्रतिको ‘मिसअन्डरस्टाइन्डिङ’ र दिल्लगी मात्र बढी भएको देखियो ।
लोकतन्त्रमा राजनीतिक र सार्वजनिक विषयमा बोल्न र विरोध गर्न पाइन्छ । त्यसको पनि सीमा हुन्छ । सीमा नाघेर बोल्ने अधिकार कसैलाई छैन । विश्वमा प्रणाली र संविधानविरूद्ध बोल्न पाइन्न । नेपालमा संविधान, कानून र राजनीतिक व्यवस्था बढी उदार रह्यो । राजतन्त्रवादीले सडकदेखि संसदसम्म गणतन्त्रको विरोधमा बोल्न पाएका छन् । अमेरिकामा पनि संघीय गणतन्त्रको विरोध गर्न पाइन्न । भारतमा गणतन्त्र, संविधान र भारतीय लोकतन्त्रको विरोध गर्नलाई बन्दुक बोक्न बाध्य हुनुपर्दछ । नक्सलाइट, माओवादी र अतिवादी त्यस्ता समूहले बन्दुकको आन्दोेलन गर्दैै आए । उनीहरू आफैँ खरानी हुँदैछन् । चीनमा जनवादी गणतन्त्रको विरोधमा उत्रिने अधिकार कसैलाई छैन । सन् १९८९ मा बेइजिङको तेयानमेन स्क्वायरमा त्यसरी विरोध गर्नेलाई राज्यले सैन्यबलद्वारा नियन्त्रमा लियो । पछि कहिल्यै त्यस्तो आन्दोलन भएको छैन ।
राजतन्त्रवादीका नाममा अराजकतावादीले लोकतान्त्रिक गणतन्त्रको दुरुपयोग गरे । लोकतन्त्रमा बोल्न पाइन्छ भन्नुको अर्थ जति पनि सीमा नाघेर गणतन्त्रविरूद्ध बोल्न, हिंसा गर्न, लुटपाट गर्न र आगजनी गर्न पाइन्छ भन्ने होइन । ‘आन्दोलन’को नाममा सडकमा निस्केपछि जतिपनि आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट मच्चाउने, चोर्ने र उभद्रो गर्ने छुट हुन्छ भन्ने राजावादी र अराजकतावादीमा देखियो । जुन ‘ब्रल्डर मिस्टेक’ थियो । बैँकको अरबौँ रकम नतिर्न र बजारको करोडौँ ठगी खानको लागि सञ्चारमाध्यमको दुरुपयोग गरी ‘राजा ल्याउने’ भन्ने पटमूर्खहरू ‘पानीमाथिको ओभानो’ बन्न खोज्दैछन् । पूर्व राजा ज्ञानेन्द्र शाहले ‘आन्दोलन’को अर्थ, भावना, मर्म र प्रक्रिया बुझ्नै सकेनन् । पूर्व राजा शाह र तिनका झुन्डले अराजकता र हिंसालाई आन्दोलन ठाने । सशस्त्र द्वन्द्वमा पनि आन्दोलनको नियम हुन्छ । त्यो नियम नमान्दा जेल र सजाय हुन्छ । विगतमा माओवादीका थुप्रै जेल परे । अहिले पनि प्रश्न छन् । प्रचण्ड स्वयम्का विरूद्ध सर्वाेच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । नेपालमा सजाय नभए हेग लगिन्छन् । भर्खरै फिलिपिन्का पूर्व राष्ट्रपति तुर्तेत सजायका लागि हेग लगिएका छन् ।
सहकारी ठगी, गैरकानूनी हर्कत, बैंकको ऋण नतिर्ने, अराजकहरुको उक्साहटमा फेरि राजा बन्ने सपना देख्नु पूर्व राजा ज्ञानेन्द्र शाहको ठूलो भूल हो । त्यसले पूर्व राजाको मुटुको धड्कन बढाउने मात्र हो । बैँक, सहकारी र विभिन्न अवसर छोप्न उद्दत हुनेहरूले राजनीतिक नेतृत्व गर्न र ‘हिरो’ हुन ‘राजतन्त्र’को ‘डेटएक्पायर्ड’ मुद्दा उठाउने गरेका छन् । अराजकता र झुट यति फैल्याइयो कि लोकतान्त्रिक गणतन्त्र चाहिँ उल्टो ‘चोरको व्यवस्था’ जस्तो बनाउने दुष्प्रयास हुँदैछ । त्यो होइन । ठग, अपराधी र राजश्वमाराहरू मुलुकमा फेरि भयानक अराजकता र अस्थिरता फैल्याएर गणतन्त्रको विरोध गरेर बच्न खोज्दैछन् । भूराजनीतिमा लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हो भन्ने विश्व इतिहासले पटकपटक पुष्टि गरिसकेको छ । लोकतन्त्रमा जनता र नागरिकका चाहना तीव्र रूपले प्रकट हुन्छन् । लोकतन्त्रमा मात्र नेताले जनतालाई जवाफ दिनु पर्दछ । पाइलापाइलामा प्रश्न गर्ने र अधिकारको माग गर्न सक्ने बनाएको लोकतन्त्रले हो ।
राजतन्त्रकालमा यी अधिकार पूर्णतः निषेधित थिए । राजालाई र राजतन्त्रमाथि प्रश्न गर्न नै सकिने हुँदैन । राजतन्त्रमा कसैले जवाफ दिनु पर्दैन । कानूनभन्दा माथि हुन्छन् । राजनीतिक विषयमा बोल्ने र विरोध गर्न पाउने अधिकार लोकतन्त्रमा मात्र हुन्छ । लोकतन्त्रमा प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा बोल्ने, माग गर्ने र आवाज उठाउने हक एवम् अधिकार भएकाले अहिले राजतन्त्रवादीले पनि त्यो अधिकारको दुरुपयोग गर्न पाएका हुन् । लोकतान्त्रिक गणतन्त्रको दुरुपयोग गर्दै मूर्ख, राजनीतिक ज्ञान नभएका राजतन्त्रवादी र प्रतिगामीले आन्दोलनको न्यूनतम सर्त, आधार, मूल्य र अर्थ नै बुझेनन् । आउटडेटेट अर्थहीन मुद्दा उठाएर करप्टेड र पोलिटिकल्ली सेन्सलेसहरूले नेतृत्व गर्न खोजेपछि हुने पनि त्यस्तै हो ।
सडकमा विचारविहीन भिड निस्कनु, विरोध गर्नु, हिंसा गर्नु, ढुङ्गामुँडा गर्नु र अराजकता फैल्याउनु नै ‘आन्दोलन’ हो भन्ने भ्रम स्वमय् पूर्व राजा ज्ञानेन्द्र शाहमा पनि देखियो । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आव्रmोस भएको भिडले समाजको परिवर्तनमा कुनै भूमिका खेल्न सक्दैन । भिड र उद्देश्यहीन जुलुसले गणतन्त्र ल्याएको होइन । १९ दिने आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र प्राप्त भएको पनि होइन । त्यसको आधारमा नेपालको इतिहासका भएका अनेकौँ राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक संघर्ष, द्वन्द्व र शान्तिपूर्ण क्रान्ति मात्र छैनन् १० वर्षे सशस्त्र संघर्ष समेत थपिएको कुरा भुल्न हुन्न ।
यसर्थ अब फेरि नेपालमा राजा ल्याउने भ्रम कसैले पाल्न आवश्यक छैन । राजा ल्याउने भन्दै २०८१ चैत १५ गते भएको पत्रकारलाई जिउँदै जलाउने, लुटपाट, हिंसा, आगजनी र तोडफोड आन्दोलनको कुनै पनि दर्शन, विधि, मूल्य, मान्यता र प्रक्रियामा पर्नै सक्दैन । यस्ता ‘रितिक रोशन कान्ड टाइप’का अराजक हिंसा र उग्रताले नेपालमा राजतन्त्र आउने र टिक्ने भ्रमबाट पूर्व राजा ज्ञानेन्द्र शाह मुक्त भए राम्रो । (साँघु साप्ताहिक, २०८१ चैत २५)
प्रतिकृया दिनुहोस