प्रधानमन्त्री कपः एक खेल अगावै पुलिस क्लब फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ ।
पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
मंगलबार दाङको देउखुरी क्रिकेट मैदानमा पुलिसले कर्णाली प्रदेशविरुद्ध ४४ रनको जित दर्ता गरेर इतिहास बनाएको हो ।
पुलिसले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमै समेटिन बिवश भएको थियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन ।
पुलिसका लागि भने ललितनाराण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिदै सर्वाधिक ६ विकेट लिए । यसैगरी सागर ढकालले दुई तथा करण केसीले एक विकेट हात पारेका थिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।
जितसँगै आठ खेलमा १६ अंक जोडेको पुलिस शीर्षस्थानमा छ भने पराजित कर्णाली भने ९ खेलबाट ८ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस