कूटनीतिमा आफ्ना चाहना, हित र स्वार्थलाई सिधै प्रस्तुत गरिँदैन । दुई देश बिचको हित, सौदा र सम्बन्धलाई कूटनीतिक माध्यमबाट सहमतिमा पुगेपछि मात्र राष्ट्रप्रमुख वा ‘फस्ट पर्सन’कोमा पेश गरिने ‘इन्टरनेशनल रिलेशन एण्ड डिप्लोमेसी’को आधारभूत अभ्यासलाई समेत ट्रम्पले वास्ता नगर्दा अमेरिकी नीति नाङ्गो भयो । कूटनीतिमा आफूलाई चित्त नबुझेको वा आफ्नो हित विरूद्धको तर्क समेत शान्त, घुमाउरो र फरक प्रकारले राख्नुपर्ने न्यूनतम ज्ञानको कमी उद्योगी–व्यापारी अमेरिकी राष्ट्रपतिमा देखियो । ‘पपुलिस्ट लिडरशीप’बाट भूराजनीति आक्रान्त र पीडित भएको प्रमाण अमेरिका–युक्रेनको प्रेसमिटमा छर्लंग देखियो ।
युक्रेन युद्धमा ३०० विलियन अमेरिकी डलर खर्च भइसकाले अब उसले अमेरिकालाई रिटर्न दिनुपर्ने कुरा ट्रम्पले सिधै बोले । त्यहाँको महत्वपूर्ण प्राकृतिक युरेनियमलगायतका खनिज पदार्थ अमेरिकालाई दिनुपर्ने, त्यस्तो ‘डिल’मा सहमति हुनैपर्ने, अर्काे बाटो युक्रेनसँग नहुने र युक्रेनले युद्ध रोक्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ‘डाइरेन्ट लाइव प्रोपजल’ले दुनियाँलाई हँसायो । लाइभमा बाझाबाझ गरेर कूटनीतिक इमेच्योरपनाको प्रदर्शन गरियो । त्यसले भूराजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चासो राख्ने सबैलाई अचम्मित पा¥यो । आधा घन्टाको प्रेस मिटमा ट्रम्पले १० पटक भन्दा बढी ‘डिल’शब्दको प्रयोग र चर्चा गरे ।
अमेरिकी सहयोगको लागि पहिले युक्रेनले अमेरिकी प्रस्ताव अनुसारको डिल स्वीकार गर्नुपर्ने भने । आफूले आफ्नो मुलुकमा बोलाएर विदेशी पाहुनालाई प्रत्यक्षरूपमै गरिएको ‘डिल डिप्लोमेसी’बाट ट्रम्प ‘इमेच्योर’ देखिए । यसले ट्रम्पको कूटनीतिक, राजनीतिक, कानूनी, व्यवहारिक, प्राविधिक र सामाजिक क्षमतामाथि नै प्रश्न उठाइदियो । अर्काेतर्फ राष्ट्रपतिसँग कूटनीति, विदेश सम्बन्ध र युक्रेन मामला हेर्ने अधिकारीहरू र महाशाखाको कूटनीतिक सीप, ज्ञान, कला र पूर्वतयारीको अवस्था कति कमजोर रहेछ भनेर ट्रम्प प्रशासनको हावा खुस्क्याइदिएको छ । ट्रम्पको ‘अमेरिका फस्ट’को नीतिलाई उनले प्रस्तुत गर्दा ‘सुगर कोट’ गर्न पनि सकेको देखिएन । नाङ्गो पाराले अमेरिका भूराजनीतिमा प्रस्तुत भयो ।
अमेरिकामाथि थप प्रश्न
मानव अधिकार, विकास, लोकतन्त्र र मानवीय सहयोगको नाममा जारी राखिएको अमेरिकी (युएसएड)को बजेट तथा कार्यक्रम पुरै खारेज गरेर अमेरिकाले गरेको विगतको सहयोगमाथि नै प्रश्न उठाएको छ । एकातर्फ ट्रम्पको आदेश, नीति र कार्यले भूराजनीतिमा अमेरिकाप्रति अविश्वास पैदा गर्दैछ । अर्कोतर्फ अमेरिकाको भूराजनीतिमा भएको ‘सफ्ट पावर डिप्लोमेसी’को आधार समेत ध्वस्त बनाएको छ । मानव अधिकार, प्रजातन्त्र र मानवीयता अमेरिकी नीति भएको भनिएकोमा राष्ट्रपतिका कार्य, आदेश र व्यवहारबाट त्यसमा गम्भीर धक्का लागेको देखिन्छ । विगतमा पनि त्यस्ता धेरै घटना भए । सन् १९७५ अघि भेतनाममा गरेको असफल सैन्य हमलाबाट अमेरिकाले शर्मनाक हार व्योहो¥यो । सन् २००६ अघि इराकमा भएको कारबाही र सन् २०२२ फेब्रअरी २४ पछि युक्रेनमा सहयोगका नाममा गरिएका सैन्य कारबाही आदिमा अमेरिकाले गरेको लगानीले ‘कस्तो डिल’का लागि रहेछ भन्ने प्रस्ट पारिदिएको छ ।
प्राकृतिक खनिज, पेट्रोलियम पदार्थ, रणनीतिक समुन्द्रीमार्ग, समुन्द्री स्रोत, पारावहन, यातायात, व्यापार र सैन्य कूटनीति आदिका कारण मात्र अमेरिकाले सैन्य कारबाही गर्ने गरेको हो भन्ने कुरा ट्रम्पको ‘डिल डिप्लोमेसी’ले प्रस्ट गरिदियो । जनताको भारी समर्थनबाट सन् २०२४ नोभेम्बर ५ मा विजयी ट्रम्प भूराजनीतिको परिचालन, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनको मामलामा भने ‘इमेच्योर’ नै रहेछन् भन्ने प्रस्ट भयो ।
मानव अधिकारको वकालत गर्ने अमेरिका ट्रम्पको डाइरेक्ट डिल गर्ने र ‘क्यासटुक्यास’मा सौदा गर्ने ‘विजिनेश एटिच्यूट’ले उसलाई अनेकौँ प्रकारका कूटनीतिक, वैदेशिक, आर्थिक, सामाजिक, व्यापारिक र व्यवहारिक संकट उत्पन्न गर्ने अवस्था बन्दैछ ।
पपुलिस्ट’बाट खतरा !
पपुलिस्ट (लोकप्रियतावादी) बाट मुलुक, देश, समाज र दललाई खतरा तथा हानी मात्र हुने रहेछ भन्ने कुरा युक्रेनका जोकर राष्ट्रपति भ्लादिमिर झेलिनोस्कीका सोच, कार्यशैली, विचार तथा इमेच्योर कूटनीतिक क्षमताले प्रस्ट गरेको छ । पपुलिस्टबाट भूराजनीतिमा जहिल्यै धोका, घाटा मात्र भयो । राज्य र समाजलाई पपुलिस्ट लिडरशीपबाट अपुरणीय क्षति भएको पाइयो । पपुलिस्ट झेलिनोस्कीको सनक, छिमेकीप्रतिको अमर्यादित हर्कत, कूटनीतिक क्षमताको कमी र विदेशी उक्साहटको गोटी बन्दा मुुलुक नै ध्वस्त हुदैछ ।
भौतिक निर्माण, संरचना र सामाजिक, आर्थिक तथा सांस्कृतिक मात्र होइन मानवीय सङ्कट उत्पन्न भएको छ । युद्ध, हिँसा र आक्रमणका कारण करोडबढीले मुलुक छोडिसकेका छन् । कलाकार राष्ट्रपतिको सनकले मुलुकलाई यस्तो खतरामा पु¥यायो । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाबेजले देशलाई कङ्गाल बनाएर गए । उनी पनि पपुलिस्ट नारा उरालेर शक्तिमा पुगेका थिए । छिमेकी भारतको दिल्लीमा सन् २०१४–२४ सम्म सत्तामा रहेका केजरीवालले दिल्लीवासीको सपना र विश्वासलाई ध्वस्त पारे ।
भ्रष्टाचारको नारा दिए पनि उनी आफैँ भ्रष्टाचार काण्डमा मुछिए । पाकितानमा इमरान खानले सन् २०१८ को अवधिमा अन्य दललाई चोर र भ्रष्ट भन्दै पपुलिस्ट नारा उरालेर सत्तामा आएको भए पनि पछि आफैँ भ्रष्टचारका कान्डमा परे । यस्ता पपुलिस्टहरूबाट नागरिक र मतदातालाई ठूलो धोका हुँदै आयो । नेपालमा पनि बेलाबेलामा पपुलिस्ट र फोस्रा नारा बेचियो । २०६४ सालमा उत्पात गर्ने भ्रम फैल्याएर सत्तामा आएको माओवादीले जनतालाई निराश मात्र पा¥यो । प्रचण्डको राजनीति ‘फ्रड र फन्टुस’ रहेछ । २०७९ सालमा स्वतन्त्रका नाममा आएका साउनका गड्यौला जस्ता राजनीतिक समूह र शक्ति चाहिँ भदौरे पानी जस्तो मात्र भयो ।
भूराजनीतिमा सस्ता र चर्का नारा दिएर सत्तामा आएका झेलिनोस्की र ट्रम्पहरूले विश्व राजनीतिमा अविस्वास बढाएका छन् । नेपालमा आएका पपुलिस्टहरूले राजनीति र सामाजिक मूल्य नै ध्वस्त पार्दैछन् । भ्रष्टाचारी कार्य गर्ने, बैँक र सहकारी ठग्ने, अबैध धन्दा गर्ने, देश र विदेशमा आर्थिक सञ्जाल निर्माण गरेर लुट्नेहरूले बैकल्पिक राजनीतिको सुगर कोटेडको पपुलिस्ट नारा बेचेर ठूला कुरा गर्ने गरेका छन् । भूराजनीतिमा उदाएका ठूला ठगले विश्वका धेरै मुलुक सके ।
नेपालमा पलाउन खोजेका पपुलिस्ट ‘पेटी ठग’हरूले नेपाली राजनीति र समाज धमिलो पारे । धमिलो पार्दैछन् । पपुलिस्ट, ठग र आपराधिक गतिविधिमा संलग्नहरू नै राजनीति र सत्तामा आउँने गर्दा राजनीति पुरै अविस्वसनीय बन्दै गएको छ । सिद्धान्त, मूल्य र आदर्शको राजनीति पुस्तकका पानामा मात्र पाइने वस्तु बनाउन खोज्दैछन् । यसर्थ पपुलिस्ट, फ्रड र फन्टुसहरूका ‘फ्रडुलियन वियेभियर’लाई चिर्नु पर्ने खाँचो देखियो ।
भूराजनीति र अर्थतन्त्रको अगुवा मानिएको अमेरिका र राष्ट्रपति ट्रम्पको ‘इमेच्योर’ ‘डिल डिप्लोमेसी’ले भूराजनीतिमा अनेकौँ आशङ्का पैदा गरिदिएको छ । युद्ध रोकिनेमा शङ्का पैदा भएको छ । अर्काेतर्फ ध्वस्त भइसकेको युक्रेनको भविश्य नै सङ्कटमा धकिलिएको छ । भीडलाई उत्तेजित पार्ने ‘चिफ पोलिटिक्स’ले मुलुक र समाजको दीर्घकालीन हित गर्न सक्दैन भन्ने प्रष्ट भयो । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस