• मंगलबार-फाल्गुण-२०-२०८१

स्वास्थ्य सचिव को बन्ला ?

 

काठमाडौँ । ०८१ फागुन १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यतर्फका सचिव डा. रोशन पोखरेल उमेर हदका कारण अनिवार्य अवकासमा गएका छन् । उनको अवकाससँगै नयाँ सचिव बढुवाको प्रक्रिया अगाडि बढिसकेको स्रोत बताउछ । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा समितिले वरिष्ठको आधारमा स्वास्थ्य सेवा समूहतर्फको १२औं तहका डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको छ ।


सिफारिस भएका तीनै जनाले सचिव बढुवाका लागि तीव्ररूपमा शक्तिकेन्द्र धाएर लबिङ गरिरहेको बताइन्छ । पहिलो नम्बरमा सिफारिस भएकी मिश्र हाल मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा रहेकी छिन । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन । २०७० सालमा मिश्र खुला प्रतिस्पर्धामार्फत सरकारी सेवामा फर्किएकी थिइन । खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल र  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुखको नेतृत्वमा रहेर भूमिका निर्वाह गरिसकेकी अनुभवी कर्मचारी हुन् ।


यी दुबै निकायको जिम्मेवारी उनलाई यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै दिएको थियो । यतिखेर ओलीकै नेतृत्वमा सरकार भएकोले पनि उनैले सचिवमा बाजी मार्ने संभावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । त्यसकारण पनि देवकोटा र बाराकोटीलाई पछाडि पारेर स्वास्थ्य सचिवमा मिश्रको बढुवा हुने निश्चित प्राय रहेको स्रोतको दावी छ । २०८० भदौ १३ गतेबाट उनले स्वास्थ्य सेवा विभागको नेतृत्व सम्हालेकी थिइन । करिब एक वर्ष उनले विभागको नेतृत्व सफल रुपमा सम्हालेको बताइन्छ ।


त्यसपछि केही समय मन्त्रालयको प्रवक्ताको रुपमा पनि उनले काम गरेकी थिइन् । दोस्रो नम्बरमा सिफारिस भएका देवकोटा हाल स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका छन् । २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । देवकोटालाई २०८१ असोज ६ गतेदेखि मन्त्री प्रदीप पौडेलले विभागको महानिर्देशकको जिम्मेवारीमा खटाएका थिए ।


२०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी भने २०७९ चैत १३ मा नै १२ औं तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रादेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै मन्त्रालयमा भित्रिएका थिए । उनको गृह जिल्ला झापा हो । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२ औं तहका अतिरिक्त सचिव वा ११औं तहमा पाँच वर्ष काम गरेका स्वास्थ्य प्राविधिक कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिवमा बढुवा हुने कानूनी व्यवस्था रहेको छ । १२औं तहमा बढुवाका आधारमा बाराकोटी र देवकोटा भन्दा मिश्र १० महिना सिनियर मानिन्छन् । यही आधारमा पनि मिश्रकै सचिवमा बढुवा हुने संभावना बढेको छ । प्रधानमन्त्री ओलीले २०८१ साउन ३० गते सरकारको नेतृत्व गर्नासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी कानून सचिव लिलादेवी गडतौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिएका थिए । पछि उनलाई नै मुख्यसचिवमा नियुक्ति गरेका थिए । प्रधानमन्त्री ओलीले पहिलो महिला मुख्यसचिव गडतौलालाई बनाएको भन्दै जनस्तरबाट प्रशंसासमेत बटुलेका थिए ।


त्यसकारण यसपटक पनि प्रधानमन्त्री ओलीले स्वास्थ्य सचिवमा मधेशी महिलाको तर्फबाट मिश्रलाई सचिव बनाउने सोच बनाएको बुझिएको छ । हुन त यसअघि नै स्वास्थ्य मन्त्रालयमा दुई जना महिला सचिव भइसकेका छन । तरपनि प्रधानमन्त्री ओलीले जेष्ठताका आधारमा मिश्रलाई नै सचिवमा बढुवा गर्ने अपेक्षा गरिएको छ । मन्त्री पौडेल भने देवकोटालाई सचिव बढुवा गर्ने पक्षमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
 

प्रतिकृया दिनुहोस