काठमाडौं । नेपाली कांग्रेस यतिबेला सत्ताको प्रमुख साझेदार दलको रुपमा रहेको भएपनि समग्र राजनीतिक दवावको चरणको रहेको छ । सत्तामा हुँदा हुने अनेकन विकृतिको मार खेप्दा चुनावमा पर्ने असरको भागिदार त हुनै पर्छ । हरेक दल त्यो मारमा रहेका हुन्छन् । एमाले र कांग्रेस अहिले त्यो चरणमा रहेका छन् । तर, कांग्रेसलाई त्यो भन्दा पनि ठूला दुुईवटा परिघटनाले दवावमा राखेका छन् । पहिलो कुरा आन्तरिक व्यवस्थापनमा देखिएको समस्या हो ।
गुटगत व्यवस्थापनको समस्या कांग्रेसमा लामो समयदेखि देखिएको विषय हो र त्यो सल्टिने संभावना पनि छैन र गुटहरुको समूहलाई सानो बनाउने र आफ्नो समूहमा तान्ने खेल भने गर्न सकिन्छ ।
हरेक दलभित्र त्यही प्रयास भइरहेको हुन्छ । अहिले कांग्रेस महाधिवेशनको मारमा परेको छ । त्यो मारका कारणले गर्दा नेताहरु गुट परिवर्तनदेखि समूह निर्माणमा समेत सक्रिय रहेका छन् । पार्टीका वैधानिक काम छोडेर नेताहरु देश दौडाहामा लागेका छन् । त्यो देश दौडाहाको मस्कद नै समूह निर्माण र निर्मित समूहलाई बलियो बनाउने भन्ने देखिन्छ । डा. शेखर कोइराला, गगन थापा, कृष्णप्रसाद सिटौला, शशांक कोइरालासहितको टोली अहिले सक्रियता बढाइरहेको छ ।
सक्रियताको हिसाबमा विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि बढाएका छन् तर उनीहरुको सक्रियताले ठूलो अर्थ राख्ने संभावना देखिएको छैन । निधिको मधेश र सिंहको काठमाडौंमा बाहेक अन्त कतै प्रभाव छैन, जसले गर्दा उनीहरु महाधिवेशनका लागि प्रभावी बन्न सकुन । त्यसैले कांग्रेसमा अहिले महाधिवेशनको चक्करका कारणले गर्दा गुटहरुको चलखेल बढेको छ । त्यो पनि स्थानीय र आम चुनावको सम्मुखमै महाधिवेशन गर्नुपर्ने अवस्थाछ । त्यसैले अबको चुनाव कांग्रेसको महाधिवेशन अघि हुने वा पछि हुने भन्ने कुराले पनि प्रभावित हुने देखिएको छ । कांग्रेसका कतिपय सांसद र नेताहरु पहिला आम निर्वाचन त्यसपछि स्थानीय निर्वाचनको माग समेत गरिरहेका छन् ।
कांग्रेसको महाधिवेशनले चुनाव प्रभावित हुने कुरा जसरी अगाडि आइरहेको छ, त्यसरी नै पार्टीभित्रको यो गुुटगत छलफल र अतिखुलापनले आउँदो चुनाव प्रभावित हुने देखिएको छ । समाजमा निराशा बढेकोले नयाँ समूहहरु चुनावमा आउने सम्भावना देखिन्छ । त्यसको असर चाहिँ सबैभन्दा बढी कांग्रेसमा पर्ने देखिन्छ । त्यसको क्षति न्यूनीकरण गर्न रणनीति अख्तियार गर्न खोजिरहेको छ ।
त्यो क्षति कम गर्नका लागि अहिले कांग्रेसले सबै दोषको भारी प्रधानमन्त्री केपी ओली र एमालेको काँधमा राख्ने प्रयास गरिरहेको छ । अहिले राजनीतिक वृत्तमा देखिएको अध्यादेशका विभिन्न प्रकरण राजनीतिक दलसम्बन्धी अध्यादेश वा यस्तै अन्य केही विवादमा पनि केपी ओलीलाई अगाडि सारेर कांग्रेस पन्छिन खोजिरहेको छ । अनि रवि लामिछाने प्रकरण होस् वा सहकारी प्रकरणमा कांग्रेसले फाइदा लिएको छ । हरेक निर्णयको असर नकारात्मक भए एमालेको भागमा अनि सकारात्मक भए आफूले लिने गरी प्रयास गरिरहेको छ । त्यसैले, अहिले संसदसमा अड्किएको अध्यादेशको विषयमा कांग्रेस छायाँ परेर बसेको छ । त्यो पास गराउने प्रयासमा एमाले एक्लै सक्रिय हुनुपर्ने अवस्था रहेको छ र त्यसको नकारात्मक क्षति एमालेले व्यहोरिरहेको छ ।
त्यसैले, अहिले कांग्रेस सरकारप्रति प्रतिक्रियतात्मक बन्न पनि थालेको छ । महामन्त्री गगन थापा हुन् वा नेता डा. शेखर कोइराला सरकारको विषयमा चर्को अभिव्यक्ति दिन थालेका छन् । केही समयदेखि थापा सरकारको विरोधमा देखिएका छन् । त्यसको असर चाहिँ सभापति देउवासँग थापाको सम्बन्ध विग्रिएका कारणले भएको हो । तर, थापाले देउवासँग सम्बन्ध अलिकति टाढा हुन खोजेपनि थापाले खासमा आफ्नो राजनीतिक कारणले सरकारको विरोधमा देखिएको विश्लेषण भइरहेछ । कांग्रेसभित्र चलेको चर्चा पनि थापा दुवै विषयलाई समदुरीमा लैजान सकिन्छ भन्ने बुुझाइमा रहेका कारणले पनि सार्वजनिक खपतका लागि बोलिरहेका हुन् ।
यद्यपि, देउवानिटक भनिएका नेताहरु पनि महागठबन्धन सरकारको आलोचना गरिरहेका छन् । त्यो भनेको उनीहरुले आफ्नो राजनीतिक छविको कुरामात्र होइन, कांग्रेसको छविलाई धमिलो हुन नदिने र सरकारका नकारात्मक प्रभाव देखिने खालका निर्णयको अपनत्व नलिने भन्ने लाइन अनुसार कांग्रेसका नेताहरुको सरकारविरुद्ध अभिव्यक्ति आएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस